धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको एक अनुसन्धानमा मङ्गोलियनहरूमा सबैभन्दा बढी ‘स्तन क्यान्सर’ देखिएको पाइएको छ ।
मेडिकल अङ्कोलोजिस्ट डा. सोनिया दुलालका अनुसार उपचारसँगै गरिएको एक अनुसन्धानमा मङ्गोलियनहरूमा स्तन क्यान्सरको समस्या बढी देखिएको छ । उपचारका लागि आएका ७० जनामा अनुसन्धान गर्दा ६४ प्रतिशत मङ्गोलियनहरूमा स्तन क्यान्सर भेटिएको छ । “हामीले गरेको अनुसन्धानमा कोशी प्रदेशका स्तन क्यान्सर बिरामीमा सबैभन्दा बढी मङ्गोलियनहरूमा ब्रेस्ट क्यान्सर भेटिएको छ” उनले आफ्नो स्लाइड प्रस्तुत गर्दै भनिन्, “जेनेटिक वा अन्य कारणले धेरै मङ्गोलियनमा यो समस्या देखिएको छ ।”
खसआर्य जातिमा स्तन क्यान्सरको मात्रा निकै कम देखिएको पाइएको छ । विश्वमा ५० वर्षको उमेरभन्दा पछाडि देखिने स्तन क्यान्सर नेपालमा भने ३० वर्षपछि नै देखिन थालेको उनले बताइन् । “यो डरलाग्दो अवस्था हो । युरोपियन देशहरूमा ५० वर्षभन्दा पछि मात्रै यो रोग देखिन्छ । यहाँ चाहिँ ३०–४० वर्षकै उमेर देखिन थालेको छ” उनले भनिन्, “यो किन भइरहेको छ भन्ने विषयमा पनि रिसर्च भइरहेको छ ।” बीपीमा अधिकांश दोस्रो र तेस्रो स्टेजमा पुगेका क्यान्सर रोगीहरू आउने गरेका छन् । बीपीको तथ्याङ्कअनुसार पहिलो स्टेजमा आउने बिरामी २० प्रतिशत मात्रै छन् । दोस्रो स्टेजमा आउने क्यान्सर रोगी ३९ प्रतिशत छन् भने तेस्रो स्टेजमा आउने ३४ प्रतिशत छन् ।
“पहिलो र दोस्रो स्टेजमा आउने बिरामीहरूलाई शतप्रतिशत निको पार्न सकिन्छ । कहिलेकाहीँ चौथो स्टेजका बिरामीलाई पनि रेडियोथेरापीमार्फत् उपचार गर्दा निको हुन सक्छ । तर यो रियर केस मात्रै हो”–अङ्कोलोजिस्ट दुलालले भनिन् । ३० वर्षभन्दा माथि उमेर भएका अधिकांशले स्क्रिनिङ गरे जोखिम न्यूनीकरण गर्न सकिने विशेषज्ञहरूको सुझाव छ ।
८० जनाको शल्यक्रिया
बीपी प्रतिष्ठानमा रेडियोथेरापी असुविधाका बावजुद गतवर्ष ८० जना ‘स्तन क्यान्सर’ का बिरामीको शल्यक्रिया गर्न सफल भएको छ । हालसम्म बीपी प्रतिष्ठानमा दुई सय ५० स्तन क्यान्सरका बिरामीको शल्यक्रिया गरेको जनाएको छ । क्यान्सर बिरामीका लागि रेडियोथेरापी एकदमै महŒवपूर्ण मानिन्छ । तर, प्रतिष्ठानमा रेडियोथेरापीको अभावका बावजुद पनि उत्कृष्ट सेवा प्रदान गर्दै आएको स्तन क्यान्सर विशेषज्ञ डा. सारदा खड्काले जानकारी दिइन् । “क्यान्सर बिरामीलाई रेडियोथेरापी महŒवपूर्ण हो । यो कतिपय बिरामीलाई शल्यक्रियापूर्व नै दिनुपर्ने हुन्छ । कतिलाई शल्यक्रियापश्चात् दिनुपर्ने हुन्छ तर यहाँ त्यो सुविधा छैन” उनले भनिन्, “त्यही कारण पनि यहाँ क्यान्सरको उपचार हुन्छ र ! भन्ने खालको सोचाइ बिरामीहरूमा परेको छ ।”
विश्वभरि अक्टोबर महिनामा स्तन क्यान्सर सचेतना महिनाको रूपमा मनाउने गरिएको छ । सन् २०२२ को तथ्याङ्कअनुसार विश्वभरि दुई दशमलव ३ मिलियन नयाँ स्तन क्यान्सरका बिरामीहरू देखिएको छ । महिलाको हकमा यो क्यान्सर सबैभन्दा बढी देखिँदै आएको डा. खड्काले जानकारी दिइन् । सन् २०२२ सम्म नेपालको तथ्याङ्कमा भने दुई हजार दुई सय ५५ नयाँ बिरामी भेटिएका छन् । स्तन क्यान्सर बिरामीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको बीपी प्रतिष्ठानकै तथ्याङ्कले पनि देखाएको छ । बीपीको ओपिडीमा दैनिक औसतमा ७० जना बिरामीहरू आउने गरेका छन् । गत वर्ष मात्रै नयाँ स्तन क्यान्सर रोगीको सङ्ख्या १ सय ५० जनामा भेटिएको उनले जानकारी दिइन् ।
रेडियोरेथापी सेवा अत्यावश्यक
क्यान्सरका लागि रेडियोथेरापी अत्यावश्यक रहेको विशेषज्ञ चिकित्सकहरूले जनाएका छन् । सर्जरीका विभागीय प्रमुख सुरेशकुमार साहले भने, “रेडियोथेरापी क्यान्सरका लागि अत्यावश्यक छ । तर बीपीमा त्यो सेवासुविधा छैन । त्यही कारण कतिपयले यहाँ क्यान्सरको सेवा दिँदैन भन्ने बुझाइ छ । त्यस्तो होइन । यहाँ अन्य सुविधा शतप्रतिशत दिने गरिएको छ ।”
रेडियोथेरापीका लागि सम्बन्धित निकाय तथा सरोकारावालाहरूले चासो राख्नुपर्ने उनको बुझाइ छ । धरानका सरोकारवालाहरूले यस विषयमा चासो राख्ने हो भने यहाँबाट धेरै राम्रो सुविधा दिन सकिने उनको भनाइ छ । प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजित कुमारले भने, “रेडियोथेरापी सेवा नहुँदा नहुँदै पनि हामीले उत्कृष्ट सेवा दिएका छौँ । तर हाम्रो माग रेडियोथेरापी सेवा भए शतप्रतिशत सेवा दिन सक्छौँ ।”