विराटनगर । ‘भगवान् र प्रकृति पनि किसानमाथि नै निर्मम हुने रहेछ’ यसो भनिरहँदा मोरङको बूढीगङ्गा गाउँपालिका–५ हात्तीमुडाका उपेन्द्र रायको अनुहारमा निराशा र पीडाको धर्सा स्पष्ट देखिन्थ्यो । उनी आफ्नो १० कठ्ठा खेतमा लछप्रै भिजेको धानको बालालाई पल्टाउँदै थिए । केही दिनअघि मात्रै सुनौलो भएर झुलेका बालाहरू अहिले पानीको आहालमा डुबेका छन् । असारको खडेरीमा पम्पसेटले पानी लगाएर रोपेको धान दिनरात नभनी गोडमेल र मलजल गरेर हुर्काएको बाली काट्ने बेलामा प्रकृतिको बज्रपातमा प¥यो ।

कात्तिक १५ देखि १७ गतेसम्म परेको बेमौसमी वर्षा र त्यससँगै आएको हावाहुरीले उपेन्द्रको मात्र होइन, कोशी प्रदेशका हजारौँ किसानको सपना र वर्षभरिको मिहिनेतलाई सोतर बनाएको छ । “भिœयाउन ठिक्क पारेको धान पानीमा डुबेर खेतमै उम्रिने अवस्थामा छ” उपेन्द्रले भने, “यही उब्जनीले ५ जनाको परिवार पाल्नुपर्छ । अब वर्षभरि के खाने ? छोराछोरीलाई कसरी पढाउने ?” उपेन्द्रका छिमेकी आफन्त टङ्कबहादुर भण्डारीको व्यथा पनि फरक छैन । उनले अर्काको एक बिघा जमिन अधियाँमा लिएर खेती गरेका थिए । यही उब्जनीबाट आफ्नो परिवार पाल्ने उनको योजना थियो । तर वर्षाले उनको सपनामाथि पनि पानी खन्याइदियो । “जुन दिन धान काटेर भिœयाउने तयारी गरेको थिएँ, त्यही दिनदेखि पानी पर्न थाल्यो” उनले दुःख पोखे, “एक बिघामध्ये ६ कठ्ठाको धान त कामै नलाग्ने गरी सड्यो । ३ कठ्ठामा अझै पानी जमेको छ । लगानी र मिहिनेत सबै बालुवामा पानी भयो ।”

उपेन्द्र र टङ्कबहादुर प्रतिनिधि पात्र मात्र हुन् । कोशी प्रदेश कृषि विकास निर्देशनालय विराटनगरले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कले क्षतिको तस्बिर भयावह देखाउँछ । निर्देशनालयका अनुसार यो छोटो अवधिको वर्षाले प्रदेशमा धान तथा तरकारी बालीमा दुई अर्ब पाँच करोड ५४ लाख ३६ हजार सात सय ९० रुपैयाँ बराबरको क्षति पु¥याएको छ । निर्देशनालयकी सूचना अधिकारी पूर्णमाया गुरुङका अनुसार प्रदेशभरि कुल १२ हजार छ सय ३२ हेक्टर क्षेत्रफलमा लगाइएको बालीमा क्षति पुगेको छ । यसबाट ५८ हजार २ सय ६७ दशमलव २६ मेट्रिक टन धान र तरकारी बाली नष्ट भएको छ । 

बेमौसमी वर्षाको सबैभन्दा ठूलो मार तराईका अन्नभण्डार मानिने जिल्लाहरूमा परेको छ । झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी क्षति भएको निर्देशनालयको तथ्याङ्क छ । झापामा चार हजार ३ सय ६४ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ ।

यसबाट २१ हजार ८ सय २० मेट्रिक टन धान नोक्सान भएको छ, जसको अनुमानित मूल्य ७८ करोड ११ लाख ५६ हजार रुपैयाँ रहेको छ । मोरङमा ३ हजार ४ सय २१ हेक्टरमा लगाइएको १६ हजार ४ सय २० दशमलव ८ मेट्रिक टन धानमा क्षति पुगेको छ । यसको मूल्य ५८ करोड ७८ लाख ६४ हजार रुपैयाँ अनुमान गरिएको छ ।

सुनसरीमा धान र तरकारी दुवैमा ठूलो क्षति भएको छ । यहाँ दुई हजार ८ सय ५१ हेक्टरको १२ हजार ६ सय ५८ दशमलव ४४ मेट्रिक टन धान (मूल्य ४५ करोड ३१ लाख ७२ हजार रुपैयाँ) र २ सय हेक्टरमा लगाइएको चार करोड रुपैयाँ बराबरको तरकारी बाली नष्ट भएको छ । तराईका जिल्लाहरूमा करिब २० प्रतिशत धान ढलेको र त्यसमध्ये पनि २५ देखि ३० प्रतिशतसम्म क्षति भएको अनुमान छ । पहाडी जिल्लामा ८–१० प्रतिशत धान ढलेको र ढलेको धानमा करिब २५ प्रतिशतमात्र क्षति पुगेको निर्देशनालयको तथ्याङ्क छ ।

यसले राष्ट्रिय उत्पादनमा समेत गम्भीर असर पार्ने निश्चित छ ।पहाडी जिल्लाहरूमध्ये उदयपुरमा तीन सय २३ हेक्टर, इलाममा दुई सय ६८ हेक्टर, पाँचथरमा एक सय ४४ हेक्टर, ताप्लेजुङमा एक सय २० हेक्टर, धनकुटामा एक सय १८ हेक्टर, तेह्रथुममा एक सय ५७ हेक्टर, भोजपुरमा दुई सय ५० हेक्टर, खोटाङमा दुई सय हेक्टर, ओखलढुङ्गामा ७६ हेक्टर, सोलुखुम्बुमा १५ हेक्टर र सङ्खुवासभामा एक सय २५ हेक्टर धानमा क्षति पुगेको छ । यी सबै धान बालीमा बिमा नभएको निर्देशनालयले जनाएको छ । तराई र पहाडको तुलनामा हिमाली जिल्लामा कम क्षति भएको छ । हिमाली जिल्लामा ५–६ प्रतिशत धान ढलेको र ढलेको धानमा करिब २५ प्रतिशत मात्र क्षति भएको तथ्याङ्क छ ।

dhan ladeko