गत वर्ष ताप्लेजुङको हेवाखोलामा आएको बाढीका कारण तमोर नदीको गेग्र्यान टाङ्केरास्थित सङ्खामामा थुपारेपछि पानीको सतह बढ्दा खुवालुङ जलमग्न बनेको छ । 

खुवालुङ दर्शनको महत्वपूर्ण समयमा समेत खुवालुङ पानीभित्रै रहँदा दर्शनार्थीले दर्शन गर्न नपाएको गुनासो स्थानीयले गरेका छन् । खुवालुङ अभियन्ता दिनेश खम्बूले किरात राई यायोक्खाले भौतिक संरचना निर्माण गर्ने काम गरिरहेको बताए । यायोक्खाले ३ रोपनी जग्गा खरिद गरेको र २ रोपनी दाताले जग्गा दान गरेको उनले बताए । 

'सरकारसँग हाम्रो माग निश्चय नै हुन्छ, तमोरमा च्यानल खन्दा पानीको सतह बढेको छ, यो समयमा खुवालुङ खुल्नु पर्छ,' अभियन्ता खम्बूले भने, 'स्थानीय सरकार र प्रदेश सरकारले गत वर्ष बजेट विनियोजन गरे पनि काम हुन सकेन । यो काम तत्काल हुनुपर्छ ।' 

हिउँदको समय पुसदेखि जेठसम्म खुवालुङ खुल्ने गरेको खुवालुङ जग्गा खरिद व्यवस्थापन समितिका सदस्यसमेत रहेका खम्बूले बताए। 'वार्षिक रुपमा च्यानल खन्ने काम सरकारले गर्नुपर्छ, यो समुदायको आस्थासँग जोडिएकाले सरकारको नीति र दायित्वभित्र पर्नुपर्छ ।'

गत २७ गते कुम्भमेलाको अवसरमा आयोजित राम मन्दिरको शिलान्यासपछि खुवालुङ अवलोकनका क्रममा पुगेका मुख्यमन्त्री केदार कार्कीले खुवालुङ खोल्ने बारे योजना बनाएको बताए । उनले आगामी १५ दिनभित्र काम सुरु गर्ने बताए । 

प्रदेश सरकारले प्रतिस्थापन विधेयक मार्फत ल्याएको बजेटमा  तुवाचुङ, खुवालुङ र फाल्गुनन्द, आत्मनन्द भनेर पहिचानसहितको सांस्कृतिक सम्पदा सम्वर्धन गर्ने गरी संस्कृति, भाषा र पहिचानलाई समेटेर बजेट ल्याएको मुख्यमन्त्री कार्कीले बताए ।

'धनकुटाको क्याबिनेटमा हामीले खुवालुङको पर्यटन प्रवर्धन र संरक्षणका लागि प्रदेश सरकारले ग्राहयता दिएर काम गर्ने भनेका छौं,' मुख्यमन्त्री कार्कीले भने, 'अहिले तमोरको बाढीले गिटी थुपारेर रोकिएको छ । त्यसलाई कसरी सफा गर्न सकिन्छ भनेर हेर्दैछौं, खुवालुङको डेभ्लप गर्न सकिन्छ भनेर सल्लाहा गर्दैछौं । १५ दिनभित्र यो अब्स्ट्याकल क्लियर गर्नेछौं ।'

गाउँपालिकाको चासो 

सुनसरी, उदयपुर, धनकुटा, भोजपुरको सीमासँग जोडिएको खुवालुङको संरक्षणका लागि साँगुरीगढी गाउँपालिकाले चासो देखाउँदै आएको छ । गाउँपालिकाले खुवालुङ आफ्नो क्षेत्रमा पर्ने बताउँदै संरक्षण र प्रवर्धनको योजना निर्माण गरेको अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । 

खुवालुङको संरक्षण र प्रवर्धन गर्न सागुरीगढी गाउँपालिकाले ऐतिहासिकता र पवित्रततासँगै पर्यटन र आर्थिक उपार्जनमा समेत जोड्न सकिन्छ भनेर नीति निर्माण गरेको छ ।' गाउँपालिका अध्यक्ष रुम्दालीले भने । 

खुवालुङदेखि ध्वजेडाँडासम्मको पदमार्ग निर्माणका लागि योजना अघि बढाएको अध्यक्ष रुम्दालीले बताए । उनले समुद्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा रहेको ध्वजेडाँडासम्म पद मार्ग निर्माण गर्न चालु आर्थिक वर्षमा बजेट विनियोजन गरी काम सुरु गर्ने योजना बनाएको उनले बताए । पदमार्ग ६५ किलोमिटर दूरीको हुने र दुई दिनको प्याकेज हुने गरी निर्माण गरिएको अध्यक्ष रुम्दालीले बताए ।

साङ्खामामा खुवालुङ अध्ययन केन्द्र स्थापना गर्ने अवधारणा अनुसार मुख्यमन्त्रीलाई आग्रह गरी स्थलगत अवलोकन गराएकोसमेत उनले बताए । चालु आर्थिक वर्षबाट स्थानीय सरकारले काम सुरु गरेकाले प्रदेश सरकारले समेत खुवालुङको संरक्षण र प्रवर्धनमा सहयोग गर्ने अध्यक्ष रुम्दालीले विश्वास व्यक्त गरे । 

तलका समाचार पनि पढ्नुहोस्