विजयपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई मेसिन जडान गर्न निर्देशन दिएका छन् ।

शुक्रबार प्रतिष्ठानका सह–कुलपतिसमेत रहेका मन्त्री खापुङले प्रतिष्ठानको २९ औं वार्षिकोत्सव तथा १०९ औं बीपी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका पदाधिकारीलाई तत्काल आधुनिक प्रविधियुक्त एमआरआई मेसिन जडान गर्न निर्देशन दिएका हुन् । मन्त्री खापुङले ठूलो स्वास्थ्य संस्थामा एमआरआई मेसिन नहुनु दुःखद् भएको बताए ।

उनले ८ सय ३० बेड, १५ सय चिकित्सा शास्त्रका विद्यार्थी, ३ सय ५० फ्याकल्टी डाक्टर, १८ सय कर्मचारी भएको ठूलो स्वास्थ्य शैक्षिक संस्थामा बिरामी उपचारको सन्दर्भमा अनेक समस्या रहेको बताए । उनले एमआरआई र आइसियु मेसिन जडानलाई पहिलो प्राथमिकता दिएको बताए । प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, अस्पताल निर्देशक र रजिष्ट्रारलगायत पदाधिकारीलाई एमआएआई मेसिन जडानका लागि तत्काल टेन्डर प्रक्रिया सुरु गर्न निर्देशन गरे ।

एमआरआई मेसिन खरिदको खर्च मन्त्रालयले दिने बताए । उनले उपचारमा आवश्यक उपकरणको अभावमा बिरामीले प्रतिष्ठानदेखि अन्यत्र रिफर गर्नु नपरोस् भन्ने आफ्नो बुझाइ रहेको बताए । 

प्रतिष्ठानका उपकुपति डा. ज्ञानेन्द्र गिरीले सुरुवातमा १ सय ५० शøयाको अस्पतालबाट विकास हुँदै ८ सय ३० शøयामा पुगेको बताए । उनले मुुटुको शल्यचिकित्सा सेवा क्याथल्यावको उपलब्धता भए पनि आइसियु बेड अभाव रहेको बताए । उनले ३० आइसियु बेड जडान गर्ने प्रक्रिया र डाइलाइसिसका लागि थप २० बेड सञ्चालन रहेको बताए ।

प्रतिष्ठानमा थप विशिष्ट स्वास्थ्योपचार सुविधा प्रदान गर्न मातृशिशुको विशेषज्ञ उपचार सेवा सञ्चालनका लागि ४ सय शøयाको मातृशिशु उपचार भवनको संरचना निर्माण कार्य अन्तिम चरणमा रहेको बताए । क्यान्सर रोगका उपचारका लागि २ सय बेडको अङ्कोलोजी सेन्टर र मुटुरोगको उपचारका लागि २ सय बेडको कार्डियोलोजी सेन्टरको संरचना निर्माण कार्यका लागि प्रक्रियाको थालनी गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा १ नं. प्रदेशका स्वास्थ्य मन्त्री जयराम यादव, राजनैतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवम् प्रतिनिधिहरू, शिक्षण संस्थाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिलगायतका उपस्थिति रहेको प्रतिष्ठानका सह–प्रवक्ता डा.चूरामणि पोखरेलले जानकारी दिए ।

प्रतिष्ठान घाटामा छः उपकुलपति

प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले बीपी प्रतिष्ठान घाटामा सञ्चालित रहेको बताएका छन् ।

उनका अनुसार प्रतिष्ठान हाल १ अर्ब ४७ करोड घाटामा सञ्चालित छ । उनले नेपाल सरकारको नीति बमोजिम चिकित्सा शिक्षा ऐन लागू भएपछि तत्कालीन संसद्बाट स्वायत्त संस्थाको रूपमा स्थापित प्रतिष्ठानले विद्यार्थी भर्ना गर्न पाउने स्वायत्तताको नीति हनन् भएपछि आर्थिक सङ्कट निम्तिँदै गएको बताए ।

उनले भने, ‘विद्यार्थी भर्नाबाट आउने आम्दानी बन्द भएको छ ।’ उनले सरकारले प्रतिष्ठानका चिकित्सक, नर्स, कर्मचारीलाई तलब–भत्ता सुविधा पनि नदिँदा आफै कमाएर तलब खानुपर्ने अवस्था भएको बताउँदै भने, ‘यो कुरालाई सङ्घीय सरकार र प्रदेश सरकारले ध्यान देओस् ।’