धरान/किरण चाम्लिङको निर्देशनमा प्रदर्शन भइरहेको ‘खुवालुङ’ नाटकले किराती जीवनशैलीलाई मोहक ढङ्गले प्रस्तुत गरेको छ ।

नाटकले किरात जातिको सामूहिक जीवनशैलीको सौन्दर्यलाई प्रस्तुत गर्न खोजेको छ । दूधकोशी, अरुण र तमोर नदीको सङ्गमस्थल त्रिवेणीमा अवस्थित विशाल ढुङ्गालाई मुन्दुमी मान्यताका आधारमा खुवालुङ रूपमा मान्ने गरिएको छ । खुवालुङको संरक्षणको आवाज मात्रै नभई खुवालुङलाई साक्षी राखेर पुर्खाहरू विभिन्न क्षेत्रमा फैलिएको प्रसङ्ग कोट्याउन खोजिएको छ ।

किरात जातिको मानव सभ्यताको विकास नै खुवालुङ रहेको नाटकको मूल ध्येय रहेको छ । नाटकमा खुवालुङ ढुङ्गालाई मानवेतर पात्रका रूपमा यसरी उभ्याइएको छ । ‘मलाई फुटाउँछु भन्छ रे, मलाई मसाउँछु भन्छ रे, मलाई हटाउँछु भन्छ रे’ एक पात्रले खुवालुङको मनोदशालाई यसरी प्रस्तुत गरेका छन् ।

धरानमा भदौ २७ गतेदेखि सभागृहमा प्रदर्शन भइरहेको खुवालुङ नाटक आख्यानकार तथा लेखक राजन मुकारुङले लेखेका हुन् । खुवालुङबाटै किराती पुर्खाहरू विभिन्न स्थानमा बसोवास गर्न पुगेको मिथक प्रस्तुत गरिएको छ । नाटकको प्रारम्भमा बडेमान ढुङ्गाले पानी जहाजलाई अगाडि बढ्न नदिएको प्रसङ्गबाट सुरु गरिएको छ । उक्त ढुङ्गालाई फुटाउनुपर्ने अभिव्यक्तिले आदिमकालतर्फ नाटक फर्किन्छ । त्यहीँबाट पुर्खाको जीवनशैली, शिकारी युग, युद्ध, महामारी (देसान) बाट प्रताडित भएको प्रसङ्ग उठाइएका छन् ।

किरात राई यायोक्खा सुनसरीको आयोजनामा प्रदर्शन भइरहेको नाटक असोज ५ गतेसम्म चल्ने भएको छ । काठमाडौँको मण्डला थिएटरमा ४६ हप्तासम्म प्रदर्शन भएको नाटक धरानमा पनि माग भएपछि पूर्वतिर ल्याइएको हो । थैली इन्टरटेन्मेन्टको प्रस्तुति रहेको नाटक शुक्रबार, शनिबार र आइतबार दिउँसो पनि प्रदर्शन भइरहेको छ ।

धरान उपमहानगरपालिकाको मुख्य प्रायोजनमा प्रदर्शन भइरहेको नाटकमा संयोग गुरागाईं, सविना थापा, छेजिङ भुटिया, पार्वती राई, याङ्साङ मुकारुङ, मणिकुलुङ राई, सयोक मुकारुङ, रमिला मोक्तान, प्रशंसा गुरुङ, मनोज म्याक्स, हिरन राई, मनहाङ लावती, अनु थापा, इङ्गि होपो कोईच सुनुवार, रोश्नी स्याङ्वो, शक्ति बाहिङ राई, दिपा सुहाङ लिम्बु, रमिता राई, सुशिल तामाङ, सारा राई लोहरुङ, बेदना राई, रियर राई र युवाहाङ राईले अभिनय रहेको छ ।