धरान । पार्टीको विरोध गरी स्वतन्त्रबाट नगर प्रमुख जितेका हर्कराज राई (साम्पाङ) को पार्टीले औपचारिकता पाएको छ ।

धरान नगर प्रमुख साम्पाङको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले दल दर्ताको मान्यता दिएको छ । आयोगले आइतबार प्रमाण पत्र उपलब्ध गराएको छ । आयोगमा दर्ता भएअनुसार हाल उनको पार्टीमा पाँच सदस्यीय पदाधिकारी रहेका छन् । उनको पार्टीको चुनाव चिह्न ‘माटोको ढिस्को’ रहेको छ । उनको पार्टीमा २३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ ।

उनको पार्टीले यसअघि नै आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए । निवेदन दिएको केही समयपश्चात् आयोगले विधानलगायतका विषयलाई लिएर कागजात माग गरेको थियो । सोही आधारमा उनको पार्टीलाई आइतबार मात्रै दल दर्ताको मान्यताको प्रमाण पत्र उपलब्ध गराएको हो । उनी समर्थकसहित आयोगको कार्यालयमा पुगेका थिए ।