धरान/ सुनसरीको धरानमा लक्ष्मी वाचानालयले ११७ औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती मनाएको छ । देवकोटा जयन्तीको अवसरमा आइतबार स्रष्टा सम्मानसहित ‘लक्ष्मी सडकका कविता’ सङ्ग्रह विमाचेन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व कोशी प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपाने, सम्मानित स्रष्टामध्येका प्रा.डा. गोपालप्रसाद भण्टारी, लक्ष्मी वाचानालयका अध्यक्ष टेकबहादुर ढकाललगायतले विमोचन गरे । सङ्ग्रहमा महाकवि लक्ष्मीप्रसाद देवकोटासम्बन्धी लेखरचना साथै ७० वटा कविताहरु प्रकाशित भएका छन् ।

1000013494

यस्तै ८ वटा लक्ष्मीप्रसाद देवकोटासम्बन्धी लेखरचना प्रकाशित छन् । ‘लक्ष्मी सडकका कविता’ शीर्षकको कृतिको सम्पादन मण्डलका प्रधान सम्पादक डा. महानन्द तिमल्सिनाले भने, “यस कृतिमा महाकविसम्बन्धी लेखरचनालाई प्रमुख प्राथमिकता दिई प्रकाशित गरेका छौँ । यसमा हामी के कति गर्न सक्यौँ भन्ने विषयमा समीक्षकज्यूले बताउनुहोला ।”

वाचानालयले हालसम्म ५० भन्दा बढी स्रष्टाहरुलाई सम्मानित गरिसकेको उनले बताए । उनले लक्ष्मी जयन्ती सोमबार पर्ने भए पनि विविध कारणले अगाडि नै गरिएको उनले बताए । पुस्तक विमोचनपश्चात् स्रष्टा सम्मान कार्यक्रम गरिएको थियो । कार्यक्रममा साहित्यकार एवम् समालोचक प्रा.डा. गोपालप्रसाद भण्डारी, पूर्व शिक्षक एवम् साहित्यकार केशव वाग्ले, अक्षयकोषदाता एवम् समाजसेवी रवीन्द्र बाँस्तोलालाई सम्मान पत्रसहितले सम्मानित गरिएको छ ।

सम्मानित व्यक्तित्वहरुको आंशिक रुपमा योगदानको चर्चा पनि गरिएको थियो । कार्यक्रममा सम्मान पत्र वाचन जगन्नाथ कट्टेल, सविता राई, शोभा भण्डारीले गरेका थिए । कृतिमाथि प्रा.डा. रमेश घिमिरेले समीक्षा गरेका थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानमाथि डा. भवानीशङ्कर भट्टराईले छोटो परिचर्चा गरेका थिए ।

यसैबीच आज (सोमबार) बिहान महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिकमा माल्यार्पण गरी लक्ष्मी जयन्ती मनाइएको छ । लक्ष्मी वाचानालयले धरान १ लक्ष्मीचोकस्थित देवकोटाको अर्धकदको शालिकमा फूलमालासहितले माल्यार्पण गरी देवकोटाले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गरिएको छ । कार्यक्रममा वाचानालयका पदाधिकारीसहित साहित्यकार, कवि, समालोचकहरुको उपस्थिति रहेको थियो ।