धरान । दार्जिलिङ, तकदाह निवासी वरिष्ठ साहित्यकार लोक थापालाई ‘अरूगि साहित्य पुरस्कार’ प्रदान गरिएको छ । सिलिगुडीमा सोमबार आयोजित विशेष कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।
कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार ग्याल्पो लामाले गरेका थिए भने प्रमुख आतिथ्य विश्व नेपाली साहित्य महासङ्घका सल्लाहकार तथा अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको रहेको थियो ।
कार्यक्रमको पहिलो चरणमा प्रा.डा. नरेशचन्द्र खाती, कवि शोभा राई, सुरेन्द्र लिम्बू परदेशी, सुशीला सुब्बालगायतले कविता वाचन गरेका थिए ।
पुरस्कारको विधिवत् अर्पणको क्रममा लोक थापाको साहित्यिक योगदानबारे कवि मीना लामा राईले परिचय प्रस्तुत गरिन् । प्रमुख सुरेन्द्र लिम्बू परदेशीले खादा ओढाएर सम्मान गरेका थिए ।
सम्मानपछि सम्बोधन गर्दै थापाले अरूगि साहित्य संस्थानप्रति कृतज्ञता प्रकट गर्दै संस्थाले पु¥याएको योगदानको उच्च प्रशंसा गरे । प्रमुख अतिथि सुरेन्द्र लिम्बू परदेशीले पनि विश्वभर छरिएका नेपाली भाषीहरूबीच भाषिक ऐक्यबद्धता आवश्यक रहेको बताउँदै, साहित्यले देशको सीमाभन्दा पर गएर मानवता जोड्ने काम गरिरहेको धारणा राखेका थिए ।
कार्यक्रमको अन्तिम चरणमा रचिता छेत्री, विनीता बोस, सञ्जीव श्रीमल लगायतले कविता वाचन गरे । कार्यक्रमको सञ्चालन सचिव कवि देविका मग्राती राईले गरिन् ।