भद्रपुर । रकमको लोभलालचमा परेर झापाको शिवशताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको हत्या गरेको पाइएको छ ।

मृतक शर्मासँग भएको पैसा लुट्ने योजना बनाएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । संलग्नलाई प्रहरीले पक्राउ गरी आइतबार जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलनको आयोजना गर्दै शर्माको हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार शर्माको हत्या सोही ठाउँका २७ वर्षीय सुनिल साह र २३ वर्षीय राहुल साहले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । उनको हत्यामा संलग्न अर्का एक जना भारतीयसमेत रहेको र उनी फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । फरार भारतीय नागरिकको पहिचान भइसकेको प्रहरीले जनाएको छ । 

घटना विवरणअनुसार शर्मा काठमाडौं बस्दैै आएका र सस्तोमा सुन पाए आफूले पनि किन्ने अनि काठमाडौंमा चिनेजानेका मानिसलाई पनि किनिदिने भन्दै एक महिनाअघि सुनिल साहलाई भनेसँंगै हत्यामा संलग्नले उनीसँग भएको पैसा लुट्ने योजना बनाएका थिए ।

 त्यसका लागि उनीहरूले शर्मालाई गत कात्तिक ९ गते साँझ साढे ५ बजे आफूहरूले सुन ल्याएको भन्दै देखाउन लगेको र सोही दिन उनको हथौडा प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

सुनको कारोबारको बहानामा शर्माको अपहरण गरी हत्या गरेको प्रहरीले जनाएको छ । शर्माको हत्याका लागि उनीहरूले अर्जुनधारा नगरपालिका–४ दहीझोडा सामुदायिक वनमा पु¥याएर टाउकोमा हथौडा प्रहार गरी मारेको र शर्माकै सवारी साधन बा.प्र.०१–३० च ७१९४ नम्बरको गाडी प्रयोग गरेर उनको शव झापा गाउँपालिका–५ हुलाकी मार्गस्थित बिरिङ खोलाको पुलमुनि गाडेको बताइएको छ । उनीहरूले छिमेकी मुलुक भारतमा लगी आफन्तबाट करौडौँ रुपैयाँ असुल्ने योजना बनाए पनि सफल नभएपछि हत्या गरेको उल्लेख छ । 

हत्यामा संलग्नले शर्मालाई कात्तिक ९ गते नै मारेको प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ । कात्तिक ९ गतेबाट हराएका शर्मा फेला नपरेपछि उनका परिवारले प्रहरीलाई जानकारी गराएको र खोजतलासको क्रममा उनको सवारी साधन कात्तिक १३ गते मेचीनगर–१३ निचाझोडा सिमसार क्षेत्रमा जलिरहेको अवस्थामा फेला परेको थियो । अभियुक्तले शर्माको गाडी कन्काई नदीको जङ्गलबाट भित्री सडक प्रयोग गरी सालबारीमा पेट्रोल किनेर निचा झोडा जङ्गलमा ल्याएका थिए । गाडी जलाउने क्रममा सुनिलको हात र अनुहार जलेपछि एउटा चप्पल छाडेर फरार भएका थिए । शर्माको जलेको गाडी र चप्पल पहिचान भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।   

यता शव कात्तिक १५ गते राति १ बजे झापा गाउँपालिका–५ हुलाकी मार्गस्थित बिरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा फेला परेको थियो ।

प्रहरीका अनुसार शर्माको हत्यामा संलग्न अभियुक्तहरूमा सुनिल र राहुल नातामा मामा–भान्जा हुन् । पक्राउ परेका अभियुक्तमध्ये सुनिलले शर्मालाई आफूले भारतबाट सुन ल्याएको र गाडेर राखेको भन्दै ललाईफकाई अर्जुनधारा–४ स्थित दहीझोडा सामुदायिक वन पु¥याएका थिए । प्रहरीका अनुसार अभियुक्तहरूले सोधपुछमा अपराध स्वीकार गरेको बताइएको छ । घटनामा सुनिल साहले प्रयोग गर्दै आइरहेको टाटा कम्पनीको बा.९ च २६९ नम्बरको गाडी नियन्त्रणमा लिइएको उनले जनाए । 

यता शर्माको शव पोष्टमार्टमका लागि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पक्राउ परेका दुवैजना उपर अपहरण, शरीर बन्धक, आपराधिक उपद्रव तथा ज्यानसम्बन्धी कसूरमा जिल्ला अदालत झापाबाट ७ दिनको अनुसन्धान म्याद लिएर थप अनुसन्धान सुरु गरिएको डिएसपी खड्काले जानकारी दिए । पक्राउ परेकामध्ये सुनिललाई विराटनगर महानगरपालिलकाको सीमावर्ती क्षेत्र रानीमा कोशी प्रदेश प्रहरी कार्यालयको टोलीले कात्तिक १४ गते र राहुललाई भने निजको घरैबाट सोही दिन पक्राउ गरिएको बताइएको छ ।