भद्रपुर । बिर्तामोडमा ९ जना जुवाडे पक्राउ परेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार बिहानको राति १ः४५ बजे बिर्तामोड–४ पश्चिम बस स्टेन्डछेउमा डेरा लिई बस्ने बाह्रदशी–४ का २९ वर्षीय राजकुमार साहको कोठामा तास खेल्दै गरेका जुवाडेहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा बिर्तामोड– २ बस्ने वर्ष ३८ का रतन राजवंशी, सोही ठाउँ बस्ने वर्ष २६ का किशोर पराजुली, वर्ष ४३ का उत्तम शिवाकोटी, वर्ष ४३ का राजन थापा, बिर्तामोड–३ बस्ने वर्ष ४० का डम्बर बस्नेत, सोही ठाउँका ४० वर्षीय दिवाकर प्रसाईं, बिर्तामोड–५ बस्ने वर्ष ३६ का राजेन्द्र चौधरी, बाह्रदशी–४ बस्ने वर्ष २९ का राजुकुमार साह र मेचीनगर–२ बस्ने वर्ष २८ का नारायण पराजुली रहेका छन् ।

तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट नगद ७५ हजार ६ सय र नखोलेको सिलप्याक तास ७ बुङ, खोलेको १ बुङ तास बरामद भएको छ ।

 पक्राउ परेका जुवाडेलाई पाँच दिन हिरासतमा राखिएको प्रहरीले जनाएको छ । उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जुवा कसूरमा अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय झापाबाट पाँच दिनको म्याद लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।