धरान । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साढे ७ वर्ष जेल सजायको माग दाबी गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसार अभियोग दर्ता भएको हो । काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माका अनुसार साइबर ब्यूरोले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्ध अभियोगपत्र दायर गरेको हो । विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को उपदफा १ अन्तर्गतको कसूरमा सजाय हुन माग दाबी गरिएको छ । सो उपदफाअनुसार उनलाई साढे सात वर्षको जेल सजाय हुनसक्ने व्यवस्था छ ।
उपदफा २ मा ‘कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसूर पटक–पटक गरेमा त्यस्तो कसूरबापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ ।’ उनलाई पाँच वर्ष कैद तोकिएको अवस्थामा डेढी सजायअनुसार थप साढे दुई वर्ष थपिने सम्भावना छ । उनी मङ्सिर ४ गते पक्राउ परेका थिए ।
फर्जी कागजात बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा अर्बौं लगानी गरेको भन्दै सामाजिक सञ्जालमा अपलोड गरेपछि उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।