किसानहरु यतिबेला पाकेको धानबाली घर भिœयाउने चटारोमा छन् तर यही समयमा बङ्गालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभाव परेको छ । वर्षाका कारण किसानले धानबाली भिœयाउन सकेका छैनन् । धान खुर्रिएर जाने अवस्था आइसक्दा पनि किसानहरु चिन्तामा डुबेका छन् । यसै पनि खेती गर्ने बेलामा पनि किसान पानी अभावमा तड्पिएका थिए । जसोतसो धान त रोपे तर अहिले मुरी थन्क्याउने बेलामा उस्तै आपत् आइलागेको छ । चक्रवातको कारणले गर्दा नेपालभरि वर्षा भइरहेको छ । यो वर्षा नरोकिने हो भने किसानले वर्षभरि फलाउने अन्न सिला गर्नुपर्ने अवस्थामा पुगेको छ । विशेषगरी धान पकेट क्षेत्रहरुको अवस्था निकै चिन्ताजनक छ ।

किसानको यात्रा निकै कष्टपूर्ण र पीडादायी छ । बर्खाको बेला पानी पर्याप्त नपरेको, भनेको बेलामा मल नपाउने समस्या र रोपाइँपश्चात् पानीको अभाव आदिजस्ता पीडाबाट गुज्रिएकै हुन् । अहिले बाली थन्क्याउने बेलामा पनि उस्तै आपत् आइपरेको छ । विगत वर्षभन्दा रोपाइँ पनि कम भएको छ । जसोतसो बाली लगाए पनि किराको प्रकोपले पनि उस्तै गरी थलिएका छन् । बालीबाट लाभ लिने बेलामा पनि बमौसममा आएको झरीले किसानलाई समस्यामा पारेको छ । एकातिर खडेरीको मार, अर्कोतिर बेमौसमी झरीको मारले किसानहरु साझा समस्यामा फसेका छन् । सरसर्ती हेर्दा किसानलाई मात्रै यो मार पर्ने देखिए पनि यसको असर देशलाई र देशको अर्थतन्त्रमा पर्ने देखिन्छ । उत्पादनमा ह्रास आउने बित्तिकै नेपालको समग्र अर्थतन्त्र समस्यामा पर्छ । यसै पनि नेपालको अर्थतन्त्र रेमिट्यान्स (विप्रेषण) को भरमा टिकेको छ । उद्योग तथा कृषिको योगदानलाई नजरअन्दाज गर्ने हो भने देशको आर्थिक विकासको कुनै अर्थ हुँदैन ।

धानबालीमा जुन क्षति निम्तिन खोजिरहेको छ, यसले कालान्तरमा देशवासीका लागि ठूलो क्षति हुने देखिन्छ । ताजा समस्यालाई निराकरण गर्नेतर्फ सबैको ध्यान जानु पर्छ । यो बेलामा बाली भिœयाउन नसकेमा लगानी र परिश्रम त खेर जान्छ नै त्योसँगै भोकमरी र अन्य समस्या विकराल बनेर उभिनेछ । सरकार तथा सम्बन्धित निकायको ध्यान किसानको समस्यातर्फ देखिँदैन । किसानहरुलाई तत्काल मौसमको अवस्था हेरेर धान थन्क्याउने विषयमा प्राविधिक सहयोग आवश्यक देखिएको छ । किसानलाई आफ्नो बालीको बिमा गराउने र क्षतिपूर्ति भराउने कुरामा सरकारले चासो दिन आवश्यक छ ।

किसानलाई सहज र झन्झटमुक्त तरिकाले बाली बिमाको सुविधा उपलब्ध गराउनुपर्छ र क्षतिपूर्ति प्रक्रियालाई पनि सरलीकरण गर्नुपर्छ । यस्तै स्थानीय भण्डारण व्यवस्थापन गर्नेतर्फ पनि ध्यान दिँदै जानुपर्छ । स्थानीय तहहरुले त्यो खालको व्यवस्थापन गर्न जरूरी छ । यसले मुलुकको अर्थतन्त्र र खाद्य सुरक्षालाई मजबुत बनाउँछ । यदि किसानलाई क्षति भएमा राष्ट्रलाई नै क्षति हुन्छ भन्ने सोचेर काम गर्न आवश्यक छ । राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पु¥याउँछ । तसर्थ नेपाल सरकारले ‘मोन्था’ को प्रभावबाट किसानलाई जोगाउन युद्धस्तरमा काम गर्नुपर्छ । किसानको वर्षभरिको मिहिनेत र लगानीलाई पानीको भेलमा बगाउन दिनु हुँदैन । सरकारको गम्भीर ध्यान र तत्कालको राहत प्याकेज नै यतिबेला किसानका लागि सबैभन्दा ठूलो सहयोग हुनेछ ।