धरान/दलप्रति विष ओकल्दै आएका धरान उपमहानगरपालिकाका स्वतन्त्र नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले आफैले दल दर्ता गराएका छन् ।
उनले आइतबार निर्वाचन आयोगबाट दल दर्ताको आधिकारिक प्रमाण पत्र पाए । कुनै समय उनले दलप्रति यति अनास्था व्यक्त गर्थे कि दल भनेका सबै खराब र सबै भ्रष्ट हुन् भन्ने मानक स्थापित गर्ने प्रयास गरेका थिए । २०८१ साल वैशाख १८ गते उनले आफ्नो फेसबुक पेजमा लेखेका थिए, “पार्टी भनेको रोग हो ! क्यान्सर जस्तै निको नहुने !” तर उनी स्वयम् अध्यक्ष रहेको ‘श्रम संस्कृति पार्टी’ दर्ता गरी अहिले विभिन्न स्थानको कार्यक्रममा सहभागी भइरहेका छन् ।
दलहरूप्रति घृणा फैलाएका नगर प्रमुख साम्पाङको दलको दर्शन र सिद्धान्त के हो ? भन्ने विषयमा फेसबुकहरूमा आलोचना र प्रश्न उठाउने गरिएको छ । सोमबार नेकपा (एमाले) का कोशी प्रदेश सदस्य भीम ज्वाला राईले ‘हर्क साम्पाङले पार्टी खोलेकोमा बधाई ज्ञापन गर्दै दलको सिद्धान्त र स्कुलिङ के हो ?’ भनी प्रश्न उठाएका छन् । उनले फेसबुकमा लेखेका छन्, “हर्कराज राईलाई हार्दिक बधाई छ । पार्टी अर्थात राजनीतिक दल भन्नासाथ विचार, व्यवहार, सङ्गठन, राजनीति र कार्यक्रमको समष्टि बुझिन्छ । पार्टीमा निश्चित सिद्धान्त हुनुपर्छ, निश्चित मूल्यमान्यता हुनुपर्छ, दर्शन हुनुपर्छ अर्थात् त्यो पार्टीको वर्ग पक्षधरता र राजनीतिक उद्देश्य के हो प्रस्ट हुनुपर्छ । महत्त्वपूर्ण विषय पार्टी जनताको सङ्गठन हुनुपर्छ ।”
स्वतन्त्र नगर प्रमुख साम्पाङले दलका कार्यकर्ताहरू साथै दलसँग सम्बन्ध रहेका पत्रकारहरूलाई ‘झोले’ को पगरी गुथाउँदै आएका थिए । यस विषयमा पनि उनले प्रश्नात्मक शैलीमा लेखेका छन्, “एसएसपी पार्टीका अध्यक्ष राई र उहाँका अनुयायीहरूले हामीलाई ‘झोले’ को पगरी गुथिदिनुभएको थियो । हामी उहाँहरूलाई झोले भनिहाल्दैनौँ ।” धरान नगर प्रमुखको कार्यशैलीलाई लिएर खरो आलोचक पूर्व पत्रकारसमेत रहेका हाल जनता समाजवादी पार्टी, नेपालका नेता कमन देवान याक्खाले आइतबार फेसबुकमा लेखेका थिए, “दल र दलका नेता हुनु भएको नै भ्रष्ट हुनु हो । दलीय शासन भनेको देश डुबाउनु हो । दलीय व्यवस्था देशद्रोहीहरूको व्यवस्था हो’ भन्ने जस्ता घटिया गाली गरेर कहिल्यै नथाकेका हर्क साम्पाङले आफै दल दर्ता गरे । अर्थात् यी नयाँ देशद्रोही बने । देशद्रोही बन्न सफल भएकोमा साम्पाङलाई बधाई !”
वास्तवमा हर्क साम्पाङको दल दर्ताको प्रक्रिया पहिलो होइन । यसअघि पनि उनले विभिन्न नामको दल दर्ताको प्रयास गरेका थिए । उनले दल निर्माणका लागि ‘आदिवासी मूलवासी एकता सञ्जाल’ नामक संस्था बनाएका थिए तर सञ्जालले गति लिन नसके पछि स्वम् संस्थापक संयोजक बनेर राष्ट्रिय एकता पार्टी (लोकतान्त्रिक), राष्ट्रिय एकता पार्टी नेपालजस्ता नाम राखेर अभियान अगाडि बढाए । त्यो बेला दल दर्ताको प्रयास असफल भएपश्चात् उनी स्वतन्त्र रूपमा २०७६ सालमा धरानको नगर प्रमुखमा उठेका हुन् । निर्वाचन आयोगले दल दर्ता गर्नका लागि निश्चित प्रक्रिया पूरा गर्ने गर्दछ । दल दर्ताका लागि केन्द्रीय पदाधिकारी, पार्टीको विधान, निर्णय, पार्टीको झण्डा, चुनाव चिह्न आदिलगायतको यथेष्ट प्रमाण पूरा गरे पछि मात्रै दल दर्ताको प्रक्रिया अगाडि बढ्ने आयोगले जनाएको छ ।
निर्वाचन आयोगको वेबसाइटमा उल्लेख भएअनुसार निर्वाचन आयोगमा दल दर्ता गर्नका लागि “विधान, नियमावली, र घोषणा पत्र दुई–दुई प्रति, झण्डा, लोगो, छाप, चुनाव चिह्न रोज्ने, राजनैतिक दलको नाम र सो दलको प्रधान कार्यालयको ठेगाना, राजनैतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको केन्द्रीय स्तरको समितिका सदस्य तथा अन्य पदाधिकारीको नाम र ठेगाना, राजनैतिक दलको आय श्रोतको कोष र सो जुटाउने स्रोतको विवरण” आदि चाहिने उल्लेख छ ।
हर्क साम्पाङले यसअघि राष्ट्रिय एकता पार्टी नेपाल नामको पार्टी दर्ता गरेको उल्लेख छ । उक्त पार्टी नामसहित आफ्नो तस्बिर भएको फोटो उनले आफ्नै घरको कोठामा पनि झुण्ड्याएको पाइएको छ । उक्त तस्बिर उनी धरान नगर प्रमुख पदमा भिड्नु अघि सार्वजनिक भएको थियो । उनी स्वयम्ले पनि सामाजिक सञ्जालमा हालेका थिए तर केही समय पछि डिलिट गरेका थिए । जानकार स्रोतका अनुसार तत्कालीन समयमा दल दर्ता नभएको किनकि निर्वाचन आयोगले माग गरेको कागजात पुर्याउन नसकेका कारणले दल दर्ता भएन ।
त्यसपश्चात् उनी धरानको खानेपानीको विषयलाई लिएर एक्लै एक्लै प्रचारमा हिँडेका थिए । सोही समयमा उनले दलहरूप्रति घृणा फैलाउन सुरु गरेका थिए । जब उनी सङ्घीयतापश्चात् भएको पहिलो स्थानीय तहको निर्वाचनमा धरानमा नेकपा –एमाले) अध्यक्ष तारा सुब्बाले चुनाव जिते । चुनाव जितेको एक वर्ष नबित्दै उनको निधन भएपश्चात् २०७६ सालमा प्रमुख पदका लागि उपनिर्वाचन भयो । जहाँ उनले स्वतन्त्र रूपमा नगर प्रमुखमा चुनाव लडेका थिए ।
चुनावमा उनले ४२२ मत ल्याएका थिए । धरानको खानेपानीमा व्यापक भ्रष्टाचार भएको आवाज उठाउँदै उनी चुनावमा होमिएका थिए । तर जनताले पत्याउने आधार नभए पछि उनी एक्लै हिँडिरहे । फलतः २०७९ को निर्वाचनमा उनी सोही मुद्दालाई स्थापित गर्दै निर्वाचन जिते । त्यसपश्चात् उनले राजनीतिक दलहरू भनेको सबै भ्रष्ट र झोले हुन् भन्ने भाष्य निर्माण गर्दै आएका थिए ।
अन्ततः उनको भाष्य आफैतिर डोहोरिएको छ । गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन पछि सङ्घीय सरकार ढलेलगत्तै उनी नयाँ सरकारमा मन्त्री पदका लागि लालायित भई काठमाडौँ पुगेका थिए । तर उनलाई कुनै पद नदिए पछि अहिले उनी निर्वाचन आयोगमा दल दर्ता गरी निर्वाचनमा होमिएका छन् ।
आखिर किन राजनीतिक दल खोले त ? भन्ने विषयमा राजनीतिक विश्लेषक डम्बर खतिवडा भन्छन्, “पार्टी खोल्नु त नागरिकको अधिकार हो । लोकतन्त्र खोल्न पाउँछन् । पार्टीलाई क्यान्सरको रूपमा चित्रण चाहिँ पुराना पार्टीहरूलाई दोष दिएको हुन सक्छ ।”
उनले झोले भन्नुचाहिँ परिस्थिति र अवस्था हेरेर त्यसको व्याख्या गरिनुपर्ने बताए । “पार्टीको कार्यकर्ता हुँदैमा झोले हुँदैन । नेताको अन्धभक्त भयो, पार्टीले भ्रष्टाचार, गल्ती गर्दा पनि बोलेन भने झोले भयो । विधि सिद्धान्तको आधारमा, मापदण्डको आधारमा सत्य बोल्छ भने त्यो झोले हुँदैन” उनले टेलिफोन सम्पर्कमा भने ।
































