इनरुवा । शरीर अङ्गभङ्ग मुद्दामा पक्राउ पुर्जीपश्चात् प्रहरीको खोजीमा रहेका इनरुवा–६ का वडाध्यक्ष सुमन थापा पक्राउ परेका छन् । 

कार्यवाहकको जिम्मेवारी सदस्यलाई सुम्पिएर लामो समययता सम्पर्कविहीन थापा आइतबार पकली प्रहरीको सम्पर्कमा आएका हुन् । सुनसरीका प्रहरी प्रमुख फेरिएसँगै उनलाई पक्राउ गर्न प्रहरीले पहिलो सूचीमा राखेको थियो । सादा पोसाकका प्रहरीद्वारा थापा लुकेर बस्न सक्ने सम्भावित स्थान निगरानीमा राखिएको थियो । थापाका आफन्त र उनी लुकेर बस्न सक्ने सम्भावित स्थानमा प्रहरीले निगरानी बढाएपछि केहीदिन अघिबाटै उनी आइतबार सम्पर्कमा आउन सक्ने सङ्केत प्रहरीले पाएको थियो । स्रोतका अनुसार थापा पकली थानामा निवेदनसहित पुगेका थिए । सोही क्रममा पक्राउ गरी नियन्त्रणमा लिइएको स्रोतको दाबी छ । 

बदलिएको राजनीतिक घटनाक्रम र प्रहरीको ताकेतापश्चात् लामो समय प्रहरीलाई छलेर बस्दै आएका वडाध्यक्ष थापा अन्ततः कानूनी प्रक्रियामा आउन बाध्य भएको स्रोतको दाबी छ । वडाध्यक्ष पक्राउ परेको विषयलाई सुनसरी प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव थेबेले थापा पक्राउ परेको बताए । प्रहरी नियन्त्रणमा रहेका थापाको हकमा कानूनबमोजिमको प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए । २०८१ साल फागुन २२ गते साँझ चतराबाट कान्छीचोकतर्फ आउँदै गर्दा थापाले चलाएको बा.२१ च ६८८८ नम्बरको कारले प्र.१–०२–०४४ प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार रहेकी देविका खनाल गम्भीर घाइते भएकी थिइन् । 

विभिन्न अस्पतालमा उपचार गरी डिस्चार्ज भएकी उनी अशक्त अवस्थामा रहेकी छन् । घाइतेको अवस्था जटिल बन्दै गएको भन्दै पीडित पक्षले उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गरेको थियो । उच्च अदालतले भदौ ३ गते जिल्ला सरकारी वकिल कार्यालयलाई कारणसहित जवाफ दिन आदेश दिएपछि थापाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको थियो । थापाविरुद्ध गत साउन १६ गते मुद्दा दर्ता भई साउनको २० गते पक्राउ पुर्जी जारी भएको थियो । वडाध्यक्ष थापा भदौ ८ गतेबाट वडा सदस्य कृष्णकुमार श्रेष्ठलाई कार्यवाहक तोकेर हिँडेका थिए । त्यसयता उनी वडाको कामकाजमा फर्किएका थिएनन् । घटनाका सम्बन्धमा वडाध्यक्ष सुमन थापाले घाइतेको उपचार गरेको र सो क्रमलाई निरन्तरतामा राखेको बताउँदै आएका थिए ।

यद्यपि घाइते पक्षले भने थापाले राजनीतिक पहुँचका आडमा घटनालाई ढिसमिस पार्ने काम गरेको आरोप लगाउँदै आएको थियो । बिरामीको अवस्था जटिल बन्दै जाँदासमेत बेवास्ता गरेको आरोप लगाउँदै आएको घाइते पक्षले वडाध्यक्ष थापालाई पक्राउ गरी कानूनी दायरामा ल्याउनु पर्ने मागसहितको दबाव सिर्जना गर्दै आएको थियो ।