न्यायको मन्दिर ‘अदालत’ को नाम बेचेर एउटा परिवारले सङ्गठित ठगीको धन्दा चलाएको तथ्यले हामी सबैलाई स्तब्ध तुल्याएको छ । मोरङ जिल्ला अदालतमा जागिर लगाइदिने प्रलोभन देखाउँदै नक्कली सूचना, परिचय–पत्र र छापसमेत बनाएर पचासभन्दा बढी सर्वसाधारणलाई ठगीको जालोमा पारेको यो घटनाले राज्यका संवेदनशील निकायमाथि नागरिकले गर्ने आधारभूत विश्वास माथि नै गम्भीर प्रश्नचिह्न खडा गरेको छ । मोरङ प्रहरीले आमा–छोरीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउनु सराहनीय कार्य हो तर यो घटनाको गम्भीरता र यसको सामाजिक असर अझै धेरै ठूलो छ । यो गिरोहले ठगीका लागि अपनाएको शैली कुनै फिल्मी कथाभन्दा कम छैन । अदालतको भित्री कार्यप्रणालीको राम्रो ज्ञान भएको मुख्य योजनाकार सञ्जय यादवले अदालतको आधिकारिक लेटरहेड, छाप र कर्मचारी आवश्यकतासम्बन्धी नक्कली सूचना दुरूस्त नक्कल गरेर ठगीको एउटा अभेद्य जस्तो देखिने जालो बुने । नक्कली परिचय पत्र बोकेर अदालतको कर्मचारीको भेषमा उनकी छोरीले बेरोजगार युवायुवतीलाई निशाना बनाइन् र आमाको ई–सेवा खातामार्फत् पैसा असुल गरियो । महिनौँसम्म नियुक्ति नपाउँदा ठगिएको शङ्काले पीडितहरु जब अदालत पुगे, तब मात्रै यो अपराधको पर्दाफास भयो । यसले के देखाउँछ भने सरकारी जागिरको आशमा रहेका सोझासाझा नागरिकको सपना र आर्थिक सङ्कटलाई आपराधिक गिरोहले कसरी सहजै हतियार बनाइरहेका छन् ।

सबैभन्दा चिन्ताजनक पक्ष त के हो भने यो ठगीको धन्दा एउटा सङ्गठित परिवारमार्फत् सञ्चालन भएको थियो । यसमा आमा, छोरी र श्रीमान्को योजनाबद्ध संलग्नता देखिन्छ, जसले आपराधिक मानसिकताको गहिराइलाई उजागर गर्छ । राज्यको एक महत्वपूर्ण अङ्गको गरिमा र विश्वसनीयतामाथि यस्तो घिनलाग्दो खेलवाड गर्नु जघन्य अपराध हो । प्रहरी अनुसन्धानबाट मुख्य नाइके सञ्जय यादव अझै फरार रहेको र उनको गिरफ्तारीपछि मात्रै यो गिरोहको विस्तृत सञ्जाल र ठगी रकम खुल्ने कुराले घटनाको आयाम अझै ठूलो हुनसक्ने आशङ्का छ । यो घटनाले सबैलाई कम्तीमा सचेत बन्नुपर्ने रहेछ भन्ने पाठ सिकाएको छ । कसैले पनि कुनै कुरालाई सामान्य रुपमा लिनु हुँदैन । आजको अवस्थामा जताततै ठगी गर्ने जुन प्रवृत्ति हाबी भएको छ, यसलाई सबैले नजरअन्दाज गर्नेभन्दा पनि आफूलाई सदैव सचेत बनाउनेतिर लाग्नुपर्छ । कसैले कुनै किसिमको प्रलोभन देखाउँदै छ भने के कति कारणले त्यो गरिरहेको छ ? के त्यसका लागि आफू लायक हो भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ । हामीले कुनै पनि बेला सजग र सचेत भएनौँ भने जुनसुकै बेला पनि दुःख पाउने स्थिति सिर्जना हुन्छ । यो घटनाबाट सिक्नुपर्ने पाठ पनि त्यही हो ।

प्रहरीले यस्ता सङ्गठित अपराधमाथि शून्य सहनशीलताको नीति अपनाउनु अपरिहार्य छ । फरार मुख्य योजनाकारलाई तत्काल पक्राउ गरी कानूनको कठघरामा उभ्याउनु पर्छ । पक्राउ परेका आमा–छोरीलाई समेत यो ठगीको जालो बुन्नमा पु¥याएको भूमिकाको आधारमा कडाभन्दा कडा कारबाही हुनुपर्छ । पीडितहरुले उठाएको माग जायज छ; सरकारी जागिरको सपना देखाएर ठगी गर्नेहरुलाई यस्तो दण्ड दिनुपर्छ कि भविष्यमा यस्तो अपराध अरु कसैले गर्ने दुस्साहस नगरोस् । केवल न्यायिक कारबाही मात्र होइन, अदालत प्रशासनले पनि आफ्ना सुरक्षा प्रणाली र सूचना प्रवाहको संयन्त्रलाई थप बलियो र पारदर्शी बनाउनुपर्ने पाठ यो घटनाले सिकाएको छ । तब मात्रै, न्यायको मन्दिरमाथिको नागरिक विश्वास पुनस्र्थापित हुनसक्छ ।