ल्होछार अर्थात ल्हो भन्नाले नयाँ अनि सार भन्नाले वर्ष, आउनुहोस् आजको यो २८५४ औं सोनाम ल्होछारको उपलक्ष्यमा हर्ष अनि शुभकामना साटासाट गरौं ।

तामाङ समूदायबारे लेखिएका विभिन्न पुस्तकहरु अनि शोधहरु अध्यन गर्दा 'ता' भन्नाले घोंडा अनि 'माङ' भन्नाले लडाकुहरु भन्ने बुझिन्छ । यसअर्थमा घोडचढीमा निपूर्ण साहसीहरुको समूदाय तामाङहरु वास्तवमै आफ्नो साहस, विरता अनि रण कौशलताकालागि नेपालमा मात्र नभई संसारभरि प्रचलीत छन् । 'ल्होछार' शब्द 'ल्हो' अर्थात् वर्ष वा साल र 'छार' वा 'सार' अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ । यस दिन तामाङ समूदायले विशेष परम्परागत अनि साँस्कृतिक महत्वकासाथ ल्होछार मनाउँदछन् । यसरी नेपालको उच्च पहाडी भेग र पहाडि भेगमा बसोवास गर्ने तामाङ समूदाय लगायत उत्तर छिमेकी मुलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढार्इ गर्दै नयाँ वर्ष मनाउने गर्दछन् ।

तामाङहरुलाई प्रकृतिप्रेमी समूदायकारुपमा चिनिन्छ, विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । यस समूदायमा आज छोरीचेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ । विक्रम सम्वत् २०६४ साल यता सोनाम ल्होछारलाई राष्ट्रिय पर्वस्वरुप नेपाल सरकारले सार्वजनिक विदा दिंदै आएको छ । सोनाम ल्होछार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरुले समेत शुभकामना सन्देश दिने चलन छ । ल्होछार मनाउने समूदायमा 'ल्हो' अर्थात् वर्षहरु बाह्रवटा हुन्छन् । ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ, मुसाबाट शुरु हुने यि वर्षहरु जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ । बाह्र वर्गका वर्षहरुलाई बाह्र राशीका रूपमा पनि लिने गरिन्छ ।

नेपालमा ल्होछार मनाउने प्रचलन चीन तथा चीन प्रशासित राज्यबाट भित्रिएको मानिन्छ, किनभने चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई बिभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समूदायले चिनीयाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्दछन् जसलार्इ 'चन्द्र पात्रो' भनिन्छ । बौद्ध धर्म अनुसार तामाङ जाती महायान सम्प्रदायका हुन् । तामाङहरुका अलवा ल्होछार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउदछन् ।

गुरुङले मनाउने ल्होछारलाई तोला ल्होछार, तामाङ लगायतका जातिले मनाउनेलाई सोनाम ल्होछार, शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होछार भनिन्छ । सोनाम ल्होछार पर्व तामाङ जातीहरु पुगेका नेपाल सहितका अन्य मुलुकहरु सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा मनाइदै आएको छ । आजको दिन यी देशहरुका अधिकांश वौद्धविहारहरु रगिंन र उल्लासमय हुन्छन्, रंगीन सजावटका ध्वजा पताका अनि पुष्पद्वारलगायत अन्य मनमोहक सजावटले आज वौद्धविहार बडो गज्जब देखिन्छ । मुख्यतया डाँडाकाँडामा भएका नेपाली वाैद्धविहारहरुमा गरिएको यस्तो सजावटले परैबाट आँखा तान्दछ, असिम आनन्दको अनुभुती हुन्छ ।

तिथी अनि मितीको तलमाथिले चाडपर्वको दिन अनि समय फरक पर्नु कुनै नयाँ कुरा होइन र यो शदियौं देखि भइआएको छ । यसपाला पनि तिथी अनि चन्द्र पात्रो अनुरुप आजको दिन नमिलेकाले सोनम ल्होछार फाल्गुन ४ मा ग्याल्बोसंगै मनाउने तथ्य पनि आएको छ ।

चन्द्र पात्रो र सौर्य पात्रोको वर्ष आंकलनमा मलमासको महिना पर्न गएमा ल्होछारको दिनमा फरक पर्न जानेगर्दछ । यसै कारणले पनि नेपालमा ल्होछारको दिनका बारेमा बिभिन्न दुबिधा रहने गरेको पाइन्छ । यस वर्ष पनि मलमास परेको र मञ्जुश्री संवत् अनुरुप माघ शुक्ल प्रतिपदा फाल्गुन ४ मा पर्ने भएकाले त्यस दिन पनि सोनम ल्होछार र ग्याल्बो ल्होछार एकैदिन मनाइने जानकारी हामीलाई नेपाल तामाङ घेदुङका अध्यक्ष, मोहन गोले तामाङज्यूले दिनुभएको छ । मञ्जुश्री संवतको आधार चन्द्र पात्रो भएकाले सौर्य पात्रोसंग यसको तालमेल मुख्यतया मलमासको आंकलनले फरक पार्ने वहाँले बताउनुभयो ।

मलमासको एक महिना अर्थात ठ्याक्कै ३० दिनको फरक पर्न गएकाले माघ ४ र फाल्गुन ४ गरि दुई दिनमा एकै पर्व मनाइने भएको छ । चन्द्र पात्रो अनुसार माघ ४ पौष शुक्ल प्रतिपदा हो र माघ शुक्ल प्रतिपदा फाल्गुन ४ मा पर्ने भएकाले यस वर्ष चन्द्र पात्रो अनुरुप फाल्गुन ४ मा मात्रै अधिकारिक सोनम ल्होछार मनाइने कुरा पनि मोहन गोलेज्यूले बताउनु भयो ।

माघ ४ पनि विक्रम संवत् अनुसार माघ शुक्ल प्रतिपदा भएकाले यस संवत अनुरुप भने सोनाम ल्होछार हो, संवतले जेसुकै भनोस् शुभकामना अनि रौनकको यस ल्होछारको महिनाभरि नै सबैलाई स्वागत छ ।

सोनाम ल्होछारका अवसरमा घर बस्तीहरु सफा गरी वुद्धका चित्रहरु अंकित ध्वजापताकाहरु टाँगेर वुद्धको पूजाअर्चना गरिन्छ । कतिपय ठाउँमा जात अनुसारका गाउँका लामा र मुखियाको उपस्थितमा सबैजना एकै ठाउँमा भेला भई नाचगान रमाईलो पनि गरिन्छ । यसरी गाईने अनि नाचिने गीतहरूलार्इ 'तामाङ सेलो' भनिन्छ, सुस्तरि तर वडो मधूररुपमा गाईने यस्ता सेलोहरुमा डाँडापाखा, कन्दरा अनि दैनिक जीवन भोगार्इ लगायत माया प्रेमका भावनाहरु पनि समावेश हुन्छ । डम्फु चाँही यस समूदायको हस्ताक्षर बाजा नै हो । डम्फू अनि सेलोको सुमधूर मिश्रण मनमोहक हुन्छ । धेरैजसो यस्ता सामूदायीक कार्यक्रमहरु खुला आकाशमुनि गरिन्छ, परम्परागत पहिरनमा सजिएका तामाङ समूदायका ब्यक्तिहरु लगायत अन्य सबै समूदाय अनि सबै धर्मका ब्यक्तिहरुलाई यस समूदायले खुल्ला हृदयले स्वागत गर्दछन् ।

नकारात्मक तत्वहरुलाई हटाउनकालागि, आशा जगाउने सकारात्मक तत्वहरु अनि शक्तिहरुलाई डाँक्नकालागि आज विभिन्न तान्त्रिक विधी अनि मुखौटा लगाएर नृत्य पनि गरिन्छ ।

लामाहरुसंग आशिष लिएर आजको दिन वर्षभरिकालागि शुभ साईतको अपेक्षा राखिन्छ, काठमाण्डौमा भने आजको दिन टुँडिखेलबाट र्‍याली निकालिन्छ अनि तिन दिन लामो मिस तामाङ कार्यक्रमको शुरुवात पनि गरिन्छ । यसरी विभिन्न कार्यक्रम लगायत मेलाहरु आयोजना गरिँदै अनि शुभकामनाहरु आदान प्रदान गर्दै तामाङ समूदायले सैयौं वर्ष पुरानो आफ्नो संस्कार अनि पहिचानलाई पुस्तौं पुस्तासम्म सफलतापूर्वक कायम राख्दै आएका छन् । सुँगुर, हाँस, कुखुरा, खसि लगायतका विभिन्न परिकारका मासुहरु तैयार पारीने यस विशेष उत्सवमा विभिन्न गुलिया मिठाईहरु बनाएर आजको दिन घरघरमा भोज गर्ने अनि आफन्त भेट्ने चलन रहेको छ । सामूदायिक रुपमा पनि समूदायका सबैजना एकैठाँउमा भेला भएर चाडबाड मनाउने अनि सरल अनि सभ्य रुपमा मिलनसार प्रवृत्तिको संस्कार अनि सन्देश दिने तामाङ समूदायहरु वास्तवमै एउटा अनुकरणीय समूदाय हो ।

सोनाम ल्होछारको शुभकामना ! असल कामनाहरु अनि आशाहरुले सबैलाई पछ्याओस्, चन्द्रमा दाहिने हुन् ।

सुयोग ढकाल/हाम्राे पात्राेबाट