धरान । मधेश प्रदेशको सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–२ भेडियाबाट प्रहरीले स्रोत नखुलेको २३ लाख रुपैयाँ नगदसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । 

गाईघाट–कदमाहा सडक–खण्डमा आइतबार राति चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००८ नम्बरको सेतो टोयोटा हाइलेक्स गाडीबाट प्रहरीले चेकजाँचको क्रममा २३ लाख नगदसहित दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका–५ निवासी २७ वर्षीय किरण सिटौला र १८ वर्षीय धीरज प्रसाईं रहेको डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए । नगदसहित उनीहरूको साथबाट अन्य सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक हजार दरका एक हजार ३ सय ९९ थान र पाँच सय दरका एक हजार ८ सय २ थान नोट छन् । 

गाडीभित्र टकोन पम्प एक सय थान, टिएनइएच ब्याट्री ३४ थान, लिथियन ब्याट्री एक थान, ई–रिक्सा मोटर तीन थान, स्कुटर ब्याट्री चार्जर सात थान, ब्याट्री टेस्टर एक थान र सानो हर्न स्पिकर एक थान बरामद भएको पनि प्रहरीले जनाएको छ । स्रोत नखुलेका कारणले उनीहरूमाथि बैङ्क तथा वित्तीय संस्थासम्बन्धी कसूरमा अनुसन्धान भइरहेको डिएसपी पुरीले जानकारी दिए । जिल्ला अदालत सप्तरीबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।