बिर्तामोड । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चारदिन झापामा बसेका छन् । अघिल्लो सङ्घीय निर्वाचनयता सबैभन्दा लामो समय ओली झापा बसेका हुन् । झापा बसाइका क्रममा ओलीले नेकपा (एमाले) का सबै तहका नेता कार्यकर्ता, एमाले सम्बद्ध कमिटी, शुभेच्छुक,  शुभचिन्तकसँग भेटघाट गरेका छन् । अझ बिर्तामोडमा रहँदा अध्यक्ष ओलीले ब्याडमिन्टन खेल्नसमेत भ्याएका छन् ।

सङ्घीय निर्वाचन नजिकिँदै गर्दा किन ओलीले झापालाई यति लामो समय दिए ? यतिबेला झापाको राजनीतिमा यो विषयमा चर्चा हुन थालेको छ । एमाले अध्यक्ष ओली साउन ११ गते भद्रपुर विमानस्थलमा अवतरण गरेर बिर्तामोडमा आयोजित ‘नेपाल उत्पीडित जातीय मुक्ति समाज’ को कार्यक्रममा सहभागी भए ।

नवनिर्वाचित समाजको प्रशिक्षणलाई सम्बोधन गरेर ओली बिर्तामोडको होटल किङ्सबरीमा एमालेका जनसङ्गठनका स्थानीय नेतासँग भेटघाट गरे । त्यो समयमा ओलीले विगतको स्थानीय तहको निर्वाचन र केही स्थानमा भोगेको पराजयका बारेमा चासो राखेको बैठकमा सहभागी एक नेताले बताए ।

त्यसलगत्तै ओलीले नेकपा (एमाले)को भातृसंस्था प्रेस चौतारीका जिल्ला नेताहरूसँग रायसुझाव माग गरे । निडर भएर कलम चलाउन आग्रह गर्दै ओलीले प्रेस चौतारी सम्बद्ध पत्रकारलाई नेकपा (एमाले) सरकारले गरेको देश विकासबारेमा अझ प्रभावकारी ढङ्गले प्रस्तुत हुन आग्रह गरे ।

१२ गते बिहान ओलीले बिर्तामोडमा ब्याडमिन्टन खेलाडीसँग समय बिताए । उनले ब्याडमिन्टन मात्र खेलेनन् । स्वस्थ रहनका लागि खेलकुदलाई निरन्तरता दिन खेलाडीहरूलाई सुझाव पनि दिए । नेकपा (एमाले)का झापा इन्चार्ज अग्नि खरेलको अनुरोधमा ओली ब्याडमिन्टन कोर्ट पुगेका थिए । सोही दिन बिर्तामोडका मारवाडी समुदाय तथा व्यवसायीसँग ओलीले छुट्टाछुट्टै भेटघाट गरे ।

बिर्तामोडको कार्यक्रम सकेर ओली झापा क्षेत्र नम्बर ५ तिर लागे । दमक नगरपालिका, गौरादह नगरपालिका, कमल र गौरीगञ्ज गाउँपालिका झापा क्षेत्र नम्बर ५ मा पर्छन् । जहाँबाट निर्वाचन जितेर ओली सङ्घीय सांसद् भएका छन् । सोही क्षेत्रले ओलीलाई २ पटक मुलुकको प्रधानमन्त्रीसमेत बनायो ।

२०६४ सालको संविधानसभा निर्वाचनमा भने ओली नेकपा माओवादी केन्द्रका नेता विश्वदीप लिङ्देनसँग पराजित भए । आफ्नो निर्वाचन क्षेत्र बसाइका क्रममा ओलीले युवा, विद्यार्थी, नेता कार्यकर्तासँगको भेटघाटलाई निरन्तरता दिएका थिए । उनले पार्टी नेता कार्यकर्तासँगको भेटघाटमा गत स्थानीय तहको निर्वाचनमा कसरी हारियो ? भनेर प्रश्न गरेका थिए । उनले कार्यकर्तालाई ¥याख ¥याख्ती पार्दै दमकमा स्थानीय निर्वाचनको हारको कारण पत्ता लगाउन निर्देशन दिएका थिए ।

सोही सम्बोधनमा ओलीले ०६४ मा झापाको तत्कालीन ७ हालको ५ नम्बर क्षेत्रमा निर्वाचन जितेका नेता कहाँ छन् ? भन्दै प्रश्न गरेका थिए । उनले झापा ५ ले आफ्नो बाहेक विकल्प खोज्न नहुने धारणा राखेका थिए ।

ओली उठ्ने निर्वाचन क्षेत्र दमक नगरमा राप्रपा, नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो । दमकमा मेयर उपमेयर नै गठबन्धनले जितेको छ । यस्तै कमल गाउँपालिकामा माओवादी र काङ्ग्रेस गठबन्धन गरेर अध्यक्षमा एमालेलाई हराएका छन् भने गौरीगञ्ज गाउँपालिकामा एकल प्रतिष्पर्धा गर्दापनि कांग्रेसले अध्यक्ष जितेको छ । एमालेले भने गौरादह नगरपालिकामा मात्र मेयर–उपमेयरमा जित हासिल गर्न सफल भएको छ ।

झापा क्षेत्र नम्बर ५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको वडा नम्बर ९ बाहेकका भूगोल र गौरीञ्ज गाउँपालिकाको वडानम्बर १ र २ बाहेकका क्षेत्रहरू पर्छन् । स्थानीय तहमा प्राप्त मत सन्तोषजनक नभएपछि ओली झापा केन्द्रित भएर भेटघाटमा समय बिताएको आँकलन गरिएको छ ।

बिपक्षीलाई तिखो ब्याङग्य गर्ने छवि बनाएका नेता ओली आगामी निर्वाचनमा आफु असुरक्षित हुन चाहदैनन् । बर्तमान गठबन्धन रही रहे आगामी निर्वाचनमा सकारात्मक परिणाम हात लाग्दैन भन्नेमा उनी लगभग ढुक्क छन् । यसै कारण ओलीले यो गठबन्धन रहनु हुँदैन भन्ने आषय ब्यक्त गर्न थालेका छन् । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा बिभाजनपछि गठन भएको नेकपा एकिकृत समाजवादी पार्टी सिट बाँडफाँडमा लागिरहेको समयमा ओली झनै चिन्तित भएका छन् । उनी जसरी पनि यो गठबन्धन भत्काउने रणनीतिमा रहेको आफू नजिकका कार्यकर्तासँग बताउने गरेका छन् ।

सत्ता गठबन्धन कायम रहे ओलीले आगामी निर्वाचनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग गठबन्धन गर्ने अवस्था आउनेछ । राप्रपाले झापाको दुईवटा क्षेत्र नपाए गठबन्धन नगर्ने बटम लाइन अघि सार्ने सङ्केत गरेको छ । यस्तो अवस्थामा भने ओलीलाई कार्यकर्ता व्यवस्थापनमा अर्काे चुनौती थपिनेछ ।

किनभने अन्तिम अवस्थामा माधव नेपालको साथ छोडेर एमालेमा बसेकामध्येबाट झापा १, एमालेको आधारक्षेत्र मात्र नभएर प्रतिष्ठासमेत रहेको झापा २, राप्रपाको उपस्थिती कमजोर रहेको झापा ४ र ओली आफै उम्मेदवार बन्ने झापा ५ एमालेले छोड्न सक्ने अवस्था छैन । यसअघिको निर्वाचनमा राप्रपासँग गठबन्धन गरेको झापा ३ मात्र दिने योजना एमालेको हुनेछ ।

ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहँदा निर्माणाधिन हुलाकी राजमार्ग, ठेकेदारले अलपत्र पारेका दुइवटा पुल, दमकमा उत्पादन भएर पनि खेर गइरहेको ग्याँस प्लाण्ट लगायतका योजनाहरुको अनुगमन गरेका छन् । उनले शुक्रबार बिर्तामोडमा एमालेका जिल्ला नेतासँग आगामी निर्वाचन केन्द्रित रणनीतिका विषयमा छलफल गरेका थिए । उनी शनिबार अपराह्न काठमाडौं फर्किने बताइएको छ ।

भद्रपुर विमानस्थलमासमेत सीमित शुभेच्छुक ओलीलाई स्वागत गर्न पुगेका थिए । ओलीको झापा बसाइमा यसपटक कुनै तामझाम देखिएन । प्रधानमन्त्री भएको समयमा चर्चित रहेको नारा ‘आइ लव यु केपी बा’ यस पटक कुनै कार्यकर्ताको मुखबाट सुनिएन । उनी सहभागि एक दर्जनधन्दा बढी कार्यक्रम सामान्य रुपमा सम्पन्न भए । यसअघिको झापा आगमनमा दमक नगरपालिकाले अघिल्लै दिनदेखि सडकमा पानी हालेर धुलो मार्ने काम गथ्र्याे । यस पटक त्यो भएन । नगरवासीले समेत घरअगाडि कलसमा फूल र पानी राखेर ओलीको स्वागत गर्ने गरेकोमा क्रम भङ्ग भएको छ ।

झापा दौडाहामा रहेका ओलीलाई दमक नगरपालिकाका नवनिर्वाचित मेयर राम थापाले समेत भेटेनन् । उपप्रमुख रेगिना भट्टराईसँग भने पारिवारिक भेटघाटको क्रममा ओलीको भेट भएको बुझिएको छ । शीर्ष नेता आउँदा भेट गर्नु स्थानीय तहका जनप्रतिनिधिको दायित्व हुन्छ । तर, ओली भ्रमणको औपचारिक जानकारी नभएका कारण ओलीसँग दमक नगरपालिकाका मेयर थापाको भेट नभएको नगरस्रोतले जानकारी दिएको छ ।