पथरीशनिश्चरे । पूर्व पश्चिम राजमार्ग स्तरोन्नती आयोजना अन्तर्गतको काँकडभिट्टा– लौकही सडकखण्डलाई ४ लेनको बनाउँदा ३ सय ७७ वटा घरटहरा हटाइने र १२ हजार बढी रुख काटिने भएको छ ।

  मोरङको पथरी शनिश्चरे नगरमा वातावरण प्रभाव मूल्याङकन सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रममा आयोजनाको विस्तृत पक्षको जानकारी गराउँदै सुसुङ्ग इन्जिनियरिङ एण्ड कन्सल्टिङले मुआब्जा सहित सडक स्तरोन्नती गरिने जानकारी गराउने क्रममा सो कुरा बताइएको छ ।

लौकहीसम्मको १२० किलोमिटर क्षेत्रमा २ सय ६९ वटा सार्वजनिक संरचना सहित ३ सय ७७ वटा घर टहरा सडक क्षेत्रमा परेकाले भत्किने अवस्था देखिएको र १२ हजार ४ सय २८ वटा रुख काटनु पर्ने देखिएको कन्सल्टिङका वातावरण विज्ञ एवम् टोली प्रमुख राजन श्रेष्ठले जनाए ।

उनले भने ‘पहिलेको भन्दा दोब्बर फराकिलो तीन किसिमको सडक र पुलको डिजाइन हुन्छ । प्रभावित क्षेत्रमा पर्ने व्यक्तिलाई मुआब्जा दिने र व्यवस्थित काम गर्ने कुरा मन्त्रालयले राखेको छ ।’ सो क्षेत्रमा ५ हजार ३ सय ४९ वटा विजुलीको पोल, ५ सय ३३ वटा टेलिफोनको पोल, २ सय ३ वटा विजुलीको ट्रान्सफर्मर समेत हटाउनु पर्ने देखिएको छ ।

 झापा, मोरङ र सुनसरीको १२ वटा नगरपालिका, ४ वटा गाउँपालिका र एकवटा उपमहानगरपालिका क्षेत्रका ८२ वटा वडा गरी १ लाख २७ हजार २ सय १ घरधुरीका ५ लाख ८१ हजार २ सय ९७ जनसंख्या सडक प्रभावित क्षेत्रमा पर्दछ ।

झापामा ५४ दशमलव ९ किलोमिटर, मोरङमा २६ दशमलव २ किलोमिटर र सुनसरीमा २८ दशमलव ९ किलोमिटर क्षेत्र ओगटने छ । सडक क्षेत्रमा नाली, ट्राफिक संकेत, सुरक्षण प्रविधि, सुरक्षण पर्खाल, यात्रु क्रसिङ, चारआलीमा हात्तीका लागि क्रसिङ तथा पथरी कानेपोखरी जंगलमा अन्य वन्यजन्तु र बेलबारीको बेतनामा कछुवाका लागि क्रसिङ सहितको विस्तृत परियोजना हुने प्रतिवेदनमा उल्लेख गरिएको जनावर विज्ञ प्रयाग ताम्राकारले सुनाए ।

सामाजिक विज्ञ रविन ढकालले हाल ७ देखि ११ मिटर चौडाईको २ लेनको बिटुमिन सडकलाई दाँया बाँया १,१ लेन थप गरी ग्रामिण क्षेत्र वा जंगलमा २४ मिटर, अर्ध सहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्रमा ५० मिटर चौडाईको विस्तार गरिने बताए ।

६३ किलोमिटरमा २४ मिटरको, १७ किलोमिटरमा ३३ मिटरको र ४० किलोमिटरमा सालइकल लेन र फुटपाथ सहित ५० मिटर चौडाईको सडक वन्ने पनि उल्लेख गरे । उनले सो क्षेत्रमा ६ वटा ल्याण्डमार्क व्रिज, खोलामा ७१ वटा पुल, ६६ वटा बक्स कल्भर्ट, वनाउनु पर्ने जानकारी गराए । निन्दा, विरिङ, कन्काई, रतुवा, बक्राहा र लोहन्द्रा पुललाई ल्याण्डमार्क व्रिज बनाइने छ ।

आयोजना क्षेत्रमा २० वटा सामुदायिक वन, एउटा साझेदारी वन र २ सरकारी धार्मिक वन पर्दछन् । सबैखाले पर्यावरणको सन्तुलनलाई असर नपुरयाउने गरी मुआब्जा समेत दिने व्यवस्था सहितका लागि एशियाली विकास बैंको ऋण सहयोगमा नेपाल सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत २८ अर्ब, १७ करोड ८९ लाख ७१ हजार १ सय २७ रुपैयाँको लागतमा सडक निर्माण हुने इन्जिनियार सौरभ ढुंगानाले बताए ।

अक्टोबर २०२२ सम्मको डिजाइनको समयावधिपछि ३ वर्षमा पुल र सडक निर्माण सकिने योजना रहेको पनि उनले जनाए । जसका लागि आवश्यक खोलाजन्य सामग्री १७ स्थानबाट उत्खनन् गरिने उल्लेख गरिएको छ ।

  नगर प्रमुख मोहनप्रसाद तुम्बापोको अध्यक्षताको कार्यक्रममा पथरी शनिश्चरे खण्डमा पर्ने ५ किलोमिटर १ सय मिटर क्षेत्र अन्तर्गत पथरी चोकको जाँते मोडमा क्रसिङ, सडकको दुवैतर्फ नाला, सार्वजनिक शौचालय, यात्रु प्रतिक्षालय, सडक बत्ती सहितको व्यवस्थापन सो आयोजनामा थप गरेर लानु पर्ने सुझाव दिइएको छ ।

त्यसका साथै, वडा नम्बर १० को जिरिखिम्ती टोलमा हालको सडक र नक्सा नमिलेको, धेरै उचाइको सडकलाई केहि होचो बनाउँदामात्र स्थानीयवासीलाई सहज हुने, जंगल क्षेत्रमा वन्यजन्तुलाई समेत संरक्षण र घाँसदाउरा गर्न जाने मानिस र गाइवस्तु पार गर्न सहज हुने हिसावले सडक निर्माण गर्नुपर्ने पनि सुझाव दिइएको छ ।

कार्यक्रममा, नगर उपप्रमुख देवीमाया काफ्ले, १ नम्बर वडाध्यक्ष भीमकुमार राई, २ नम्बर वडाध्यक्ष नैना राई, वडा सदस्य सुरेश कार्की, पूर्णबहादुर कार्की, १० नम्बर वडा सदस्य दिलबहादुर कार्की, पूर्व सदस्य अनोज घिमिरे, समाजसेवी युवराज वास्कोटा, डाँसमोरङगी सामुदायिक वनका अध्यक्ष मदन पोखरेल, सीताछधारे सामुदायिक वनका पूर्व अध्यक्ष शान्तिराम खड्का, महिला जागृति सामुदायिक वनबाट चन्द्रकला चेम्जोङ सहितले सुझाव सहितको धारणा राखेका थिए ।

संस्थाले तीनै जिल्लामा मुख्य वस्तीहरुमा यस प्रकारको वातावरण प्रभाव मूल्यांकनका बारेमा जानकारी गराउँदै अन्तरक्रिया राखेर सुझाव समेत संकलन गर्दै गरेको छ ।