धरान । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको सभाहलमा धरानका गजलकार रोमनाथ ढुङ्गेलको नवीनतम गजलसङ्ग्रह 'मुस्कुराउने रहर' विमोचन गरिएको छ।
नेपाल बौद्धिक परिषद् सुनसरीको आयोजनामा भएको विमोचन समारोह गिरिराज खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त गजलकृतिलाई कार्यक्रमका प्रमुख अतिथि भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्याैपाने, वरिष्ठ कवि बम देवान, प्रा.डा. सागरमणि सुवेदी, डा.सुभाष न्याौपाने, कृतिकार रोमनाथ ढुङ्गेल र अध्यक्ष गिरिराज खतिवडाले संयुक्त रूपमा विमोचन गरे।
कार्यक्रममा शुभकामना आदानप्रदानसहित कृतिकार ढुङ्गेलका नयाँ गजलहरू वाचन गरिएको थियो। निरज आचार्य, अरुणा पोख्रेल र केशव भट्टराईले गजल वाचन गरेर उपस्थित साहित्यिक व्यक्तित्व तथा श्रोताहरूलाई मन्त्रमुग्ध पारेका थिए।
कृति परिचर्चाका क्रममा झापाका गजलकार विवश बलिभद्र कोइराला र डा. सुभाष न्यौपानेले 'मुस्कुराउने रहर' समसामयिक सन्दर्भका विविध विषयमा केन्द्रित रहेकाले निकै महत्त्वपूर्ण र पठनीय रहेको बताए।
विगत डेढ दशकदेखि नेपाली गजलक्षेत्रमा सक्रिय रोमनाथ ढुङ्गेलको यो तेस्रो गजलकृति हो। यसअघि उनका 'आगो लिएर आऊ गजलसङ्ग्रह' (२०६८) र 'यात्रा आगोमाथि' (२०७२) प्रकाशित भइसकेका छन्।
ऐरावती प्रकाशन प्रा.लि. काठमाडौंले प्रकाशन गरेको यस सङ्ग्रहमा ६८ वटा गजलहरू सङ्ग्रहित छन् र यसको मूल्य १८० रुपैयाँ तोकिएको छ।
विमोचन समारोहमा कवि चन्द्र गुरुङ, समालोचक अस्मिता बिष्ट, गजलकार एकु घिमिरे, प्रा.डा. रमेश घिमिरेलगायत उपस्थिति रहेको थियो।
































