नमस्ते भन्ने कि नमस्कार ?

alt
  • पुष ७, २०७६
  • डा. भवानीशङ्कर भट्टराई

‘नमः’ को शास्त्रीय अर्थ हो–जोडिएका दुई हात निधारमा पु¥याई शिरलाई अलिकति झुकाएर गरिने अभिवादन । जसलाई सामान्यतः नमनः, प्रणाम, अभिवादन, नमस्ते, नमस्कार, प्रणति आदि भन्ने गरिन्छ । नमस्तेमा उत्तरोत्तर विशिष्टता थपिँदै जाँदा क्रमशः पादस्पर्श र साष्टाङ्गदण्डवत् हुन्छन् । यही नमस् पदमा तिमीलाई भन्ने अर्थ बताउने ते (सर्वनाम) जोडिएपछि नमस्ते बन्दछ । अतः नमस्तेको अर्थ हुन्छ–तिमीलाई नमस्कार । त्यस्तै नमस् पदमा भावार्थक कार जोडिएपछि नमस्कार शब्द बन्छ, यसले पनि नमनको भाव बताउँछ । यी दुवैले सामान्यतः ठुला मानिस र ईश्वरप्रति गरिने अदब, अभिवादन, सम्मान, नमस्क्रिया आदि शिष्टाचार बताउँछन् ।

नमस्ते र नमस्कारमा कुन जेठो होला भनी खोजी गर्दै जाँदा हामी वेदसम्म पुग्न सक्छौं । त्यहाँ देवतालाई अभिवादनका लागि नमस्ते शब्दको प्रयोग गरिएको पाइन्छ, जस्तै नमस्ते रुद्रमन्यव...(शुक्लय.१६(१), नमस्ते हरसे शोचिषे...(शुक्लय.३६(२०) आदि । वेदमा मात्र होइन उपनिषद्, ब्राह्मणग्रन्थ र विभिन्न पुराणहरूमा समेत देवी देवताहरूलाई वन्दना, स्तुति, अभिवादन, आराधना, प्रार्थना आदि अर्थमा जतासुकै नमस्ते सम्बोधन गरिएको पाइए पनि तत्समानार्थी नमस्कार चाहिँ एकाध ठाउँबाहेक भेट्न सकिएन । नमस्तेको यही प्राचीनता र वैदिकतालाई समातेर आर्यसमाजका अनुयायीहरू विश्वको सर्वप्राचीन, सर्वोत्तम र निर्विकल्प अभिवादन नमस्ते हो भनी तर्क गर्दछन् ।

अब प्रश्न उठ्छ, यति प्राचीन र गरिमामय हुँदाहुँदै पनि विद्वान्हरू नमस्तेको प्रयोग किन गर्दैनन् त ? यसको कारण नमस्का पछाडि रहेको ‘ते’ पदले तिमीलाई भन्ने अर्थ बताएर हुनसक्छ । कोही पनि शिक्षित आफ्ना मान्यलाई तिमी भन्न चाहँदैन । मान्यवर्ग पनि त्यस्तो सुन्न रुचाउँदैनन् । त्यसैले प्रत्यक्ष शिष्टाचारमा नमस्तेलाई त्यति मानमनितो गरिँदैन जति नमस्कारलाई गरिन्छ । त्यसो भए वेद उपनिषद् आदिमा प्रयुक्त नमस्ते पनि हेय हो त भन्ने जिज्ञासा उठ्न सक्छ, त्यसको उत्तर पनि सरल छ । आँखाले नदेखिएका ती देवी देवतालाई अप्रत्यक्षतः नमन भन्ने अर्थमा, कतै भावावेशमा र कही स्तुति प्रार्थनामा त्यसो भनिएको हुनुपर्दछ, जसरी हामी ‘आदि शङ्कराचार्य अद्वैत वेदान्त दर्शनका व्याख्याता थिए, उनले धेरैलाई सन्यासी बनाए’ आदि वाक्यमा अप्रत्यक्षतः महापुरुषलाई पनि सामान्य आदरार्थी क्रियाको प्रयोग गर्छाैं, अत्यन्तै भावुक भएर ईश्वरलाई पनि त्वमेव माता च पिता त्वमेव (तिमी नै माता र पिता पनि तिमी नै हौं) भनिरहेका हुन्छौं । तसर्थ, प्रत्यक्ष र अप्रत्यक्ष शिष्टाचार पृथक् पृथक् विषय हुन् भनेर बुझ्नु उपयुक्त हुन्छ ।

विद्वान्हरू नमस्तेका तुलनामा नमस्कारलाई अधिक सात्विक तथा औपचारिक मान्छन् । नमस्तेमा ते (जसको अर्थ तिमीलाई हुन्छ) शब्द प्रयोग भएको छ, त्यसैले नमस्कार गर्ने व्यक्तिबाट मान्यजनलाई तिमी भनिँदा अपमानबोध हुनसक्छ भन्ने उनीहरूको बुझाइ हुनुपर्दछ । त्यसका तुलनामा दोस्रामा सम्बोध्य व्यक्ति निरपेक्ष भएकाले त्यो अधिकतर सात्विक छ भन्ने तर्क हुनुपर्दछ, किनभने नमस्कार श्रद्धाको विषय हो । श्रद्धा त्यतिबेला मात्र प्रकट हुन्छ जतिबेला नमस्कर्ता श्रद्धापूर्ण र अहङ्कारशून्य बन्छ ।

नमस्कार गर्ने व्यक्ति अनजान र निष्कपट नै भए पनि उसले उच्चारण गरेको गलत शब्दबाट सम्मान्य व्यक्तिमा चोट नपुग्ने अवस्था रहन सक्दैन त्यसैले नमस्ते शब्दप्रति विद्वत्वर्गको लगाव शून्यप्रायः भएको हुनुपर्छ । आर्यसमाजीद्वारा अधिक प्रचारित नमस्ते हेय हुनाको अर्को पनि कारण छ, उनीहरू साना ठुला सबै प्राणीमा ईश्वर समान रूपमा रहने भएकाले सबैलाई उही किसिमले श्रद्धापूर्वक नमस्ते गर्नुपर्दछ भनेर तर्क गर्दछन् । यो कुरा सुन्नमा मधुर भए पनि व्यवहारतः लागू गर्न कठिन छ, किनभने मानिसले चर अचर सबै प्राणीलाई समान श्रद्धा र सम्मान गर्न सकेको छैन, त्यसकारण जजसलाई सम्मान गर्न सकिन्छ तिनीहरूलाई मात्र नमस्ते भनौं भन्ने अरूको तर्क हो । जसका कारण भारतवर्षका मानिसहरूले शिष्टाचारमा प्रयोग गर्न योग्य सर्वसम्मत शब्द आजसम्म पनि पाएका छैनन् ।

त्यसो त नमस्तेलाई धोई पखाली चोख्याउनेहरूको जमात पनि सानो छैन । उनीहरू भन्छन्– नमस्ते शब्दलाई नमः अस्ते मिलाएर पनि बनाउन सकिन्छ, जसको अर्थ हुन्छ–अस्ते (अस्त शब्दमा ‘मा’ अर्थ दिने एकार लागेपछि बन्ने रूप),अस्त भएको समयमा÷अस्त हुँदा तपाईंलाई नमन छ । यहाँको अस्तले सूर्यास्तलाई सङ्केत गरेको छ, यसको तात्पर्य हुन्छ, छुट्नु । त्यसैले नमस्तेलाई बिदाइमा प्रयोग गर्नु राम्रो हुन्छ भन्ने उनीहरूको तर्क छ ।

त्यसो भए भेटमा के भन्ने होला भन्दा उनीहरू तर्क गर्छन्– आर्यसंस्कृतिमा उदाउँदै गरेका सूर्यलाई नमस्कार गर्ने चलन छ, जुन योगमा पनि सूर्यनमस्कार मुद्राका नामबाट प्रसिद्ध छ, यो हाम्रा लागि आदर्श हो, त्यसैले भेटमा नमस्कार भन्नु शास्त्रसम्मत हुन्छ । यसरी नमस्तेलाई जबर्जस्ती अथ्र्याउने प्रयास गरिएको भए पनि माथिको प्रक्रियाबाट नमस्ते शब्दको निर्माण असम्भव देखेर होला भाषाविद्हरू भने शब्दनिर्माणको उक्त प्रक्रियालाई ठाडै अस्वीकार गर्दछन् ।

व्याकरणका सूत्रले नमस्ते शब्दको निर्माण जसरी गरून्, नमस्तेमा आएको सर्वनाम अनादरवाची वा जेसुकै होस्, नेपाली समाज भने नमस्तेलाई नै बढी रुचाउँछ । बिहानै रेडियो÷एफएम खोल्यो, शुरुमा नमस्ते नै सुनिन्छ, शुरुमा मात्र होइन अन्त्यमा पनि प्रस्तोताहरू नमस्ते नै भन्दछन् । नेपाली तथा हिन्दी टिभीका मनोरञ्जन कार्यक्रममा यसो रिमोट घुमायो, त्यहाँबाट पनि नमस्ते नै खानुपर्छ । तै सभासमारोहका भाषणबाज र प्रस्तोताहरू चाहिँ नमस्कार भन्छन् कि भनेर उनीहरूलाई सुन्न घाममा घण्टौं पर्खियो, उनीहरू पनि मुखबाट फुत्तै नमस्ते नै निकाल्छन् ।

विद्यालयका कक्षामा चाहिँ नमस्कार सुन्न पाइन्छ कि भनेर ठाँटसँग छि¥यो, विद्यार्थीहरू ‘नमस्ते सर !’ भनिहाल्छन् । आफूले स्नेह गर्नुपर्ने मानिसका घरका ढोकामा पुगेर भित्र को छ हँ ? भनेर प्रश्न तेस्र्यायो, भित्रबाट निस्कने पात्रले जम्लाहात गर्दै हत्त न पत्त भनिहाल्छ– नमस्ते । होटल रेस्टुरेन्टमा छि¥यो, रिसेप्सनिस्ट र वेटरले व्यापारिक मन्द मुस्कानबीच फुत्त निकाल्छन्–नमस्ते हजुर । प्लेनमा पस्यो, त्यहाँका तन्नेरीहरू आफ्ना दुई हात चिउँडोसम्मै पु¥याएर साना बच्चालाई पनि नमस्ते भनिहाल्छन् । शास्त्रले जेसुकै भनोस्, परम्परा जेसुकै होस्, हाम्रो समाज सामूहिक सम्बोधनमा, व्यक्तिगत शिष्टाचारमा, प्रत्यक्ष वा अप्रत्यक्ष भेटघाटमा नमस्ते शब्दकै प्रयोग गर्छ । लोकलाई व्याकरण चाहिएको छैन, उसलाई त उच्चारण गर्न सरल, मिठो, चकलेटजस्तै गुलियो र बालकदेखि वृद्धसम्मले मन पराउने सरल र चुस्त (स्लिम) शब्द चाहिएको छ । त्यस्तै शब्दमध्येको एउटा हो नमस्ते पनि । लोकलाई नमस्कार लामो, गह्रुङ्गो, झन्झटिलो, शास्त्रीय र अप्ठ्यारो भएको छ, त्यसैले यो विस्तारै जनमानसबाट टाढिँदै गएको हुनसक्छ ।

गह्रुङ्गो भो भन्दैमा नमस्कार शब्दको प्रयोग पटक्कै हँुदै नहुने चाहिँ होइन, भारतीय अभिनेता अमिताभ बच्चन सोनी टिभीबाट कार्यक्रम प्रसारण गर्दा शुरु तथा अन्त्यमा नमस्कार भन्छन्, नेपाली टिभीका समाचार वाचकहरू नमस्कार भनेरै समाचार शुरु गर्छन् । विद्वान्हरू पनि सम्बोधनमा प्रायः नमस्कार नै प्रयोग गर्छन् । त्यस्तै प्राज्ञिक र भाषाविद्हरू पनि नमस्कारलाई नै अधिकतर चलाउँछन् । यी दुईको तुलनाबाट पनि नमस्कार एवम् नमस्तेका प्रयोगकर्ता र क्षेत्र फरक छन् भन्ने बुझ्न सकिन्छ, अर्थात् लोक नमस्तेलाई चुस्त दुरुस्त र तन्दुरुस्त देखेर मन पराउँछ भने विद्वत्वर्ग चाहिँ नमस्कारलाई शास्त्रीय, शुद्ध तथा सात्विक मानेर प्रयोग गर्न रुचाउँछ । यी दुवैमा आ(आफ्नै तर्क छन्, दम छन्, मिठास छन् अनि सौन्दर्य छन् । लोक भन्छ– शुद्धाशुद्धि, मान–अपमान जेसुकै होस्, बुझ्नुपर्ने भाव हो, यो बुझिएकै छ, नमस्ते हजुर भन्दा कसैले पीठ फर्काएको आजसम्म पाइएको छैन भने अरूले किन विवाद गर्नु ? भाषाविद्हरू कुर्लिन्छन्– अशुद्ध उच्चारण गरेकाले वृत्रासुरले मर्नुप¥यो, त्यसैले अशुद्ध र भावदूषित शब्द पटक्कै उच्चारण नगर्नू...।

नमस्ते र नमस्कार दुवै श्रद्धाका विषय हुन् । तसर्थ लिने र दिने दुवैमा श्रद्धा छ÷छैन यो चाहिँ अधिक महŒवपूर्ण कुरा हो । लिनेले श्रद्धापूर्वक लिएन वा दिनेले पनि श्रद्धापूर्वक दिएन भने नमस्ते, प्रणाम, दर्शन, चरणस्पर्श, साष्टाङ्गदण्डवत् कुनैको पनि काम छैन । त्यसकारण नमस्ते मनोविज्ञानमा श्रद्धा बढी महŒवपूर्ण देखिन्छ । अर्को कोणबाट हेर्ने हो भने नमस्ते चाकडी मनोविज्ञान पनि हो । गतिशील मानिस जब कुनै अलभ्य वा दुर्लभ कुरालाई प्राप्त गर्ने उद्देश्य राख्छ तब नमस्तेलाई हतियारका रूपमा प्रयोग गरिरहेको हुन्छ । यसबाट हजारौं मानिसले आफ्ना इष्टदेवलाई रिझाएका पनि छन् । यहाँ नमस्ते भन्यो कि नमस्कार महŒवपूर्ण हँुदैन, श्रद्धा र चाकडी चाहिं मुख्य बन्छ ।

नमस्ते र नमस्कारमध्ये कुन प्रयोग गर्ने भन्ने सन्दर्भमा प्रत्यक्षता र अप्रत्यक्षता महŒवपूर्ण छन् । देवतालाई अप्रत्यक्ष रूपमा नमस्ते भनिएझैं कुनै व्यक्ति वा समुदायलाई अप्रत्यक्ष सम्बोधन गर्दा नमस्ते भन्न सकिन्छ । अथवा, स्नेहीजनलाई अभिवादन गर्नुपर्ने अवस्थामा पनि नमस्ते भन्नु राम्रो होला, तर मान्यजनलाई प्रत्यक्ष सम्बोधनमा भने नमस्कार भन्नु नै उपयुक्त हुनेछ भन्ने यस पङ्क्तिकारको ठहर रहेको छ ।

धरानमा कार दुर्घटना ...

धरान / धरान–८ स्थित गोर्खा डिपार्टमेन्ट स्टो ...

चौरजहारी घटनामा लिम् ...

धरान । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय ...

धरानमा आए नयाँ डिएसप ...

धरान । धरानमा नयाँ डिएसपी सरुवा भएर आएका छन् । आज (शुक् ...

रुकुमको घटनालाई लिएर ...

धरान । रुकुम पश्चिम चौरजहारी नगरपालिकामा हत्यामा जातीय ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved