धरान । जेन जी आन्दोलनको क्रममा भौतिक संरचनामा पुगेको क्षतिलाई पुनर्निर्माण गर्ने उद्देश्यले सरकारले निर्माण गरेको पुनर्निर्माण कोषमा धरान–१७ को सचेत नागरिक समूहले आर्थिक सहयोग गरेको छ ।
समूहले धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) को प्रमुख उपस्थितिमा इलाका प्रशासन कार्यालय धरानमार्फत् नगद कोषमा जम्मा गरिएको हो । समूहले कात्तिक ५ गते देउसी खेलेर एकै दिन दुई लाख एक हजार एक सय रुपैयाँ सङ्कलन गरेको थियो । उक्त रकम कोषमा जम्मा गरेको रसिद इलाका प्रशासन कार्यालय धरानका प्रमुख लक्ष्मीप्रसाद रेग्मीलाई वडाध्यक्ष भट्टराईले हस्तान्तरण गरेका थिए ।
समूहका सदस्य रमेशचक्र खड्काले जेन जी आन्दोलनको क्रममा गत भदौ २३ र २४ गते ऐतिहासिक सम्पदामा क्षति पु¥याएपछि तिनको पुनर्निर्माणका लागि रकम पठाएको बताए । उनले भने, “ठूलो क्षति पुगेको अवस्थामा निर्माण कोषमा जम्मा गर्ने निर्णय भयो । धरानका कलाकार साथीहरू एकजुट हुनुभयो । एक दिन देउसी खेलिदिनुभयो । त्यो पैसा हामीले कोषमा जम्मा गरिदिएका छौँ ।” उनले राजनीति र पार्टीभन्दा माथि उठेर सबैलाई अभिप्रेरित गराउनका लागि यस्ता खालका काम गरिएको बताए ।
समूहले कोभिड १९ देखि सामाजिक सेवा गर्दै आएको छ । त्यसबेला बिरामीका कुरुवालाई खाना खुवाउनेदेखि लिएर क्वारिन्टिन, पीसीआर जाँचको व्यवस्थापनलगायतका काम गरेको थियो । यस्तै २०८१ सालको असोज ११ देखि आएको वर्षामा प्रभावितका लागि कोषमा २ लाख ५ हजार रुपैयाँ रकम जम्मा गरेको थियो । समूहका संयोजक दयाराम थापा छन् ।
रकम जम्मा गरेको रसिद हस्तान्तरण गर्दै वडाध्यक्ष भट्टराईले समूहले कोभिडको कारणले मुलुक विषम परिस्थितिमा परेको अवस्थादेखि नै काम गर्दै आएको बताए । उनले अघिल्लो वर्ष पनि कोषमा रकम जम्मा गरेर सचेत समूहले आफ्नो उपस्थिति देखाएको बताए ।
यस्तै यस वर्ष जेन जी आन्दोलनको क्रममा पुगेको क्षतिलाई आँकलन गर्दै ती संरचना पुनर्निर्माणका लागि समूहले सहयोग गरेको उनले बताए । “समूहले मुलुक जहिले जहिले विषम परिस्थितिमा पुगेको छ । त्यसबेलादेखि नै राज्यलाई साथसहयोग गर्दै आएको छ” उनले भने, “यसपटकको जेन जी आन्दोलनका क्रममा क्षति पुगेको संरचना निर्माणमा पनि जुन सहयोग गरेको छ, यसले देशको पीडामा हामी साथमा छौँ भन्ने सन्देश दिएको छ ।”
धरान १७ नं. वडाको तर्फबाट उनले धन्यवाद ज्ञापन गरे । सम्बोधनको क्रममा जेन जी आन्दोलनमा अराजक घुसपैठ र तोडफोड गर्नेलाई सरकारले फरक ढङ्गले हेर्नुपर्ने उनले बताए । “मुलुकमा कानूनी व्यवस्था छ । राज्यले गर्छ । राज्य सक्षम छ भन्ने देखाउनु पर्छ । म इलाका प्रशासनमार्फत् यो आग्रह गर्न चाहन्छु, हरेक नागरिकलाई राज्यले संरक्षण गर्छ भन्ने सन्देश देओस् । त्यस्ता अराजक गतिविधिमा संलग्नलाई कारबाही गरोस्”–उनले भने ।
































