धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको मोबाइल नम्बर ह्याक गरी ह्वाट्सएपमा पैसा माग्ने गरेको पाइएको छ ।
एसपी सुनसरीसँग जोडिएकाहरूबाट ‘अतिआवश्यक परेको’ भन्दै रकम माग गर्ने गरेको पाइएको हो । जिल्लाका एसपी केशवकुमार थेबेलाई यसबारे बुझ्दा उनले भने, “दुई दिनअगाडि ह्याक गरेर केहीलाई पैसा माग्ने गरेको पाइयो । दुईजनाको नाममा पैसा जम्मा गर्नू भन्दै सानिमा सेभिङ खाताको नम्बर दिने गरेको रहेछ ।”
ब्लाष्टका कार्यकारी सम्पादक भोजराज श्रेष्ठसँग ‘अति आवश्यक’ भन्दै ३० हजार रुपैयाँ नगद माग गरेपछि एसपी थेबेलाई बुझिएको थियो । कुनै साथीको नाममा पठाउनू भन्दै ‘सुरज गोउन्ड कहर’ को नाममा रहेको सानिमा सुलभ सेभिङ्समा रकम पठाउन भनिएको थियो । ती व्यक्तिको खाता नम्बर ०७५०११०६०००३४९८ रहेको छ । उनले सानिमाको क्युआर कोड पठाएका थिए ।
कुराकानीकै क्रममा थप बुझ्दै जाँदा उनले तत्काल उक्त क्युआर कोड पठाएको स्क्रिन सटलाई मेटाएका थिए । यसबारेमा सानिमा बैङ्कको केन्द्रीय कार्यालयको वेबसाइटमा २४ सै घण्टा ग्राहक सेवा दिने केन्द्रमा दिइएको नम्बरमा फोन सम्पर्क गर्दा एक कर्मचारीले भने, “तपाईंले भनेको खातालाई हामी निगरानीमा राख्छौँ । के हो भन्ने विषयमा सम्बन्धित निकायमा फरवार्ड गरिदिन्छौँ ।” खाताबारे थप बुझ्दा उनले गोपनीयताका कारण विस्तृत जानकारी दिन नमिल्ने ती कर्मचारीले बताए । तर, उनले उक्त खातामा खासै रकम ट्रान्जेक्सन नभएको चाहिँ बताए ।