भद्रपुर । प्रादेशिक अस्पताल भद्रपुरमा एक जना बिरामी ठगिएका छन् ।

नक्कली सुन दिएर ती बिरामीसँग तीन तोलाको सुनको सिक्री ठगी भएको पाइएको छ । घटना विवरणअनुसार शुक्रबार बिहान ११.३० बजे मेचीनगर नगरपालिका–१३ चारआलीका ८५ वर्षीय प्रदीपकुमार कार्की मुटुसम्बन्धी बिरामी भई फलोअपको लागि प्रादेशिक अस्पताल गएका थिए । अस्पतालअगाडि उभिरहेको अवस्थामा नाम र नम्बर नखुलेको स्कुटीमा दुईजना अपरिचित व्यक्तिहरू आएर सुनजस्तो देखिने पहेँलो धातु देखाई आफूले लगाएको तीन तोला सुनको सिक्री ठगेको उनले बताए ।

कार्कीको भनाइअनुसार “यो मेरो सुनको बिस्कुट राख्नू” भन्दै उनीहरूले मैले लगाएको सुनको सिक्री ठगी गरी फरार भएका छन् । उनले वडा प्रहरी कार्यालय भद्रपुरमा लिखित निवेदन दिएपछि प्रहरी टोली खटिएर बुझ्ने कार्य भइरहेको र ठगी गर्ने मानिसहरूको खोजतलास भइरहेको जिल्लाका इन्स्पेक्टर प्रवीण श्रेष्ठले जानकारी दिए ।