धरान । जेन जी प्रदर्शनलाई देशको भ्रष्ट शासनले सिर्जना गरेको ‘जेनेरेसन ग्याप’ को कारण नयाँ पुस्तामा उत्पन्न विद्रोहको भावना प्रकट भएको रूपमा लिनुपर्ने बुद्धिजीवीहरूले बताएका छन् ।

जेन जीको नाममा भएको राष्ट्रिय विध्वंसले राजनीतिक मात्र नभएर मुलुकको आर्थिक क्षेत्रलाई धरासायी बनाएको उनीहरूको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष किशोर प्रधानले भने, “यो शासनमा भ्रष्टाचार बढेर दुई पिँडीबीच सोचाइको अन्तरले गराएको विद्रोह हो । कुनै पनि विद्रोह, आन्दोलनमा गलत लाभ लिने तŒवको घुसपैठ हुन्छ, त्यसले गरेको राष्ट्रिय विध्वंसले देशको अर्थिक क्षेत्रलाई धरासायी बनाएको छ ।”

धरान विचार मञ्चद्वारा आइतबार आयोजित ‘जेन जी आन्दोलनः असर, परिणाम र मुलुकको राजनीतिक भविष्य’ विषयक छलफलमा उनले भने, “विद्रोहपछि बढेको राजनीतिक अनिश्चितालाई राजनीतिक दलहरूले सहजरूपमा निकास नदिए यो शून्यताले अर्को विद्रोह हुने सम्भावना बढ्छ ।” प्रधानले मुलुकको शासनसत्तामा नेताहरू भेट्नसम्म बिचौलिया, दलालप्रथा बढ्यो, त्यसले भ्रष्टाचार माथिदेखि तल्लो तहसम्म व्याप्त बनाएको बताए । २०६३ देखि दुई दशकमा बढेका भ्रष्ट शासनको अवधिमा हुर्केका नयाँ पुस्ताले विद्रोहबाहेक कुनै विकल्प नदेखेको उनको भनाइ थियो ।

डा. खालिद हुसेन हकले वर्तमान अन्यौललाई निकास दिने दायित्व राजनीतिक दलहरूकै हातमा रहेको बताए । नयाँ पुस्ताको असन्तुष्टिलाई स्वीकार गरी लोकतान्त्रिक ढङ्गले यसको निकास दिन दलहरूबीच सहमति जरुरी भएको उनको भनाइ थियो । मञ्चका अध्यक्ष डा. आनन्द आचार्यले “जेन जी विद्रोहपछि सिर्जना भएको राजनीतिक शून्यतालाई निकास दिन देशका एउटै कङ्क्रिट (ठोस) धारणा बनाउनु आवश्यक छ ।” उनले आन्दोलनले ल्याएको अन्तरिम सरकारलाई सहयोग गर्दै घोषित मितिमा प्रतिनिधिसभाको चुनाव सम्पन्न गर्नु नै मुलुकलाई चाँडोभन्दा चाँडो मुलुकलाई सहज निकास दिने एक मात्र विकल्प भएको बताए ।

उनले भने, “संविधानको रक्षा नभए मुलुक फेरि अस्थिरतामा जान्छ, संविधानदेखि बाहिरको कुरा ल्याएर चुनावमा अवरोध गर्नु हुन्न ।” प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रसङ्गमा उनले अहिलेसम्म संसारमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री नभएको बताए । अहिलेको मुख्य सवाल भ्रष्टाचार, कुशासनको अन्त्य मात्र भएको बताउँदै भने, “जेन जीको विद्रोह त्यसैका लागि भएको र विद्रोह स्वभाविक थियो ।”

नवगठित संस्थाका अध्यक्ष डा.आनन्द आचार्यले संस्था गठनको उद्देश्यबारे स्पष्ट गर्दै भने, “धरान करिब करिब दुई दशकदेखि विशेषगरी आर्थिक र प्रशासनिक क्षेत्रमा विकासका दृष्टिले पछाडि पर्दै गैरहेको छ । त्यसैले वैचारिक र क्रियाशीलताका पक्षबाट धरानको समग्र विकासको उद्देश्यलाई मुखरित गर्ने उद्देश्यले धरान विचार मञ्चको गठन भएको हो ।” कोशी प्रदेश सभा सदस्य रमेशकुमार बस्नेतले तोकिएको मितिमा चुनाव गराउन अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नै पहल नगरेको आरोप लगाउँदै भने, “चुनाव हुने सम्भावना छैन ।” प्रधानमन्त्रीले दलहरूसँग चुनावका लागि संवादसमेत नगरेको उनले बताए ।

निर्वाचनका लागि पहिलो शर्त शान्ति सुरक्षाको हुने बताउँदै उनले शान्ति सुरक्षाको ग्यारेन्टी दिन प्रहरी सुरक्षा निकायको अहिले मनोबल घटेको छ । विध्वंस गरिएका भौतिक पुनस्र्थापना भएको छैनन् । यस्तो विद्यमान अवस्थामा समयमै चुनावको आशा गर्नु कठिन कुरा भएको उनको भनाइ थियो । नेपाली काङ्ग्रेस सुनसरी–१ का सभापति सुजेन्द्र तामाङ जेन जीको नाममा भएको तोडफोड, लुटपाट, आगजनीका घटनाको कारबाही नभएको बताउँदै अपराधीहरू खुला हिँडिरहेको अवस्थामा राजनीतिक दलहरू संयम बनेर बसेको बताउँदै भने, “अहिलेको अवस्था सिभिल वारको पूर्वसन्ध्यामा पुगेको जस्तो देखिन्छ ।”

सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल श्रेष्ठ, पूर्व अध्यक्ष गौरीशङ्कर अग्रवालले आन्दोलनको नाममा भएको विध्वंसले उद्योग, व्यापारको क्षेत्रमा लगानी अनिश्चित भएको बताउँदै अनिश्चिताको निकास चाँडो हुुनुपर्नेमा जोड दिए । प्राध्यापक अशोक झाले धरान विचार मञ्च धरानको बौद्धिक, प्राज्ञिक धारणा निर्माण गर्न स्थापना भएको बताए । कार्यक्रममा स्वागत भाषण कोषाध्यक्ष रक्मिणी मास्केले गरेकी थिइन् । सञ्चालन महासचिव विजय श्रेष्ठले गरेका थिए । अध्यक्ष आनन्द आचार्यले मञ्च स्थापनाको अवधारणपत्र प्रस्तुत गरेका थिए ।