बाला चर्तुदशी

सुयोग ढकाल

यस बर्षको बाला चर्तुदशी को पनि मिती यसै दिनमा परेको छ, अब आजको प्रसंगमा जोड्न जाँदैछौ बाला चर्तुशीका परम्परा अनि उत्सर्गहरु । आज शतवीज ज छर्ने हो, आज मसिंर कृष्ण चर्तुदशी अर्थात बाला चर्तुदशी पनि भनिन्छ र आजको दिन मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राकालागी अत्यन्त महत्पूर्ण दिनका रुपमा मानिन्छ । नेपाल अनि भारतका विभिन्न शक्तिपीठ अनि त्रिवेणी धामहरुमा आज शतवीज छर्ने तिर्थालुहरुको घुईँचो रहनेगर्दछ ।

शतवीज भन्नाले पितृ उद्धारकालागी धार्मीक बनहरु जस्तै कैलाश डाँडा, श्लेष्मान्तक बन अनि अन्य बनहरुमा गई छर्ने सातप्रकारको अन्नहरु पर्दछ । यस्ता अन्नहरुमा धान, गहुँ, मास, मुगी, कागुन, र सामा मिलाईएको सप्तधाना यूक्त शतवीज र विभिन्न प्रकारका फूलहरु रहनेगर्दछ । शतवीज छर्नेकुरामा ठाँउअनुसार आफ्ना आफ्नै चलनहरु रहेको पाईन्छ र माथी उल्लेख गरेका अलावा चना, तील, मकैहरुपनि राखेर शतवीज छर्ने चलन रहेको छ भने अन्नका साथसाथै कागती, निबुवा, विमिरो, सुन्तला, स्याउ, उखु, अम्बा,केरा पनि राख्ने चलन रहेको छ । यसरी शतवीज छर्नकालागी चर्तुदशीभन्दा एकदिन अगाडिनै अर्थात त्रयोदशीकै दिन राती जाग्रामवसेर दिप प्रज्वलन गर्दै अनि भजन किर्तन गर्दै आँखा झिमिक्क नपारी भोलीपल्ट विहानै स्नान गरेर चोखोनितो बनेर मात्र शतवीज भर्ने चलन छ । यसरी पृथ्वीलोकमा छरिएको शतवीज चाँही पितृहरुको लोकमा गएर अकुंरण हुने र यिनै विजकाकारणले पितृहरु कहिल्यै भोकै बस्न नपर्ने मान्यता रहेको छ ।

काठमाडौको पशुपतिनाथ अनि आसपासका किरातेश्वर, गौरीघाट, गुहेश्वरी, आर्यघाटको तट, श्लेषमान्तक बन लगायत पूर्वी नेपालको चतरा, बराहक्षेत्र, पर्वत जिल्लाको सेतीवेणी धाम, गुल्मी शान्तिपुरको चक्रेश्वर मन्दिर, नवलपरासीको देवघाट धाम, धनुषाको क्षिरेश्वर लगायत देशभरिका शिवालय एवं त्रिवेणी धामहरुमा विशेष घुईँचो अनि मेला लाग्ने गर्दछ । पितामाता या पितामह या मातामह अर्थात हजुरवुवा अनि हजुरआमा या सातपुस्ता भित्र जुठो बार्न पर्ने जो कोहीको पनि जुठो बार्ने या बर्खि बार्ने क्रममा पूरा गर्नुपर्ने नियम पुरागर्न नसकेमा या कुनै त्रुटीभएमा बाला चर्तुदशीको दिन पवित्र खोलामा तिनफेर डुबुल्की मारेर चोखो भई शतवीज छर्नाले र त्रयोदशीमा जाग्राम वसेर मृतात्माको नाममा दिप प्रज्वलन गर्नाले सम्पूर्ण दोषवाट मुक्तिपाउने जनविश्वास रहेको छ ।

यसरी दिप प्रज्वलनगर्न शिवालय या शक्तिपीठ नै पुग्ननसकेको खण्डमा मृतात्माको नाममा घरमै श्रद्धाकासाथ वत्ति प्रज्जवलन गरेर, दुना या टपरीमा बत्तिलाई राखी माथीवाट ज्वाला निस्कने ठाँउ दिएर अर्को दुना, टपरी या वोहतीले छोपेर खोलामा वगाउने चलन छ । यसरी सहजै वत्तिवगेको खण्डमा पितृले वैतर्नी तरेको र वत्ति सहजरुपमा नबगेको खण्डमा पितृले वैतर्नी नतरेको मान्यता पनि छ ।

सबैभन्दा रोचक प्रसँग चाही आजको दिन पशुपतिको विश्वरुप मन्दिर छेउको गणेशको मुर्तीसँग समबन्धीत छ । उक्त गणेशको मुर्तीलाई कान नसुन्ने रुपको भगवानका प्रतिकका हिसाबले लिईन्छ र तसर्थ भक्तालुहरु ले जोड जोडले चिच्याएर, कराएर, हल्लाएर उक्त मुर्तीलाई कान सुनाउन खोज्ने चलन र अथक प्रयासहरुले बालाचर्तुदर्शीको अन्त्यमा रोचक महत्व राख्दछ ।

बाला चर्तुदशी एउटा मित्रताको प्रसँग पनि हो, बाला एकजना असुर हुन भनेँ उन्का साथी व्रिसलाई राजाले बाला लाई मार्नकालागी पठाएका हुन्छन् । बाला ले आर्यघाटमा मृतकका आफन्तलाई तर्साउने र मृतकको शव आईदिने गरेकाले जनताहरुले धेरै दुख्ख पाएका हुन्छन् । व्रिसले आफ्नो साथी बाला लाई छलले मार्न उचित ठान्दैनन र मित्रताको न्यानो परिधीभित्र बाला ले जस्तोसुकै असुरभएको भएपनि आफ्नो साथी भएकाले हत्या गर्न नसक्ने भएकाले गएर श्लेषमान्तक बनमा गएर आदिददेव शिवजीको तपस्या गर्दछन् । शिव व्रिसको तपस्याले प्रसन्न भएर बाला लाई असुरजुनीवाट मुक्त गरिदिन्छन् र व्रिसलाई शतवीज छरेर आफ्नो साथी बाला लाई पापवाट मुक्त गराउन आज्ञा दिन्छन् । यसरी शतवीज छर्ने चलन शुरुभएको र आजको यो दिन मित्रताको दृष्टान्तकारुपमा पनि उत्तिकै महत्पूर्ण रहेको कुरा बाला र व्रिसको यो कथाले प्रष्टपारेको छ ।

बाला चर्तुदशीको हामीसबैलाई शुभकामना, मृतात्माहरुले चिर शान्ति पाउन अनि हाम्रो मित्रता कायम रहोस् । फेरि अर्को विशेष चाड या दिनका वारेमा जानकारी लिएर आउनेनै छौ, तवसम्मलाई नेपालको सर्वाधीक डाउनलोड गरिएको अनि नेपालीहरुले अत्याधिक रुचाउनुभएको मोवाईल सहयात्री हाम्रो पात्रो नविराई प्रयोग गर्नुहोला । जयहोस्

बिसं २०७४ मसिंर १ गते

यसपाला नेपालमा भनें जाडो छिटै नै शुरु भयो । तिहार सकिँदा नसकिँदै सिरेटोले छेक्न थालिसकेको थियो हैन र ? यस्तै त हो मौसम, कहिले छिटो त कहिले ढिलो आफ्नो धारमा बहन्छ, त्यस्तै बहन्छन हाम्रा सनातन पर्व अनि उत्सवहरु । दिनहरु क्रमशः छोटा अनि रात लामा हुदैँछन् । छिटै साँझ पर्ने अनि ढिलोगरी विहान हुन थालेको छ । चिसो सिरेटोले घरिघरि जिउमा काँडा उमार्छ, विहानै शितहरुले जमिन भिज्न थालिसक्यो, तोरीका साग, वन्दा काउली, टमाटर अनि इस्कुश जस्ता तरकारीहरु तरकारी बारी या बजारमा प्रसस्तै छन् होला । विहान हिँड्दा आफ्नो मुखवाट निस्किएको वाफ हिंड्दा हिंड्दै, बोल्दा बोल्दै प्रष्टै देखिन थालिसक्यो । जाडो माैसमको पहिलो उपचार न्याना लूगाफाटा जस्तैः टोपी, पञ्जा, मोजा, ज्याकेटहरु टक्टक्याएर दुरूस्त राख्ने बेला यहि हो ।

अाजबाट मंसिर लाग्यो है, यो मंसिर महिना एकदमै रोचक महिना हो, चिसो सिरेटोले मायालू अाभाष गराउने बेला हो । यस्तो माैसमले साहित्यकार, गीतकार, संगीतकारलार्इ पनि मज्जैले बेरेको पाइन्छ र त कोरिएक छन् लोकप्रिय गीतहरू, विशेषगरि जाडो अनि विवाहका बारेमा मंसिर महिना चर्चित छ ।

"मंसिरमा जाडो छ, वैशाखमा ल्याउला" तथा "कान्छीलाई भित्राउने यहि आउने मंसिरमा" जस्ता गीतहरु हामीले सुनिआएका छौं । यो महिना विवाह, व्रतवन्ध अनि अन्य शुभकार्यका साईतले भरिपूर्ण हुनेगर्दछ, कपडा पसल या सुन पसलहरुमा चाप देखिन्छ, बाटोघाटोमा विवाहका गाडी अनि जन्तको हर्षोल्लासपूर्ण सहभागीता, गीत सहितका वैण्ड तथा पञ्चेा बाजाको ध्वनीले चिसोलार्इ तत्कालै तताउन कुनै असर छाड्दैन । ल है! तपाईको विवाह भएको छैन भने यो महिना तपाईकालागि उत्तम हुनसक्छ, लगनगाँठो कस्नलाई समय र सन्दर्भ भन्दापनि लगन र साईत जुर्नपर्छ । मसिंर महिना वैदिक सनातन हिन्दूहरूकोलागि शुभसाईतको राजा महिना हो ।

यसपालाको मंसिर झनै महत्वपूर्ण छ, किनभनें यसपालाको मसिंरले बिवाह या ब्रतबन्धको मात्र साईत ल्याएको छैन्, यस मसिंर महिनाको १० र २१ गते नेपालले आफ्ना प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । यस बर्ष बडो शुभ बर्ष हुन सक्छ र यस बर्ष हामीले छानेका उम्मेदवार हरु ले गरेका राम्रा कार्यले नयाँ नेपालको निर्माण लाई साकार गर्नेछन् । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । मतदान हाम्रो कर्तव्य र अधिकार दुबै हो, मतदान गरेर आफ्नो असल नागरीक को दायित्व पुरा गर्न नभुल्नु होला है ।

आजबाट सूर्य वृश्चिक राशिमा प्रवेश गर्दछ, तसर्थ आजको दिनलाई बृश्चिक संक्रान्ति पनि भन्ने गरिन्छ । हिन्दु पात्रो या क्यालेन्डरमा कुल १२ वटा महिनाका १२ वटै संक्रान्तिहरु हुन्छन् र आजको दिन यो वर्षको आठौँ सक्रान्ति हो । आजको दिनलाई कृषी कार्यकालागि विशेष मानिन्छ । किनकि साउनको मिहिनेतको फल अर्थात् रोपाईं अब भित्राउने बेला पनि भयो । पहेँला लहलहाउँदा धानका बाला हरु कतिले त काटेर घरमा भित्र्याइसक्नुभयो होला या भित्र्याउने तयारीमा हुनुहुन्छ होला! यसपालीको वाली राम्रो होस्, भकारी भरियोस, खान पुगोस् अनि दिन पुगोस् । सबैभन्दा महत्वपूर्ण कुरो विदेशबाट ठूलो धनराशी खर्चगरी अनावश्यक अन्न, दालहिन खाद्यान्न अायात गर्नुनपरोस् ।

नयाँ धानको चिउरा कुटेर, खेतमा पूजाआजागर्ने, दाउनी गरेका ठाँउमा भुमीपाथी पूजागर्ने चढाउने कार्य अाजको विशेषता हो । छोरीचेलीहरुलाई भुमीपाथीकारुपमा धान दिने चलन पनि छ । नयाँ धानको चिउरा उति सेतो नहुन पनि सक्छ तर त्यो चिउरा असाध्यै खँदिलो र स्वादिष्ट हुन्छ ।

अर्कोतर्फ आजको दिनमै नेपाल एकिकरणका योद्धा राष्ट्र नायक राजा पृथ्वि नारायण शाहले नेपाल एकिकरणको घोषणा गरेकाले "नेपाल दिवस"कारुपमा मनाउनपर्ने आवाजहरु पनि सुनिने गरिन्छ, एकिकरण अनि २२से र २४से राज्यहरुलार्इ सिङ्गो नेपालमा गरिएको समायोजनको त्यो इतिहास रोचक अनि प्रेरणादायी छ, हामीले सम्मान गर्नैपर्छ ।

तयार रहनुहोस, विवाहका निम्तोहरु प्रशस्तै आउने छन् यो महिनामा । जन्तमा समावेश भएर जाने विवाह होस् या गोडा धोएर गोडधूवा दिने पक्षमा सामेल हुने विवाह होस्, अवश्य जानुहोला, खुशियाली साट्नुहोला । हाम्रो पात्रोको यो लेखलाई कुनै तातो मरुभुमी या अरब महासागरको किनारमा वसेर पढीरहनुभएको छ या अन्यत्रकतै जाडो ठाँउमै हुनुहुन्छ भनेँ पनि नेपालको सिरेटो, स्याँठ, विहानझर्ने शित, मौलाएको दुबोको पालुवाहरु अनि बारीमा रोपिएका आलुका ड्याङ्ग, पिडालुका गाभा, घ्यू सिमीका लहराहरु अनि भर्खरै धान काटेर रोपिएका गहुँवारी, कोदाका बाला अनि मसुरोकादालका आलीहरुले तपाँईहरुलाई संबोधन गर्दै छन् । सबैलाई शुभकामना, सबैको यो महिनाले श्रीवृद्धि गरोस्, जय होस् ! -हाम्रो पात्रोबाट