विराटनगर । मोरङको जहदा गाउँपालिकामा एक दम्पतीमाथि भएको निर्घात कुटपिट गर्ने एक जना पक्राउ परेका छन् ।
छठ पर्वको दिन भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले एक आरोपीलाई पक्राउ गरेको हो । घटनाका मुख्य योजनाकार भनिएका व्यक्तिसहित अन्य तीन जना भने अझै फरार रहेका छन् ।
यही कात्तिक १० गते छठ पर्वको दिन जहदा गाउँपालिका वडा नं. १ राजवंशी चोकका ३८ वर्षीय मुकेशकुमार साह र उनकी ३४ वर्षीया श्रीमती सीमादेवी साहमाथि छिमेकी ५० वर्षीय विन्देश्वर सरवरियाको परिवारले साङ्घातिक आक्रमण गरेको थियो । पीडित परिवारका अनुसार, छठ पूजाको अवसरमा सरवरिया परिवारले चर्को स्वरमा अश्लील गीत बजाएपछि साह परिवारले त्यसो नगर्न आग्रह गरेको थियो । यही विषयलाई लिएर सुरु भएको विवादले उग्ररूप लिँदा सरवरिया परिवारका विन्देश्वर, उनकी श्रीमती ५० वर्षीया हीरामनी देवी, ३० वर्षीय छोरा सुनिल र २६ वर्षीया छोरी सुनिताले साह दम्पतीमाथि निर्घात कुटपिट गरेका थिए ।
सार्वजनिक भएको भिडियो फुटेजमा मुकेश साहलाई कपडा च्यातेर मरणासन्न हुने गरी कुटपिट गरिएको देखिन्छ । श्रीमान्लाई बचाउन गएकी सीमादेवीलाई समेत लछारपछार गर्दै नालीमा फालेर आक्रमण गरिएको दृश्यले सामाजिक सञ्जालमा चर्को आक्रोस पैदा गरेको थियो । कुटपिटबाट सीमादेवीको हात भाँचिएको छ भने दम्पती दुवै घाइते भएका छन् ।
घटनाको भिडियो भाइरल भएपछि चौतर्फी दबावमा परेको प्रहरीले खोजी कार्यलाई तीव्र बनाउँदै शुक्रबार आक्रमणमा संलग्न सुनिल सरवरियालाई पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चुडालका अनुसार पक्राउ परेका सुनिलमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ । “घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको पनि खोजी कार्य जारी छ र उनीहरूलाई पनि चाँडै कानूनी दायरामा ल्याइनेछ” –डिएसपी चुडालले भनिन् ।
पीडित सीमादेवी साहले आक्रमण हुँदा बुधनगर प्रहरी चौकीका प्रहरी घटनास्थलमै भए पनि उनीहरू मुकदर्शक बनेको गम्भीर आरोप लगाएकी छन् । “हामीमाथि सरवरिया परिवारले आक्रमण गरिरहँदा प्रहरी त्यहीँ थियो, तर उनीहरूले छुट्याउने कुनै प्रयास गरेनन्”–उनले भनिन् । प्रहरीको यस्तो भूमिकाप्रति स्थानीयले पनि प्रश्न उठाएका छन् । यसबारे मोरङ प्रहरीले आन्तरिक अनुसन्धान सुरु गरेको र दोषी पाइएमा कारबाही गरिने जनाएको छ ।
पीडित परिवारका अनुसार आक्रमणको नेतृत्व गर्ने मुख्य आरोपी विन्देश्वर सरवरियाले यसअघि पनि विभिन्न बहानामा उनीहरूलाई धम्की दिने गरेका थिए । सीमा क्षेत्रमा बसोबास गर्ने विन्देश्वर नेपाल–भारत दुवैतर्फ तस्करीमा संलग्न रहेको स्थानीयको आरोप छ । उनीमाथि नेपालबाट गाँजालगायतका सामग्री भारततर्फ र भारतबाट खाद्यान्नलगायतका सामान नेपालतर्फ तस्करी गर्ने गरेको आरोप लाग्दै आएको छ ।
पीडित परिवारले आक्रमणमा संलग्न सबैलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै आफूहरूको जिउधनको सुरक्षा सुनिश्चित गर्न अपिल गरेका छन् । प्रहरीले फरार रहेका मुख्य आरोपी विन्देश्वर सहित अन्यको खोजीलाई तीव्रता दिएको बताएको छ ।
































