धरान । सप्तरीसहित १२ वटा जिल्ला हेर्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले आर्थिक वर्ष २०८१/०८२ मा १९ सय ५३ वटा उजुरी फछ्र्यौट गरेको छ । 

आयोगका इटहरी प्रमुख खगेन्द्रप्रसाद रिजालका अनुसार कुल २ हजार ३ सय ३६ उजुरीमा करिब ८३ प्रतिशत उजुरीहरूमाथि कारबाही भएको छ ।

उनका अनुसार सबैभन्दा बढी उजुरी वन तथा वातावरण क्षेत्रका रहेका छन् । त्यसमा पनि स्थानीय निकायका बढी रहेको कार्यालयले जनाएको छ । जिल्लागत हिसाबमा सबैभन्दा बढी सप्तरीको उजुरी आएको प्रमुख रिजालले बताए । 

उनका अनुसार एक वर्षमा १ सय ३६ वटा मुद्दा दर्ता भएका थिए । २ वटा सम्पत्ति शुद्धीकरणसहित १ सय ३५ वटा भ्रष्टाचार मुद्दा रहेका छन् । १ सय ३७ मुद्दामा ७ सय ५३ जना प्रतिवादीबाट ६ अर्ब एक करोड ८४ लाख ७२ हजार ६ सय ९२ रुपैयाँ बिगो माग दाबी गरिएको थियो । ५३ प्रतिशत आयोगको माग दाबीअनुसार फैसला भएको प्रमुख रिजालले जानकारी दिए । उक्त मुद्दामा एक विशिष्ट कर्मचारीसहित ३ सय ९२ जना कर्मचारी र ४८ जना जनप्रतिनिधिविरुद्ध मुद्दा दायर भएको थियो । 

विभिन्न समयमा आयोगले विशेष अदालतमा दर्ता गरेको मुद्दामा यो आर्थिक वर्षमा ३ सय ९३ वटा मुद्दा फैसला भएको आयोगले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा मुद्दा सङ्ख्या बढेको उनले बताए । इटहरीबाट आयोगले कोशी प्रदेशका ओलखढुङ्गा, सोलुखुम्बु र खोटाङबाहेक ११ जिल्ला र मधेशको सप्तरी जिल्ला गरी १२ वटा जिल्लाहरू हेर्दै आएको छ ।