धरान । पाकेको बाली घरभित्र थन्क्याउने बेलामा आकाशमा कालो बादल मडारिँदा मोरङ कानेपोखरी गाउँपालिका– ३ हरकपुरका किसान परशुराम चौधरीको मन पनि कटक्क खान थालेको छ । उनी भन्छन्, “धान काट्न जनबनी गर्नेलाई बोलाइयो । आकाश धुम्म भएकाले काट्नै सकिएको छैन ।”
किसानलाई यतिबेला धान थन्क्याउने चटारो छ । तर पाकेको बाली काट्न सकेका छैनन् । धान खुरिएर जाला भन्ने पिरमा छन् । त्यही पिरमा चौधरी पनि छन् । “दुई दिन भयो । पानी आउलाजस्तो गरी धुम्मिइरहेको छ । शीतजस्तै गरी पानी झर्दै छ । धान काट्नै देको छैन ।” यतिबेला जल तथा मौसम पूर्वानुमान महाशाखाले वर्षा हुने भएकाले सचेत रहन आग्रह गर्दै आइरहेको छ ।
बङ्गालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार पश्चिमी वायु र मोन्थाको आंशिक प्रभावले विभिन्न स्थानमा वर्षा भइरहेको जनाएको छ । बिहीबार राति पनि पानी पर्ने महाशाखाको प्रक्षेपण छ ।
सोही कारण कोशी प्रदेशसहित विभिन्न प्रदेशमा पानी परिरहेको छ भने कतिपय ठाउँमा धुम्म भइरहेको छ । “अगि राति पनि पानी आयो । अहिले पनि आइहाल्ला जस्तो भइरहेको छ । पानीले दुःख दिने भो । धान एकदम पाकेर काट्ने बेला भइसक्यो”–तिहारलगत्तै काट्ने तयारीमा लागेका चौधरीले थपे । उनीमात्रै हैन, गाउँका अधिकांश किसानको समस्या यस्तै रहेको सोही ठाउँका अमर तामाङ बताउँछन् । “काट्दा हुने हो तर पानी आउन खोजेको छ । दुई दिन भयो । कसै कसैले धान काट्ने तयारी पनि गरेका थिए” उनले भने, “धानलाई असर गर्लाजस्तो छ ।” यो वर्ष वर्षायाममा पानी नपरेर किसानहरू मर्कामा परेका थिए भने अहिले पाकेर काट्ने बेलामा पनि उस्तै समस्या भोगिरहेका छन् । सुनसरी वराहक्षेत्र नगरपालिका–५ कालाबञ्जारका प्रदीप बास्मैत भन्छन्, “पानीले खत्तम गरिदिएको छ । सबैको धान पाकी नै सकेको छ । काट्ने बेला भइसक्यो ।” उनका अनुसार मौसम विभागको प्राविधिक सूचनाका कारणले किसानलाई डरमर्दो अवस्था रहेको छ । “अढाई बिघामा धान खेती गरेको छु । पानी आइहाल्ला कि भनेर डरले धान काटेका छैनौँ । यस्तै रहिरहे किसान मर्कामा पर्छन्”–उनले भने ।
यतिबेला अधिकांश क्षेत्रका किसानहरू त्रासमा छन् । विशेषगरी धान खेती पहाडी क्षेत्र तथा तराई क्षेत्रमा गरिन्छ । तराईको झापा, मोरङ र सुनसरी धान पकेट क्षेत्रको रूपमा चिनिन्छ । “पानीले चाहिँ किसानहरू त्रासमै छन् । भएको पनि जाने हो कि भन्ने डर छ”–बास्मैतले थपे । यता झापामा पनि उस्तै समस्या छ । किसानले यो वर्ष पानी नपरेका कारणले जसोतसो बाली लगाएका थिए । बालीमा किराको प्रकोप पनि उस्तै गरी छ । अर्कोतिर काट्ने बेलामा पानी परेका कारणले झन् समस्या होला भन्ने त्रासमा किसान रहेको शिवसताक्षी नगरपालिकाका किसान हरिबहादुर श्रेष्ठ बताउँछन् । “छिमेकीहरूले त काटी पनि सकेका थिए, अहिले आएर पानी पर्लाजस्तो भइरहेको छ । सिमसिम पानी परिरहेको छ” उनले सुनाए, “मैले चाहिँ पानी आउला भनेरै एक–दुई दिन ढिला गरी काट्ने सोचमा छु ।”
यो वर्ष देशभर भदौ ८ गतेसम्म करिब ९५ प्रतिशत मात्रै धान रोपाइँ भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भदौ ८ गते देखिएको तथ्याङ्कअनुसार ९४ दशमलव ९ प्रतिशत भू–भागमा मात्रै रोपाइँ सकिएको थियो । नेपालभर कुल १३ लाख ७६ हजार चार सय ६६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । भदौ ८ गतेसम्म कोशी प्रदेशमा ९७.२४ प्रतिशत मात्रै रोपाइँ भएको थियो । धान उत्पादनका हिसाबले सबैभन्दा बढी खेतीयोग्य जमिन रहेको मधेश प्रदेशमा कुल ३ लाख ७० हजार १ सय ४५ हेक्टर धान खेतीयोग्य जमिनमध्ये हालसम्म ८६.३५ प्रतिशत मात्रै रोपाइँ भएको थियो । गतवर्ष भदौको सुरुवाती अवस्थामै ९८ प्रतिशत रोपाइँ भएको थियो ।
 
                     
         
                                        
                                                                                                 
        































