भद्रपुर । झापामा एक हप्ताअघि ४–५ जनाको समूहले सरोज शर्माको हत्या गरेको पक्राउ परेका आरोपितहरूले बयान दिएका छन् ।
पक्राउ परेका शिवसताक्षी–१० माईधारका २५ वर्षीय सुनिल साह र सोही ठाउँ बस्ने २६ वर्षीय राहुल साहले प्रहरीलाई त्यस्तो बयान दिएका हुन् । एक जनालाई जोगवनी र अर्कालाई माईधारबाट नियन्त्रणमा लिइएको थियो । उनीहरू मृतक शर्माका छिमेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको विवरणअनुसार शिवसताक्षी–१० माईधार बस्ने ३३ वर्षीय सरोज शर्मा कात्तिक ९ गते आइतबार दिउँसो घरमा कोही कसैलाई नसोधी बागमति प्र.०१–०३० च ७१०४ नं. को कार लिएर घरबाट हिँडेका थिए । त्यसपछि बेपत्ता भएका सरोजको कार चार दिनपछि बिहीबार बिहान १०ः४० बजे मेचीनगर–१३ हातेमालो सामुदायिक वनको निचाझोडा भन्ने स्थानमा चारआली–भद्रपुर सडक–खण्डबाट करिब २ सय मिटर पश्चिम जङ्गलमा जलिरहेको अवस्थामा फेला परेको थियो ।
कार आगजनी गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा शुक्रबार इलाका प्रहरी कार्यालय झिलझिलेबाट इन्स्पेक्टर सुवास केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले साहद्वयलाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी अनुसन्धान गर्ने क्रममा उनीहरूले सुनिल साहलगायत ४–५ जनाको समूहले सरोजको हत्या गरी हुलाकी राजमार्गअन्तर्गत बिरिङ खोलाको पुलमुनि गाडेको बयान दिएका थिए ।
सोही बयानका आधारमा शनिबार बिहान ६ बजे इलाका प्रहरी कार्यालय राजगढबाट सइ दिवस कार्कीको कमाण्डमा प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । थप अनुसन्धान तथा कानूनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट डिएसपी खगेन्द्रबहादुर खड्काको कमाण्डमा प्रहरी टोली खटिएर गाडिएको ठाउँबाट सरोजको शव निकालेको थियो । सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
यता बिहान ११ बजेतिर मृतक सरोजका आफन्त र स्थानीयले हत्यामा संलग्न सुनिल र सोही ठाउँ बस्ने बहादुर साहको माईधारस्थित घरमा ढुङ्गामुडा गरी तोडफोड गरेका छन् । सोही क्रममा आक्रोसित समूहले श्याम साहको मे. १ ह ७२३७ नं. को अटोमा आगजनीसमेत गरेको छ । केहीबेर तनावग्रस्त देखिए पनि स्थिति सामान्य भइसकेको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली खटिएर स्थितिलाई नियन्त्रणमा लिई तोडफोडमा संलग्नलाई तितरबितर बनाएको र अवस्था सामान्य बनाएको प्रहरीले जनाएको छ ।
दुई दिनअघि साहको कार चारआली–भद्रपुर सडक–खण्ड अन्तर्गत हातेमालो सामुदायिक वनभित्र जलिरहेको अवस्थामा फेला परेको थियो ।
प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका व्यक्तिहरू लागूऔषध कारोबारी हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले थप अनुसन्धानपछि पुष्टि हुने जनाएको छ ।
यता घटनाको कारणका विषयमा अनुसन्धान भइरहेकोले आज (आइतबार) पत्रकार सम्मेलनमार्फत् थप विवरण सार्वजनिक गरिने डिएसपी खड्काले जानकारी दिए ।
































