धरान । ‘मोन्था’ चक्रवातको कारण बिहीबार रातिदेखि भइरहेको बेमौसमी अविरल वर्षाले जनजीवन प्रभावित भएको छ ।
असामान्य वर्षाका कारण किसानहरूले थन्क्याउने क्रममा रहेका धानबाली र नयाँ लगाइएका तोरीबालीमा ठूलो क्षति पुगेको छ । वर्षा अझै पनि निरन्तर भइरहेको छ ।
तराईदेखि हिमालसम्मका क्षेत्र प्रभावित हुँदा प्रदेशका सडक, विद्यालय र बाली सबै क्षेत्रमा क्षति पुगेको छ । सुनसरी, मोरङ, झापा, उदयपुर, इलामलगायतका जिल्लामा बढी क्षति पुगेको छ ।
वर्षाको असरले विराटनगर महानगरपालिकाका अधिकांश विद्यालय शुक्रबार बन्द भए । इटहरी उपमहानगरपालिकाले सुरक्षा जोखिम र यातायात समस्यालाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । वर्षा नरोकिएपछि शुक्रबार मोरङ र सुनसरीका अधिकांश शैक्षिक संस्था बन्द भए ।
धरान–धनकुटा सडक भासिँदा यातायात प्रभावित
अविरल वर्षाका कारण धरान–धनकुटा सडक–खण्डको साँगुरीगढी गाउँपालिका–६ कोल्बोटेस्थित गोलाइ नजिकको भाग भासिएर पहिरो झरेको छ । सडक भासिएसँगै ठूला सवारी साधनको आवत–जावत अवरुद्ध भएको छ भने साना सवारी साधन भने निगरानीमा एकतर्फी सञ्चालन भइरहेका छन् । करिब १० मिटर पहिरो झरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजन कार्कीका अनुसार अहिले भने एकतर्फी सडक सुचारु भइरहेको छ । ठूला सवारी साधन आवात–जावतमा भने समस्या भएको छ ।
यस्तै मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली खण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । लगातारको वर्षापछि आएको बाढीले पूर्व–पश्चिम राजमार्ग (एसियन हाइ–वे) अन्तर्गत झापाको शिवसताक्षी नगरपालिकास्थित भालुखोलामा बनाइएको डाइभर्सनमा क्षति पु¥याएको स्थानीयले बताएका छन् ।
बाढीले डाइभर्सनमा क्षति गरेपछि राजमार्ग एकतर्फी सञ्चालन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । निर्माणाधीन एसियन हाइ–वेअन्तर्गत भालुखोलामा नयाँ पुलका लागि डाइभर्सन बनाइएको छ । निरन्तरको वर्षापछि खोलामा बाढी आउँदा त्यस क्षेत्रमा पटक–पटक राजमार्ग अवरुद्ध हुँदै आएको छ ।
अहिले राजमार्ग अवरुद्ध नै नभए पनि डाइभर्सनमा क्षति पुगेको र राजमार्गलाई एकतर्फी बनाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सन्तोष राईले जानकारी दिए ।
कन्काई नदीको बाढीले गाउँ खतरामा
यता अविरल वर्षाका कारण झापाको कन्काई नदीको बहाव बढ्न थालेसँगै कटान क्षेत्रमा बाढी पस्ने खतरा बढेको छ । यसअघि गत असोज महिनामा आएको बाढीले कटान गरेको गौरीगञ्जको रङ्गियाथान दक्षिण–पश्चिम क्षेत्रमा बाँध फुट्न लागेकाले दक्षिणी क्षेत्रमा सचेत रहन महाभारा प्रहरी चौकीले सूचना जारी गरेको जनाएको छ ।
चौकीका प्रमुख प्रहरी असइ सरोज रेग्मीले दिएको जानकारीअनुसार वर्षासँगै आएको बाढीले कन्काई नदीको जल सतह खतराको तहमा पुगेको छ । नदीको इलामस्थित चिसापानीमा राखेको मापन केन्द्रमा पानीको सतह शुक्रबार अपरान्ह ४ बजेर ४० मिनेटमा ४ दशमलव १८ पुगेको छ ।
यता वर्षाका कारण पाक्न लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । किसानले अगुवा धान काटेर हिउँदेबाली लगाएकोमा वर्षाले सबै डुबाएको पाइएको छ । क्षतिको विवरण भने यकिन भैनसकेको विपद् व्यवस्थापन समितिले जनाएको छ ।
वर्षाले खेतमै सड्न थाल्यो धान
निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मिहिनेत र पसिनामा क्षति पु¥याएको छ । थन्क्याउनका लागि काटिएको धान खेतमै कुहिन थालेपछि किसान आर्थिक तथा मानसिक दुवै सङ्कटमा परेका हुन् । नकाटिएको धान पनि लडेका कारण किसान थप चिन्तामा परेका छन् ।
वर्षाले धेरै ठूलो क्षति पुर्याएको पौवादुङ्मा–२ का किसान राजन ढकालले बताए । धान थन्क्याउने मुख्य याममा भएको निरन्तरको वर्षाले किसानहरू समस्यामा परेको उनको भनाइ छ । “धान थन्क्याउने मुख्य सिजनमा लगातार वर्षा भइरहेको छ” उनले भने, “बिटा लगाउन काटेको धान आलीमै कुहिन थालेको छ । नकाटिएको धान पनि लडेर सखाप भएको छ । यस्तै स्थिति रह्यो भने परिवार पाल्न गाह्रो पर्ने अवस्था भो ।” ढकालका अनुसार वर्षाले धान मात्र होइन, पशुचौपायाका लागि राखिएको पराल पनि बिग्रँदै गएको छ ।
किसानको वर्षभरिको मिहिनेत वर्षाले सखाप पारिदिएको स्थानीय किसान रूपनारायण फुयाँलले बताए । थन्क्याउने अवस्थामा रहेको धानमा क्षति पुगेपछि किसानले ठूलो पीडा भोग्नुपरेको उनको भनाइ छ । “हामीले वर्षभर पसिना पोख्यौँ” उनले भने, “तर, असामयिक वर्षाले केही दिनमै सबै बर्बाद गरिदियो । खेतमै धान सड्न थालेको छ । उत्पादन र गुणस्तर दुवैमा क्षति पुग्दैछ ।” लगातारको वर्षा, बढी चिस्यान र घाम नलाग्दा धान सुकाउन सकिने अवस्था नरहेको किसानको भनाइ छ ।
































