धरान । मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित हरकपुरमा जारी दोस्रो नव प्रतिभा गोल्डकप पुरुष नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि बेलबारीको जुरा फुटबल क्लब र कानेपोखरी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै छ । 

भोलि (आइतबार) हुने फाइनलमा दुईबीच भेट भएको छ । बेलबारीको जुराले कानेपोखरीको शिवालय फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै उपाधि होडमा पुगेको छ । निर्धारित समयसम्म दुवै टिमबाट एक/एकको बराबरी गोल गरे पछि टाइब्रेकरबाट नतिजा आएको आयोजक नव प्रतिभा युवा क्लबका सचिव सुमन थोक्लेन लिम्बूले जानकारी दिए । 

यता कानेपोखरीले कीर्तिपुर फुटबलक्लबलाई ३–१ गोलअन्तरले हराउँदै उपाधि नजिक पुगेको थियो । जसमा कानेपोखरीका जर्सी नम्बर ११ का मिक्सोन दासले ह्याट्रिक पूरा गरेका थिए । प्रतियोगितामा विजेताले नगद ५० हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने अध्यक्ष जयराज लिम्बूले जानकारी दिए ।

यस्तै उपविजेताले नगद ३० हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । यस्तै व्यक्तिगततर्फ सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, फाइलन खेलको म्यान अफ दी म्याच, उत्कृष्ट गोलरक्षकलगायतले पनि नगदसहित ट्रफी पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको समापनका प्रमुख अतिथिको रूपमा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष एवम् एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राईले गर्ने कार्यक्रम रहेको छ ।