धरान । ‘धरान’ नाम लिँदामात्रै पनि सफा, सुन्दर र व्यवस्थित सहरको छवि हरेकको मनमा आउँछ । हराभरा अग्ला डाँडामुनि फैलिएको धरानलाई देशभरका मानिसले ‘स्वच्छ सहर’ को रूपमा सम्झन्छन् । पछिल्लो समय यो सहरसँग अर्को नाम पनि जोडिएको छ — हर्कराज राई (साम्पाङ) ।

जनताले सधैँ ‘खुला र इमानदार’ नेताको रूपमा चित्रण गर्ने साम्पाङ धरानका नगर प्रमुख बनेपछि सहर अझै चम्किलो होला भन्ने अपेक्षा थियो । तर विडम्बना, धरान–१२ चतरालाइनस्थित उपमहानगरपालिकाको मुख्य गेटमा पुग्ने जो–कोहीलाई आज नाक खुम्च्याउनु पर्ने अवस्था छ । विगत १५ महिनाअघिदेखि गेटमा उपमहानगरको नाम लेखिएको टिनको पातो उप्किएर कुरूप भएको छ । बोर्ड नयाँ फेर्न उपमहानगरले कुनै चासो नदिँदा आगन्तकहरूले नाक खुम्च्याउने अवस्था आएको हो । 

उपमहानगर गेटको कथा

२०८१ सालमा नगर प्रमुख हर्क साम्पाङले कार्यपालिकाको निर्णयविनै एकल निर्णयले खानेपानीको महसुल बढाए । त्यही खानेपानी महसुलको मूलमुद्दा बोकेर चुनाव जितेका साम्पाङले धरानवासीको अहितमा महसुल वृद्धि गरेपछि उनको यो कदमले सहरमा हलचल मच्चायो ।

उपमहानगरमा क्रियाशील १० वटा राजनीतिक दलहरूले यो निर्णयको विरोधमा आन्दोलन थाले । तर साम्पाङ आफ्नो ‘जिद्दी स्वभाव’ मा अडिग रहे । दलहरूको शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गर्दा २०८१ साउन २७ गते दिउँसो परिस्थिति बिग्रियो ।

नगर प्रमुखकै आदेशमा प्रहरीले आन्दोलनकारीलाई उपमहानगर प्रवेशमा रोक लगाएपछि विद्यार्थी र युवाहरू आक्रोशित बने । त्यसै क्रममा उपमहानगरको गेटमा क्षति पुग्यो । आन्दोलन चर्किएपछि अन्ततः साम्पाङले महसुल बढाउने निर्णय फिर्ता लिए । २०८१ साउन २७ गते दल र नगर प्रमुखबीच तीन बुँदे सहमति भएपछि आन्दोलन स्थगित भयो । 

गेट भत्कियो, तर मर्मत भएन

आन्दोलन शान्त भएपछि दलहरूले गेट पुनःनिर्माण गर्न चाहेका थिए । साम्पाङले गेट भत्काउने काम ‘दलहरूको उद्दण्डता’ को रूपमा लिँदै दलहरूले गरेको भन्ने जवाफ दिँदै आएका छन् । त्यसबेला भत्काउनेलाई कानूनी कारबाही गर्ने नगर प्रमुखले बताए पनि राजनीतिक विषय भएकाले प्रशासनसम्म उजुरी पुगेन । 

तर मुलुकका विभिन्न स्थानबाट धरान घुम्न आउनेहरूले गेटको अवस्था हेरेर नाक खुम्च्याउँदै आएका छन् । यता सफा, सुन्दर सहर अनि हर्क साम्पाङले नेतृत्व गरेको उपमहानगरको गेट किन यस्तो भनेर आगन्तुकहरूले प्रश्न उठाउने गरेका छन् । मर्मतका लागि उपमहानगरमा बजेट नभए नगर प्रमुखले श्रमदान गरेर पनि बनाउनु पर्ने हो भन्ने धेरैको मनमा उठ्छ ।

नगर प्रमुख साम्पाङले यसलाई दलहरूसँगको ‘इगो’ को रुपमा लिएर गेट नबनाई त्यत्तिकै राखेका छन् । यसले सुन्दर सहरको ‘कुरूपता’ उजागार गरिरहेको छ । यतिबेला साम्पाङले पनि ‘श्रमसंस्कृति’ नामको पार्टी निर्वाचन आयोगमा दर्ता गरिसकेका छन् । उनी पनि अब स्वातन्त्र नभएर दलको नेताको हैसियतमा उपमहानगरको नेतृत्व गरिरहेका छन् । भत्किएको गेटलाई बनाउन स्थानीयले दबावसमेत दिइरहेका छन् । सामाजिक सञ्जालमा गेट बनाउन स्थानीयले सुझाव दिए पनि अझै बनाउन लगाएका छैनन् ।  

नगर प्रमुख साम्पाङले भने गेट भत्काउने जिम्मेवारी दलहरूलाई नै लगाउँदै आएका छन् । मुलुकका विभिन्न स्थानबाट धरान घुम्न आउनेहरूले भने गेटको अवस्था हेरेर नाक खुम्च्याउँदै आएका छन् । यस्तो सफा, सुन्दर सहर अनि हर्क साम्पाङले नेतृत्व गरेको ‘उपमहानगरको गेट किन यस्तो ?’ भनेर आगन्तुकहरूको प्रश्न हुने गरेको छ ।

यस विषयमा धरान उपमहानगरपालिकाका कर्मचारीहरू राजनीतिक विषय बनाइएकाले यस विषयमा बोल्न चाहँदैनन् । “बजेट नपुग्नेभन्दा पनि यो ६–७ हजारमा बन्ने विषय हो । तर बनाउन चासो दिइएको छैन”– उपमहानगरका एक अधिकृतले भने । 

धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले यस विषयमा नगर प्रमुखले नै जवाफ दिँदा उचित हुने भन्दै पन्छिए । “बनाउनु पर्ने थियो । बन्नु पर्ने हो । तर बनेको छैन । यो विडम्बना हो”–उपप्रमुख बेघाले भने । 

धरान उमपहानगरका पूर्व नगर प्रमुख तिलक राईले राजनीतिक दलहरूप्रति गलत मनसाय राखेर नगर प्रमुख साम्पाङले नियतवश नबनाएको बताए । “आन्दोलनको क्रममा विद्यार्थीहरूद्वारा टिनको पातो उप्काइएको थियो । त्यसबेला नै दलहरूले बनाउन खोजेका तर गलत मनसाय राखेर बनाउन दिएनन्” उनले भने, “साम्पाङ आफूबाहेक सबै फटाहा, गलत हुन् भन्ने भावना राख्छन् । यो नबनाउनु त्यसैको उपज हो ।” 

यता प्रमुख प्रशासकीय अधिकृत अम्विकाप्रसाद भट्टराई भने आफूले गेट नै नहेरेको जवाफ दिए । आफू आउनुभन्दा अगाडिको विषय भएकाले कार्यालयमा बुझेर निर्णय लिने उनले बताए । 

हर्क साम्पाङ अहिले ‘श्रम संस्कृति पार्टी’ नामक राजनीतिक दल दर्ता गरिसकेका छन् । स्वतन्त्र उम्मेदवारको हैसियतमा सुरु भएको उनको यात्रा अब दलको नेतृत्वमा परिणत भएको छ । अब दलहरूसँग ‘इगो’ साधेर काम गर्न उचित नहुने स्थानीयको सुझाव छ । धरानमा प्रवेश गर्दा सबैभन्दा पहिले देखिने गेट सहरको पहिचान हो । त्यसले नै अहिले सहरको कुरूपता उजागर गरिरहेको छ । यसलाई उपमहानगरले मर्मत गर्नु पर्ने उनीहरूको सुझाव छ ।