संखुवासभा । जिल्लाको सिलिचोङ गाउँपालिका वडा नं. १ सिसुवाखोलाको बेसिन्दा र चेप्चेवाका बासिन्दाहरु पहिरोबाट करिब २ बर्षदेखि विस्थापित छन् । टेन्टमा अस्थायी रुपमा खोला बगरमा बसेको यत्तिका बर्ष भईसक्दापनि सरकारी तवरबाट आश्वसन मात्रै पाईरहेका छन् । स्थायी रुपमा पुनःर्वास गर्न स्थानीय तह, जिल्ला विपत व्यवस्थापन समितिदेखि प्रदेश तथा संघ स्तरमा नै सबै काम पुरा भईसकेको छ । तर उनीहरुले जग्गा भने पाएका छैनन्, अझै कत्ति कुर्नुपर्ने हो थाहा छैन । 

२०७७ साल असार २७ गते राति बेसिन्दा गाउँकै बीच भएर पहिरो गयो । पहिरोमा परि ११ जना अझै वेपत्ता छन् । बाँचेकाहरु घरबार नै बगाएपछि तत्काल टेन्टमा बास मिलाईएको बुधबारे बजारमा अझै रात विताईरहेका छन् । जसोतसो बर्खाको झरी, कठ्याङ्ग्रीदो जाडो काटेका उनीहरु आउने बर्खामा नयाँ ठाउँमा बस्न पाइने आशामा बसिरहेका छन् । तर सरकारी तवरबाटको पटक पटकको आश्वासनले उनीहरु आजित भई सकेको छन् । प्रशासन वा स्थानीय तहमा आफुहरु जाँदा केहि गरेको जस्तो गर्ने तर जान छोडेपछि उनीहरु चुपचाप बस्ने गरेको पहिरो प्रभावित दिलिप कुलुङले बताए । 

बेसिन्दाका ८६ घर र चेप्चेवाका २० घर गरि १०६ घर परिवारलाई स्थायी पुनःर्वासको व्यवस्था गर्ने प्रकृया सुस्तगतिमा छ । जिल्ला विपत व्यवस्थापन समिति र स्थानीय तहको पटक पटकको छलफलपछि खाँदबारी नगरपालिका क्षेत्र र सिलिचोङकै बखल्टुममा उनीहरु स्थानन्तरण गर्ने भएको बर्षदिन वितेको छ । तर उनीहरुलाई जग्गा खरिद गरेर हस्तान्तरण समेत गरेको छैन । खाँदबारी आसपास जग्गा खोजविन समिति नै गठन गरेर ५५ परिवारको लागि टुंगो लागेको छ । तर नगरपालिकाले त्यसको आवश्यक प्रकृयाको लागि नक्सा लगायतका काममा नै नगरेकोले ढिला हुन पुगेको जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारीको नुरहरी खतिवडाको भनाई छ । 

यता गाउँपालिका र नगरपालिकाले भने सम्पुर्ण प्रकृया पुरा गरि जिल्ला विपत व्यवस्थापन समितिमा पठाईसकेको बताउँदै आएका छन् । पहिरोबाट विस्थापितहरुलाई जग्गा हस्तान्तरण गर्नको लागि जिम्मेवारी बाँडफाँडमा प्रशासनले स्पष्ट नगर्नाले र कानुनी प्रकृया नै लामो हुने भएकोले ढिलो भएको स्थानीय तहले बताउँदै आएको छ । खाँदबारी नगरपालिकाको उपप्रमुख तथा जग्गा खोजविन समितिका संयोजक डेगेश्वरी श्रेष्ठले प्रशासनबाट एउटा कुरा र संघीय सरकारबाट अर्को कुरा आउने भएकोले काम गर्न नै स्पष्ट नभएको बताईन् । उनले नगरपालिकाको प्राविधिकबाट नै काम गर्नु पर्ने भन्ने निर्देशन हुने फेरी माथिबाट इन्जिनियर आएर अध्यायन गरेर जाने प्रकृया भएकोले समस्या भएको बताईन् । 

पहिरोबाट विस्थापितहरुलाई स्थायी पुनःर्थापनाको लागि जिल्लो ३ स्थानमा जग्गा खोजी गरि भुगर्वविदहरुको टोली प्रतिवेदन समेत पठाई सकेको छ । तर प्रतिवेदन प्राप्त भएको महिनौं वित्दा पनि स्थानीय स्तरमा काम गर्ने निकाय नै मौन रहेकोले ढिला सुस्ती भएको प्रष्ट देखिन्छ । पहिरोबाट बचेका ज्यान अहिले बस्ने ठाउँ नै नहुँदा विस्थापितहरुको विजोग छ ।