विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगरको चौधरी परिवारमा शनिबार साँझ एउटा सानो उत्सवको तयारी हुँदै थियो । घरको आँगनमा खुसीको रौनकता थियो । ४७ वर्षीय दिनेश चौधरीले दिउँसो मात्रै जेठो छोरा एसकुमारलाई झुम्का बजारबाट चम्किलो नयाँ साइकल किनेर ल्याइदिएका थिए । छोराको अनुहारमा छाएको खुसी हेरेर दिनेश दङ्ग थिए ।
परिवारको सुखमा रमाउने उनी एउटा धार्मिक अनुष्ठानको तयारीमा जुटेका थिए । उनले आफ्नी श्रीमतीलाई पूजाको लागि परेवा किन्न भनेर पाँच सय रुपैयाँ थमाए । घरमा धार्मिक कार्यको वातावरण बन्दै थियो, तर नियतिले भने सायद त्यो परिवारको खुसीमा ग्रहण लगाउने क्रूर योजना बुनिसकेको थियो ।
श्रीमतीलाई पूजाको सामान जोहो गर्न लगाएर दिनेश “एकैछिन बजार गएर आउँछु’ भन्दै आफ्नो सिटी सफारी (अटोरिक्सा) लिएर घरबाट निस्किए । त्यो बेला करिब साँझको पाँच बजेको हुँदो हो । उनका भतिज अरमान चौधरी सम्झिन्छन्, “दिउँसो भाइलाई साइकल किनेर ल्याइदिनुभएको थियो । त्यसपछि बजार जान्छु भनेर निस्किनुभएको हो ।” घरबाट निस्कँदा दिनेशको मनमा सायद पूजापाठ र परिवारको भलो चिताउने भावना मात्र थियो होला । तर, त्यो सामान्य यात्रा उनको जीवनको अन्तिम यात्रा बन्न पुग्यो, जसले रामधुनीको त्यो सानो बस्तीलाई स्तब्ध बनायो र एउटा परिवारलाई कहिल्यै निको नहुने घाउ दियो ।
घरबाट निस्केको आधा घण्टा पनि नबित्दै घरदेखि करिब दुई किलोमिटर पूर्व–दक्षिणमा रहेको सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरको सुनसान बाटोमा समयको गति एकाएक रोकियो । जुन बाटो हुँदै दिनेश बजार जान हिँडेका थिए, त्यही बाटो उनको रगतले रङ्गियो । रामधुनी नगरपालिका–२ करमनीया टोलमा उनको बीभत्स हत्या भयो ।
घटनाका एक प्रत्यक्षदर्शी छिमेकी नरेश चौधरीले उनीहरूको भनाभन भएको देखेका थिए । उनका अनुसार, नहरको बाटोमा दिनेशलाई मोटरसाइकलमा आएका तीन अपरिचित व्यक्तिहरूले रोकेका थिए । उनीहरूबीच चर्को स्वरमा भनाभन र विवाद भइरहेको थियो । केही गड्बड भएको आशङ्कामा नरेश त्यहाँ पुगेर सोधखोज गर्न खोजे । “यहाँ के भइरहेको छ ?” उनले सोधेको मात्र के थिए, मोटरसाइकलमा सवार एक व्यक्तिले उनलाई झम्टिँदै धम्की दियो, “तँ यहाँबाट खुरुक्क गइहाल्, नत्र तँलाई पनि मारिदिन्छौं ।”
उक्त धम्कीले आफ्नो सातोपुत्लो उडेको उनले बताए । उनी त्यहाँबाट ज्यान जोगाउन भागे र सिधै दिनेशको घरमा खबर गर्न पुगे । उनले हतार–हतार परिवारका सदस्यलाई घटनाबारे जानकारी दिए । जबसम्म परिवारका सदस्य र अन्य छिमेकीलाई लिएर नरेश घटनास्थलमा फर्केर आइपुगे, त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो । आक्रमणकारीहरू आफ्नो अपराध कर्म सकेर त्यहाँबाट फरार भइसकेका थिए । नहरको किनारमा दिनेश रगतको आहालमा लडिरहेका थिए, उनको प्राणपखेरु उडिसकेको थियो । उनको सिटी सफारी त्यहीँ थियो, तर त्यसको चालक अब कहिल्यै घर फर्कने छैन । स्थानीय देवनारायण चौधरीका अनुसार, ठूलो आवाज आएपछि मानिसहरू नहरतिर पुग्दा दिनेशको शव भेटिएको थियो र आक्रमणकारीहरू नहरको बाटो हुँदै दक्षिणतिर भागेको अन्य प्रत्यक्षदर्शीले बताएका थिए ।
हत्याको प्रकृतिबारे प्रारम्भिक जानकारीहरू विरोधाभासपूर्ण रहे । कसैले उनको घाँटीमा गहिरो चोट रहेको बताए भने प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको बायाँ छातीमा गोली लागेको जस्तो गहिरो प्वाल देखिएको बतायो । सुनसरी प्रहरी प्रमुख केशवकुमार थेबेले घटनाको पुष्टि गर्दै भने, “मानिस रक्ताम्य अवस्थामा सडकमा ढलेको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको हो । गोली हानिएको हो वा अन्य धारिलो हतियार प्रयोग भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।”
यो योजनाबद्ध आक्रमण थियो वा व्यक्तिगत रिसइबी, प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ । आक्रमणकारीको खोजीका लागि विशेष टोली परिचालन गरिएको र सम्भावित संलग्नताको पहिचान गर्न सिसिटिभी फुटेज र मोबाइल कल विवरणको समेत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
दिनेश एक सिधासादा र मिहिनेती व्यक्ति थिए । विगत एक वर्षदेखि उनले सिटी सफारी चलाएर आफ्नो परिवारको गुजारा चलाउँदै आएका थिए । उनका दुई छोरा र एक छोरी छन्, जसको भविष्यको लागि उनी दिनरात पसिना बगाउँथे । पूजापाठ र धर्मकर्ममा विश्वास राख्ने दिनेशले कहिल्यै कसैको अहित चिताएनन् । तर, उनै व्यक्ति आज आपराधिक मानसिकताको शिकार बने । उनको हत्याले परिवारको आशा र भरोसाको स्तम्भ नै ढलेको छ ।
आइतबार साँझ, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमपछि उनको शव परिवारलाई जिम्मा लगाइयो । जुन घरमा शनिबार साँझ पूजाको तयारी हुँदै थियो, त्यही घरबाट आइतबार दिनेशको शवयात्रा निस्कियो । परिवारले गह्रौं मनका साथ उनको अन्तिम संस्कार गरे । श्रीमतीले पूजाका लागि परेवा किन्न राखेको पाँच सय रुपैयाँ अब सधैँभरि एउटा नमीठो याद बनेर रहनेछ । जेठो छोराले पाएको नयाँ साइकल अब उसको जीवनको सबैभन्दा दुःखद् उपहार बन्न पुगेको छ, जसले उसलाई सधैँ आफ्नो बुबाको अन्तिम मायाको सम्झना दिलाउनेछ, तर त्यो माया अब भौतिक रूपमा कहिल्यै फर्कने छैन ।
यो घटनाले रामधुनी क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको छ । मानिसको चहलपहल हुने बाटोमा यस्तो क्रूर हत्या हुनुले स्थानीयको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ । यहाँका स्थानीयले दिनेशको हत्यामा संलग्नलाई पक्राउ गरी कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।
शोकमा डुब्यो शिवनगर
सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगरका ४७ वर्षीय सिटी सफारी चालक दिनेश चौधरीको क्रूरतापूर्वक हत्या भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ ।
शनिबार साँझ अज्ञात समूहले चौधरीको हत्या गरेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ र उनीहरूले असुरक्षा महसुस गरेका छन् । मिहिनेती र सरल स्वभावका दिनेशको हत्याले परिवार र आफन्तलाई स्तब्ध बनाएको छ । उनीहरूको आँसु थामिएको छैन । मृतकका परिवार र आफन्तले हत्यामा संलग्न अपराधीहरूलाई चाँडोभन्दा चाँडो पक्राउ गरी सार्वजनिक गर्न र कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरेका छन् ।