विराटनगर । जहाँ नागरिक न्यायको अन्तिम आशा लिएर पुग्छन्, त्यही न्यायको मन्दिर ‘अदालत’ को नाम बेचेर एउटा परिवारले सङ्गठित ठगीको धन्दा चलाएको तथ्य खुलेको छ ।

मोरङ जिल्ला अदालतमा जागिर लगाइदिने प्रलोभन देखाउँदै नक्कली सूचना, परिचय–पत्र र छापसमेत बनाएर ५० भन्दा बढी सर्वसाधारणलाई ठगीको जालोमा पार्ने एक पारिवारिक गिरोहका दुई सदस्यलाई मोरङ प्रहरीले पक्राउ गरेपछि यो रहस्यको पर्दाफास भएको हो । 

प्रहरीले विशेष सूचना र पीडितहरूको उजुरीको आधारमा सञ्चालन गरेको कारबाहीमा सिरहाको लहान स्थायी घर भई हाल विराटनगर–५ मा डेरा गरी बस्ने ५० वर्षीया पुनमदेवी साह र उनकी २७ वर्षीया छोरी कोमलकुमारी साहलाई शुक्रबार पक्राउ गरेको हो । तर यो सङ्गठित ठगीका मुख्य योजनाकार मानिएका कोमलका श्रीमान् सञ्जय यादव भने फरार छन् । प्रहरीले उनको खोजीलाई तीव्र पारेको जनाएको छ ।

यसरी बुनिएको थियो ठगीको जालो

यो गिरोहले फिल्मी कथाभन्दा कम नलाग्ने गरी अत्यन्तै योजनाबद्ध र विश्वसनीय तरिकाले आफ्नो ठगीको साम्राज्य फैलाएको थियो । प्रहरी अनुसन्धानका अनुसार फरार रहेका सन्जय यादव यो अपराधका मुख्य सूत्राधार रहेको प्रहरी बताउँछ । स्रोतका अनुसार यादवले पहिले अदालतमा काम गरेका कारण उनलाई त्यहाँको आन्तरिक कार्यप्रणाली, कागजी प्रक्रिया र कर्मचारीहरूको व्यवहारबारे गहिरो जानकारी थियो । यही ‘भित्री ज्ञान’ को दुरुपयोग गर्दै उनले ठगीको एक अपराजय जस्तो देखिने योजना बनाए ।

उनले मोरङ जिल्ला अदालतको लेटरहेड, छाप र हस्ताक्षर दुरुस्त नक्कल गरी कर्मचारी आवश्यकतासम्बन्धी नक्कली सूचना तयार पार्ने गर्थे । गत साउन १२ गते २०८२ सालको मिति राखेर ‘प्रथम पटक प्रकाशित सूचना’ भन्दै उनले नायव सुब्बा (१५ जना), कार्यालय सहयोगी (२२ जना) र चालक (५ जना) पदमा करारमा भर्ना खुलाइएको भ्रामक सूचना सामाजिक सञ्जाल र ह्वाट्सएपमार्फत् फैलाएका थिए ।

सूचनालाई सक्कली देखाउन उनले अदालतका कर्मचारीले प्रयोग गर्ने जस्तै देखिने नक्कली परिचय पत्रसमेत बनाएका थिए । बुबा सञ्जयले तयार पारेको यही नक्कली हतियार बोकेर कोमलकुमारी साह सर्वसाधरणसम्म पुग्ने गर्थिन् । उनले आफूलाई अदालतकी कर्मचारीका रूपमा प्रस्तुत गर्दै बेरोजगार युवायुवतीलाई आफ्नो निशाना बनाउँथिन् । सामाजिक सञ्जालमार्फत् भेट्ने र जागिरको पक्कापक्की ग्यारेन्टी दिने उनको शैली थियो ।

प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट उनले पदअनुसार फरक–फरक शुल्क तोकेकी थिइन् । कार्यालय सहयोगीका लागि दुई हजार पाँच सय ७५ रुपैयाँ, खरिदारका लागि ५ हजार ५ सय ७५ रुपैयाँ र नायव सुब्बाका लागि ७ हजार पाँच सय ७५ रुपैयाँ शुल्क लाग्ने बताएकी थिइन् । तर चलाखीपूर्वक उनले उक्त रकम आफ्नो खातामा नभई आफ्नी आमा पुनमदेवी साहको नाममा रहेको ई–सेवा खातामा पैसा पठाउन लगाउने गरेको पीडितहरूले दिएको उजुरीमा उल्लेख छ । पैसा बुझाएपछि नक्कली नियुक्तिपत्र र अन्य कागजात देखाएर पीडितलाई ढुक्क बनाइने गरेको उनीहरूले उल्लेख गरेका छन् । महिनौँ बित्दा पनि जागिरमा हाजिर हुन नपाएपछि आफूहरूमा शङ्का उत्पन्न भएको उल्लेख गरी  पैसा बुझाएका युवायुवतीहरू जब मोरङ जिल्ला अदालत पुगे तब उनीहरूको होसहवास उड्यो । अदालत प्रशासनले त्यस्तो कुनै पनि पदमा भर्ना नखुलाएको र जारी गरिएका सबै कागजात नक्कली भएको जानकारी दिइयो ।

आफूहरू सङ्गठित गिरोहबाट ठगिएको थाहा पाएपछि मोरङका मात्रै २७ भन्दा बढी पीडितहरू एकजुट भएर जिल्ला प्रहरी कार्यालय मोरङमा सामूहिक उजुरी दिए । उजुरीको गम्भीरतालाई मनन् गर्दै मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले तत्काल अनुसन्धान टोली गठन गर्न निर्देशन दिए । मोरङ प्रहरीबाट खटिएको प्रहरी टोलीले पीडितहरूले उपलब्ध गराएको ई–सेवा नम्बर र अन्य प्राविधिक प्रमाणको आधारमा अनुसन्धान अगाडि बढायो । अन्ततः प्रहरीले आमा–छोरीलाई विराटनगरबाट पक्राउ गर्न सफल भयो ।

मोरङ प्रहरीकी प्रवक्ता डिएसपी कोपिला चुडालले भनिन्, “यो एक गम्भीर र सङ्गठित अपराध हो । उनीहरूले राज्यको संवेदनशील निकायको विश्वासको दुरुपयोग गरेर सोझासाझा नागरिकको भविष्यमाथि खेलवाड गरेका छन् । हामीले आमा–छोरीलाई पक्राउ गरी आइतबार जिल्ला अदालत, मोरङबाट ठगी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान गरिरहेका छौँ ।”

कडा कारबाही गर्न पीडितको माग 

ठगीमा परेका पीडितहरूले ठगी गर्ने गिरोहलाई कडा कारबाहीको माग राखेका छन् । उनीहरूले जिल्ला प्रहरी कार्यालय मोरङमा आइतबार भेला भएर ठगी गर्नेलाई कारबाही गर्न माग गरेका हुन् । विराटनगर–१२ बखरीकी पीडित निलमकुमारी चौधरीले सरकारी जागिरको सपना देखाएर ठगी गर्नेलाई कारबाही हुनुपर्ने बताइन् । “हामीले घरमा कति दुःखले त्यो पैसा जुटाएका थियौँ, त्यो हामीलाई मात्र थाहा छ । अब यस्तो अपराध अरू कसैले गर्न नपाओस्”–उनले भनिन् । प्रहरीले यो ठगी धन्दाका मुख्य नाइके सन्जय यादवको खोजी कार्यलाई देशव्यापी रूपमा तीव्र बनाएको छ । उनको गिरफ्तारीपछि मात्र यो गिरोहको सञ्जाल कहाँसम्म फैलिएको छ, यसमा अन्य को–को संलग्न छन् र उनीहरूले अहिलेसम्म कति रकम ठगी गरे भन्नेबारे थप रहस्य खुल्ने प्रहरीको विश्वास छ ।