विराटनगर । प्रदेश १ को पहाडी जिल्लाका अस्पतालहरूमा काम गर्ने चिकित्सकलाई प्रोत्साहन भत्ता प्रदेश सरकारले दिने भएको छ । पहाडी जिल्लाको अस्पतालहरूमा चिकित्सक जान नमानेपछि प्रदेश १ सरकारले प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

प्रदेश सरकारले ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्तासम्बन्धी कार्यविधि २०७९’ बनाएर प्रदेशका दुर्गम र पहाडी जिल्लाका अस्पतालहरूमा खटिने चिकित्सकले प्रोत्साहन भत्ता चालु आर्थिक वर्षको भदौबाट पाउने गरी व्यवस्था गरेको छ । प्रदेशका १ पहाडी जिल्लाका अस्पतालहरूमा चिकित्सकहरूको चरम् अभाव छ ।

चिकित्सकहरू सहर केन्द्रित हुँदा दुर्गमका अस्पताल भने विशेषज्ञ डाक्टरको अभावबाट गुज्रिरहेका छन् । प्रदेश सरकारले कार्यविधि बनाएपछि प्रदेश १ का ११ वटा पहाडी जिल्लामा खटिने चिकित्सकले प्रोत्साहन भत्ता चालु आर्थिक वर्षबाट पाउने छन् ।

मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेपछि दुर्गम र पहाडी जिल्लामा खटिने चिकित्सकले प्रोत्साहन भत्ता प्राप्त गर्ने स्वास्थ्य मन्त्री जयराम यादवले बताए । सहरका अस्पताल मात्र सुधार गरेर स्वास्थ्य सेवा सुधार नहुने भन्दै गाउँका अस्पताललाई पनि सुधार गर्नुपर्ने आवश्यकतालाई महसुस गर्दै यस्तो योजना बनाइएको उनले बताए ।

स्वास्थ्य मन्त्रालयले पहाड तथा दुर्गमका अस्पतालहरूमा जाने चिकित्सकलाई मासिक ६० हजारदेखि १ लाख ५० हजार रूपैयाँसम्म प्रोत्साहन भत्ता दिने भएको छ । सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, ताप्लेजुङ, तेह्रथुम र पान्थर जिल्ला अस्पतालहरूमा काम गर्ने चिकित्सकलाई समान प्रोत्साहन भत्ता दिने कार्यविधिमा उल्लेख छ । उक्त अस्पतालमा काम गर्ने ११ औं तहका चिकित्सकलाई मासिक १ लाख ५० हजार, ९ र १० औं तहका चिकित्सकलाई १ लाख ३५ हजार र ८ औं तहका चिकित्सकलाई १ लाख २० हजार रुपैयाँ रहेको छ ।

यस्तै धनकुटा, उदयपुर र इलाम जिल्ला अस्पतालमा खटिने चिकित्सकको प्रोत्साहन भत्ता सरकारले घटाएको छ । उक्त जिल्लाका अस्पतालमा खटिने ११ औं तहको चिकित्सकले ७५ हजार, ८ र ९ औं तहका चिकित्सकले ६८ हजार र ८ औं तहका चिकित्सकले ६० हजार रुपैयाँ मासिक प्रोत्साहन भत्ता पाउनेछन् । स्थायी चिकित्सकको हकमा ६० देखि १ लाख ५० हजार रूपैयाँसम्म प्रोत्साहन भत्ता दिने सरकारले निर्णय गरेको छ ।

छात्रवृत्ति करारमा आएका चिकित्सकको हकमा भने प्रदेश सरकारले प्रोत्साहन भत्ता घटाएको छ । सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, ताप्लेजुङ, तेह्रथुम र पान्थर जिल्ला अस्पतालहरूमा खटिने छात्रवृत्ति करारमा आएका ११ औं तहका चिकित्सकले मासिक ७५ हजार रुपैयाँ पाउनेछन् भने ९ र १० औं तहका चिकित्सकले ६८ हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउनेछन् । धनकुटा, उदयपुर र इलाममा खटिने करार छात्रवृत्तिमा आउने ११ औं तहका चिकित्सकले ३८ हजार तथा ९ र १० औं तहका चिकित्सकले ३४ हजार रुपैयाँ मात्र प्रोत्साहन भत्ता पाउनेछन् ।

३० दिन काम गर्ने चिकित्सकलाई शतप्रतिशत भत्ता
३० दिन काम गर्ने चिकित्सकले शतप्रतिशत प्रोत्साहन भत्ता पाउने भएका छन् । महिनामा १५ दिनभन्दा कम काम गरेको चिकित्सकले सरकारले उपलब्ध गराएको प्रोत्साहन भत्ता नपाउने कार्यविधिमा उल्लेख छ ।

तीन दिनभन्दा कम अस्पतालमा काम गरेको पाएमा सरकारले प्रतिदिन तीन दशमलव पाँच प्रतिशतको दरले कट्टा गरेर बाँकी रकम उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ । प्रदेश सरकारले दिने प्रोत्साहन भत्ता विशेषज्ञ चिकित्सक कार्यरत रहेको अस्पतालबाटै उपलब्ध गराउने व्यवस्था मिलाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पहाडी जिल्लाको ११ वटा जिल्ला अस्पतालहरूको हकमा सरकारले प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । तराईको सुनसरी, मोरङ र झापा जिल्लामा रहेको प्रदेश सरकार मातहतका अस्पतालहरूले उक्त प्रोत्साहन भत्ता पाउने छैनन् ।

प्रदेश १ मा प्रदेश सरकार मातहतका कोसी कोभिड अस्पतालसहित १५ वटा अस्पताल रहेका छन् । १५ वटा अस्पतालमा ५६ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको छ । पहाडी जिल्लाहरूमा दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक नजाने गरेकै कारणले सरकारले प्रोत्साहन भत्ता दिने निर्णय गरी कार्यान्वयनमा ल्याएको हो ।