विराटनगर । पूर्व सांसद् सुनिल शर्माले सञ्चालन गरेको विराटनगरस्थित नोबेल अस्पतालका नर्सहरू पुनः आन्दोलनमा उत्रिएका छन् । सरकारले तोकेको न्यूनतम् पारिश्रमिकको माग गर्दै अस्पतालका स्वास्थ्यकर्मीहरू पुनः आन्दोलनमा उत्रिएका हुन् । 

‘धम्की र श्रमशोषण बन्द गर’ जस्ता नारा लगाउँदै उनीहरूले बुधबार बिहानैदेखि अस्पताल परिसरमा प्रदर्शन गरे । 

यसअघि पनि आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरूले आफ्ना माग पूरा गर्न अस्पताल प्रशासनलाई कात्तिक १८ गतेसम्मको समयसीमा दिएका थिए । तर, अस्पताल व्यवस्थापनले मागहरूलाई पूर्णरूपमा बेवास्ता गरेपछि आफूहरू फेरि आन्दोलनमा उत्रिन बाध्य भएको आन्दोलनको नेतृत्व गरिरहेकी स्वास्थ्यकर्मी स्वाती देवले बताइन् ।

“हाम्रा मागहरूप्रति अस्पताल प्रशासनले कुनै सुनुवाइ गरेन, त्यसैले हामी फेरि आन्दोलनमा होमिएका छौँ” देवले भनिन्, “अहिले आकस्मिक र आइसियुबाहेकका सबै सेवामा कार्यरत स्वास्थ्यकर्मी आन्दोलनमा छौँ । माग पूरा नभएसम्म यो आन्दोलन रोकिने छैन ।”

आन्दोलनरत स्वास्थ्यकर्मीका अनुसार अस्पतालले उनीहरूलाई मासिक १२ हजार १ सय ७० रुपैयाँ मात्रै आधारभूत तलब दिइरहेको छ, जबकि राज्यले तोकेको न्यूनतम् पारिश्रमिक ३४ हजार ७ सय ३० रहेको छ । स्वास्थ्यकर्मीहरूले सरकारले तोकेको यही न्यूनतम् तलब पाउनुपर्ने मुख्य माग राखेका छन् । नेपालमा निजी अस्पतालहरूमा कार्यरत नर्स तथा अन्य स्वास्थ्यकर्मीहरूले लामो समयदेखि श्रमशोषण र कम पारिश्रमिकको समस्या भोग्दै आएका छन् ।