धरान । मोरङको कानेपोखरी गाउँपालिकाको ३ नम्बर वडामा जारी दोस्रो संस्करणको पुरुष खुला नकआउट फुटबल प्रतियोगितामा सोमबार पथरीसनिश्चरेको कीर्तिपुर फुटबल क्लब र शिवालय फुटबल क्लब दोस्रो चरणमा प्रवेश गरेका छन् ।
नव प्रतिभा युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको पहिलो खेलमा कीर्तिपुरले ड्रिम स्पोर्टस् फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ गोलअन्तरले पाखा लगायो । निर्धारित समयसम्म दुवै टिमबाट १-१ गोल हुन पुगेको थियो । जसमा कीर्तिपुरबाट दिपेश दर्नालले गोल गरे भने ड्रिमबाट विराज लिम्बूले गरेका थिए ।
दुवै टिम बराबरी भएपछि टाइब्रेकरबाट कीर्तिपुरले बाजी मारेको थियो । कीर्तिपुरबाट पन्डु, पञ्चु महतो, वाउक्सा, विशाल राईले गोल गर्दा निरज धिमालको प्रहार बाहिरिएको थियो । यता ड्रिमबाट सुरज लिम्बू, निश्चल खड्का र प्रशान्त थापाले गोल गरे भने विराज लिम्बूको बल विपक्षी गोलरक्षकले बचाए । यस्तै सविन राईको प्रहार बाहिरियो ।
यस्तै दोस्रो खेलमा शिवालय फुटबल क्लबले सुक्रबारे फुटबल क्लबलाई शून्यका विरुद्ध एक गोलले नतिजा निकाल्दै दोस्रो चरणमा प्रवेश गर्यो । खेलमा शिवालयका तर्फबाट करण थापाले निर्णायक गोल गरेका थिए । शिवालयका करण थापाल खेलको म्यान अफ दी म्याच घोषित हुँदै नगद पाँच सय ५० रुपैयाँ पाए ।
पहिलो खेलको म्यान अफ दी म्याच बनेका कीर्तिपुरका गोलरक्षक दावा लामा घोषित हुँदै नगद पाँच सय ५० रुपैयाँ पाए । दुवै म्यान अफ दी म्याच खेलाडीलाई विशाल मगरले नगदसहित ट्रफी प्रदान गरेको क्लबका अध्यक्ष जयराज लिम्बूले जानकारी दिए । प्रतियोगितामा १२ टिम सहभागी छन् भने फाइनल कात्तिक २ गते हुँदै छ ।