धरान । सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक सङ्घ नेपाल (पिएसआरएन) बीपीकेआईएचएस र केएचडीसी नेपालले आइतबारदेखि सुनसरीको धरान उपमहानगरपालिका र झापाको मेचीनगरपालिकामा एक महिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ ।

मेचीनगरको काँकडभिट्टामा र धरानको घण्टाघरमा सुरु भएको निःशुल्क स्वास्थ्य शिविरमा उच्च रक्तचाप, मधुमेह, क्रिटिनिनलगायत जाँच र स्वास्थ्य परामर्श दिन थालिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभागका प्रा.डा. सञ्जीव शर्माले बताए । उनकाअनुसार यो अङ्ग्रेजी मे महिनालाई सन् २०१७ देखि ‘मे मिजरमेन्ट मन्थ २०२२’ मानेर यसपटक निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

नसर्ने दीर्घरोग रोकथाम र नियन्त्रण गर्ने, समुदायलाई सचेत बनाउने उद्देश्यले मे महिनालाई मे मिजरमेन्ट मन्थ मानेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको प्रा.डा. शर्माले बताए । उनले भने, ‘विश्व समुदायमा पहिले सरुवा रोगको प्रकोपले धेरै मानिसको मृत्यु हुन्थ्यो । सरुवा रोगले निम्त्याएका चुनौतीलाई जिते पनि अहिले नसर्ने दीर्घरोगको कारण ८० प्रतिशतभन्दा बढी मानिसको ज्यान जाने गरेको छ । तीमध्ये पनि उच्च रक्तचाप सबैका लागि अकाल मृत्युको प्रमुख कारण बनेकाले चुनौतीका रूपमा देखापरेको छ । यो निःशुल्क स्वास्थ्य शिविरबाट सर्वसाधारणले केही न केही ज्ञान प्राप्त गर्न सक्नेछन् ।’

उनका अनुसार विश्वमा ३० देखि ७९ वर्षका १.२८ मिलियन मानिसलाई उच्च रक्तचापले सताएको छ । तीमध्ये दुईतिहाइ उच्च रक्तचापको समस्यामध्ये र निम्न आय हुने देशमा व्याप्त रहेको छ । उनले भने, ‘५० प्रतिशतभन्दा बढी उच्च रक्तचाप समुदायमा अज्ञात रहन्छ । नेपालमा ज्ञान उच्च रक्तचापमध्ये २० देखि २५ प्रतिशतले मात्र उपचार प्राप्त गर्छन् भने उपचार प्राप्त गर्ने १४ प्रतिशतलाई मात्र पर्याप्त नियन्त्रण गर्न सकिने अवस्था छ ।’

उनका अनुसार हृदयरोगको कारण कम्तिमा ४५ प्रतिशत मृत्यु र स्ट्रोकको कारण ५१ प्रतिशत मृत्यु हुनुमा उच्च रक्तचाप जिम्मेवार रहेको छ । नेपालमा उच्च रक्तचापको प्रकोपमा सहरी क्षेत्रमा २९.८ प्रतिशत, उपनगरीय क्षेत्रमा २५.५ प्रतिशत र गाउँमा २४.४ प्रतिशत रहेको छ । दैनिक २८ हजार मानिस उच्च रक्तचापकै कारण मृत्युवरण गर्ने गरेकाले रोकथामको स्वास्थ्य नीति, सचेतना जरुरी रहेको छ ।

हरेक वर्ष विश्वमा मुटुजन्य रोगको कारण करिब १७ मिलियन मानिसले ज्यान गुमाउने गरेकोमा उच्च रक्तचापले मात्रै ९४ लाखको ज्यान जाने गरेको पनि प्रा.डा. शर्माले बताए । उच्च रक्तचाप समाज, परिवारदेखि मुलुक र विश्व समुदायको सामाजिक, आर्थिक, भौतिक उन्नतिका लागि बाधक बनिरहेकोले स्वास्थ्य क्षेत्रमा काम गरिरहेका विद्वत्वर्गले यिनै नसर्ने रोग रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले सामाजिक उत्तरदायित्व वहन गर्न जनचेतनामूलुक कार्यक्रम र स्वास्थ्य शिविर सञ्चालन गर्नु परेको प्रा.डा. शर्माले बताए ।

केएचडीसीका कार्यकारी अध्यक्ष राजेन्द्र शर्मा र सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक सङ्घ नेपाल (पिएसआरएन) बीपीकेआईएचएसका उपकोषाध्यक्ष किरण पुन मगरले मे महिनाभरि उच्च रक्तचापको बारेमा जनचेतनामूलक कार्यक्रमहरू गर्ने बताए । स्कुलमा विद्यार्थीहरूलाई जानकारी दिने, भिडियो बनाएर सामाजिक सञ्जालमार्फत् जनचेतना फैलाउने, व्यापकरूपमा परामर्श दिने बताए ।