विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेन्टल गेटअगाडि हरेक दिन ४ बजेदेखि ६ बजेसम्म नारा लाग्छ; ‘हामी केही जान्दैनौं, भ्रष्टाचारी मान्दैनौं ।’ यस्ता नारा लाग्न थालेको ५४ दिन पुगेको छ ।

काठमाडौँबाट आएको ‘हामी नेपाल’ नामक संस्थाले थालेको ‘घोपा बचाउ अभियान’ का नाराहरूले मूर्तता भने अहिले पनि पाउन सकेको छैन । यस आन्दोलनलाई प्रतिष्ठान प्रशासनले फरक तरिकाले व्याख्या गरिरहेको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साहले प्रतिष्ठानभित्रैको समूहबाट आन्दोलन सञ्चालन भइरहेको आशङ्का व्यक्त गरे । उनले भने, ‘‘पहिले शुद्धीकरण अभियान सञ्चालन गर्नेले नै हस्तान्तरण गरेको हो कि ?’ धरानका विद्वत् वर्गले यस आन्दोलनको सार्थकतामाथि प्रश्न उठाइरहेका छन् । नाम उल्लेख नगर्ने शर्तमा भने, ‘पहिलो कुरा त नाममै समस्या छ । घोपा डुब्न लागेको हो र बचाउनलाई । शुद्धीकरण भन्नुपथ्र्यो ।’

हामी नेपालले किन आन्दोलन सुरु ग¥यो त ? भन्ने प्रश्न जताततै छ । हामी नेपालकी प्रमुख सञ्चार अधिकारी सृष्टि श्रेष्ठ भन्छिन्, ‘हामी सुरुमा सहयोग दिन भनेर आएका थियौँ । सहयोग दिनका लागि पनि कमिसन दिनुपर्छ भनेपछि घोपा बचाउ अभियान सुरु गरेका हौँ ।’ यस्तै प्रकृतिको आन्दोलन प्रतिष्ठानका चिकित्सक, कर्मचारी तथा नर्स सम्मिलित संयुक्त सङ्घर्ष समितिले असार २ गतेदेखि थालेको थियो । आन्दोलनले एउटा उचाइ पनि प्राप्त ग¥यो तर, कार्यान्वयन तहमा नपुग्दा त्यो आन्दोलन अहिले ‘मौन’ छ । संयुक्त सङ्घर्ष समितिको आन्दोलनकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा बनेको समितिले प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यही प्रतिवेदनलाई कार्यान्वयन गर्न र समस्या समाधान गर्न भन्दै हामी नेपालीमा आबद्ध युवाहरूले दैनिक डेन्टल गेटअगाडि धर्ना दिइरहेका छन् ।

धर्ना कार्यक्रममा हरेक दिन दुई घण्टा नाराहरू घन्किन्छन् । घाम होस् या पानी । उनीहरू दत्तचित्त भएर नारा अलाप्दै धर्नामा सरिक हुन्छन् । अहिले धरानका युवाहरू पनि यस आन्दोलनलाई समर्थन गरिरहेका छन् । यतिसम्म कि नगर प्रमुख हर्क साम्पाङले पनि आन्दोलनमा आफ्नो समर्थन रहेको बताएका छन् । संस्थाकी सञ्चार अधिकारी श्रेष्ठका अनुसार अब पनि माग सुनुवाइ नभए प्रतिष्ठान हाताभित्र अभियान सञ्चालन गर्न बाध्य हुने बताइन् । उनले भनिन्, ‘हाम्रा मागहरू सम्बोधन नभए उपकुलपतिको कार्यकक्ष अगाडि अभियान सञ्चालन गर्नुपर्ने हुनसक्छ ।’

कानूनी उपचारका लागि हामी नेपाल नामक संस्थाले सर्वोच्च अदालतमा मुद्दा पनि हालिसकेको जनाएको छ । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीको तत्काल छानबिन गरी कानूनी रूपमा अघि बढाउन माग दाबी गरी मुद्दा हालेको बताइन् । यस्तै प्रतिष्ठानका पदाधिकारीलगायतका कर्मचारीको सम्पत्ति छानबिन गर्न पनि माग गरेका छन् । उनीहरूले प्रतिष्ठानभित्र फार्मेसी सञ्चालन गर्नुपर्ने, फार्मेसीमा बिमाअन्तर्गत निःशुल्क पाउने औषधि प्रदान गर्नुपर्ने, शीघ्र रिपोर्ट दिनुपर्ने, चिकित्सक तथा कर्मचारीको व्यवहार परिवर्तन गर्नुपर्ने, प्रतिष्ठानमा बिरामीको उपचारमा आवश्यक उपकरणहरू सुधार गर्नु पर्नेलगायतका मागहरू रहेको बताए ।

आखिर किन सुनिरहेको छैन त प्रतिष्ठान प्रशासनले डेन्टल गेटअगाडिको धर्नालाई । प्रा.डा. साह भन्छन्, ‘प्रतिष्ठान सुधारका लागि एउटा समूह जान्छ, अर्को समूह आउँछ । कतिसँग छलफल र  वार्ता गर्ने ?’ उनले बाहिर आएजस्तो समस्या प्रतिष्ठानभित्र नरहेको पनि स्पष्ट पारे । उनले प्रतिष्ठानभित्रका कर्मचारी प्रकाश पराजुली, भूपध्वज बुढाथोकी र अभियानका सुधन गुरुङसहितले सर्वोच्चमा मुद्दा दिएको बताए । आन्दोलनलाई नजिकबाट नियालिरहेका बुद्धिजीवी सह–प्रा.डा.राजेन्द्र शर्माले यस किसिमको आन्दोलनले प्रतिष्ठानको वर्तमान समस्या समाधान नहुने बताए । २०७८ जेठ २४ गते नागरिक दबाव सञ्जाल गठन गरी प्रतिष्ठान सुधार अभियान सञ्चालन गरेको प्रसङ्ग कोट्याउँदै भने, ‘निष्कर्षमा पुग्ने समयमा सर्वोच्च अदालतको अन्तरिम आदेशले प्रतिष्ठान समस्या भयो ।’

वैकुण्ठ अर्याल नेतृत्वको छानबिन समितिको औंल्याएका समस्या र समाधानका लागि दिएका सुझाव कार्यान्वयनका लागि प्रधानमन्त्रीले सिनेट बैठक आह्वान गर्दा प्रतिष्ठानका उपकुलपति डा. गिरी र अस्पताल निर्देशक डा. गौरीशङ्कर साह सिनेट बैठक रोक्नका लागि सर्वोच्च अदालत गए । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएसँगै सिनेट रोकिएकाले प्रतिष्ठानले निकास नपाएको बताए । मुद्दाको फैसला गराउन दबाव दिन अभियान सञ्चालन गर्नुपर्ने बताउँदै भने, ‘मुद्दा फैसलाका लागि दबाव दिनु पर्छ । प्रतिष्ठानको गेटमा फोटा खिच्दैमा समस्या हुँदैन ।’

यता सुधारका लागि खबरदारी गर्दै आएको हामी नेपाल नामक संस्थाले धराने युवालाई जिम्मेवारी सुम्पिएको थियो । सञ्चार अधिकारी श्रेष्ठले धरानलाई अपनत्व गराउनका लागि धराने युवालाई हस्तान्तरण गरेको बताइन् । उनले भनिन्, ‘हामी पनि यहीँ छौँ । हामी धराने नै हौँ ।’ उनले आन्दोलनका कारण प्रतिष्ठानमा केही सुधार भएको दाबी गरिन् । उनले भनिन्, ‘केही सुधार भएको पाएका छौँ । एम्बुलेन्सले बिरामी लिएर आउँदा ३० मिनेटसम्म ट्रली नपाउने अवस्था थियो, अहिले त्यो फेरिएको पाएका छौं ।’
४ सदस्यीय वार्ता समिति

घोपा बचाउ अभियानका अभिायन्तासँग वार्ता गर्न प्रतिष्ठानका प्रा.डा. पशुपति चौधरीको संयोजकत्वमा ४ सदस्यीय समति बनेको छ । प्रतिष्ठानका निर्देशक प्रा. डा. गौरीशङ्कर साहका अनुसार समिति शुक्रबार बनेको हो । उनका अनुसार समितिको सदस्यमा माइक्रोवायोलोजिस्ट नारायणराज भट्टराई, एकेडेमिक इन्चार्ज विष्णु चापागाईं र इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठ सदस्य रहेका छन् ।