धरान । दोस्रो धरान वडास्तरीय महिला नकआउट रनिङ कप फुटबल प्रतियोगिता आउँदो मङ्सिर १८ गतेदेखि हुने भएको छ ।
आयोजक जनपथ जागरण समाज धरानले सोमबार पत्रकार सम्मेलन गरी वडास्तरीय महिला फुटबल प्रतियोगिता गर्नेबारे जानकारी दिएको हो । प्रतियोगितामा धरानका वडाका टिमहरु सहभागी बन्ने भएका छन् । प्रथम वडास्तरीयमा १५ वटा टिमहरु सहभागी रहेको समाजका अध्यक्ष सुजन केसीले बताए । “यसपटक केही टिम बढ्ला भन्ने आशा राखेका छौँ” उनले पत्रकार सम्मेलनमा भने ।
प्रतियोगिता विजेताले यस वर्ष ९० हजार रुपैयाँसहित रनिङ ट्रफी पाउने छन् । यो नगद गत वर्षभन्दा १० हजार रुपैयाँले बढी हो । यस्तै उपविजेताले नगद ४५ हजार रुपैयाँसहित ट्रफी पाउने उनले बताए । यो गत वर्षभन्दा ५ हजार रुपैयाँले बढी हो । प्रतियोगिताको पहिलो पुरस्कार धरान १६ को सियोन स्कुलले सौजन्य गर्दै आएको छ ।
प्रतियोगितामा व्यक्तिगत पुरस्कार पनि प्रदान गरिने भएको छ । धरानमा महिला खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता गर्न लागिएको हो । धरान–१६ स्थित क्षेत्रीय रङ्गशालामा हुने प्रतियोगितामा १६ नम्बर वडा कार्यालयको सहकार्यमा हुन लागेको वडाध्यक्ष मुरारी भट्टराईले बताए । उनले प्रतियोगिताका लागि वडाले नगद २ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने बताए ।
यस्तै धरान उपमहानगरपालिकाले २ लाख ५० हजार रुपैयाँ नगद प्रदान गर्ने भएको छ । यस्तै विभिन्न दाताहरुको सहयोगमा प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजकले गत वर्षको आयव्यय समेत सार्वजनिक गरेको छ । गत वर्ष कुल आम्दानी १२ लाख एक हजार चार सय ४० रुपैयाँ भएको थियो भने खर्चतर्फ नगद नौ लाख ६८ हजार पाँच सय ५९ रुपैयाँ रहेको थियो । संस्थाले दुई लाख ३२ हजार ८ सय ८१ रुपैयाँ बचत गर्न सफल भएको जनाएको छ ।
प्रतियोगितामा सहभागी बन्नका लागि सम्बन्धित वडाको स्कुलहरुमा अध्ययन गरेको कुनै पनि प्रमाण पेश गरेमा खेल्न दिइने जनाइएको छ । “यो व्यवस्था तीन वर्षसम्मका लागि गरेका छौँ” वडाध्यक्ष भट्टराईले भने, “तीन वर्षपश्चात् सम्बन्धित वडाले नै टिम बनाउने अपेक्षा गरिएको छ ।”
प्रतियोगितामा बढीभन्दा बढी महिला खेलाडीहरु सहभागी गराउने लक्ष्य धरानले लिएको छ । पछिल्लो समय धरानमा पुरुष दुव्र्यसनीसँगै महिला दुव्र्यसनीको संख्या पनि बढ्दै गएकाले महिला खेलाडीहरु उत्पादन गरेर दुव्र्यसन अन्त्यको अपेक्षा गरिएको छ । समाजले महिला खेलाडी उत्पादन गर्नका लागि वार्षिक रुपमा प्रशिक्षण कार्यक्रम आयोजना गर्दै आएको छ ।
धरान १६ स्थित शारदा नमुना बालिका माविको खेल मैदानमा प्रशिक्षण दिँदै आइरहेको छ ।































