धरान । ‘विश्व प्याथोलोजी दिवसको अवसरमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्याथोलोजी (रोग विज्ञान) विभागले संस्थाले गरेका प्याथोलोजीका कामबारे सार्वजनिक गरेको छ ।
बुधबार प्रतिष्ठानमा पत्रकार सम्मेलन गरी संस्थाले दिँदै आएको ल्याव सेवाबारे जानकारी गराएको हो ।
प्रतिष्ठानको प्याथोलोजी विभागकी विभागीय प्रमुख प्रा.डा. स्मृति कार्कीले प्रतिष्ठानले चार प्रकारका ल्याव सेवा प्रदान गर्दै आएको बताइन् । उनका अनुसार हिस्टोपाथोलोजी अन्तर्गत बायोप्सी (मासुको जाँच) आर्थिक वर्ष २०८१÷०८२ मा ८ हजार १ सय ४३ वटा टेष्ट भएका छन् । गत आ.व.मा ७ हजार ४ सय ५६ वटा भएका थिए । यो जाँच क्यान्सर तथा टिबी रोग पहिचानका लागि गरिन्छ । यस्तै निडिल प्रयोग गरेर गरिने साइटोपाथोलोजी अन्तर्गत थाइरोइड परीक्षण, युएसजी, सिटी, एफएनएसीलगायतका ३ हजार ८५ वटा परीक्षण भएका छन् । गतवर्ष २ हजार ५ सय ६२ वटा परीक्षण भएका थिए ।
यस्तै शरीरका तरल पदार्थहरूको परीक्षण हिमाटोलोजी अन्तर्गत रगत, बोनम्यारो एस्पिरेशन, बोनम्यारो बायप्सीलगायतका ५ लाख ६३ हजार २ सय ५ वटा परीक्षण भएको विभागले जनाएको छ ।
ब्लडबैङ्क अन्तर्गत रगतका विभिन्न घटकहरूमा २ सय ७५ वटा परीक्षण भएको जनाइएको छ । “प्याथोलोजीलाई चिकित्सा विज्ञानको मेरुदण्ड मानिन्छ — किनभने कुनै पनि उपचार सुरु गर्नुअघि रोगको कारण र अवस्था बुझ्न प्रयोगशालामा हुने परीक्षण नै आधार बन्छ”–विभागीय प्रमुख प्रा.डा. कार्कीले भनिन् ।
पछिल्लो समय ब्रेष्ट क्यान्सर, लङक्यान्सर, पाठेघरको क्यान्सर तथा छालाको क्यान्सरका ल्याव परीक्षणहरू बढी आउने गरेको उनले बताइन् । अस्वस्थकर खाना, विषादीको प्रयोगका कारण यस्ता समस्याहरू बढी आउने गरेको प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अञ्जु प्रधानले जानकारी दिइन् । प्रतिष्ठानमा ब्रेष्ट, फोक्सो, पाठेघरलगायतका क्यान्सरका ल्याव परीक्षण तथा विशेषज्ञ सेवा प्रतिष्ठानबाटै उपलब्ध भइरहेको उनले बताइन् । थप अन्य सेवाहरू पनि विस्तार गर्ने तयारी भइरहेको बताइएको छ ।
क्यान्सर, सङ्क्रमण, मधुमेह, कलेजो र मिर्गाैलासम्बन्धी रोगदेखि लिएर साधारण ज्वरोसम्मको निदानमा प्याथोलोजी परीक्षणको भूमिका अत्यावश्यक हुन्छ । कुनै पनि रोगको निदानका लागि प्याथोलोजी परीक्षण महŒवपूर्ण हुने प्रतिष्ठानका सह–प्रवक्ता तथा शल्यक्रिया विभागका डा. अभिजित कुमारले बताए ।
प्याथोलोजिस्ट र ल्याव टेक्नोलोजिस्टको भूमिका
प्याथोलोजिस्ट चिकित्सकले प्रयोगशालामा प्राप्त रिपोर्टको विश्लेषण गरेर अन्य चिकित्सकलाई रोगको स्वरूप र प्रकृतिबारे जानकारी दिन्छन् । त्यस्तै ल्याव टेक्नोलोजिस्ट र टेक्निसियनहरू नमुना सङ्कलनदेखि परीक्षण र रिपोर्ट तयारीसम्मको जिम्मेवारीमा रहेका हुन्छन् ।
स्वास्थ्यकर्मीहरू भन्छन्, “सही रिपोर्ट नै सही उपचारको पहिलो ढोका हो ।” त्यसैले प्याथोलोजी क्षेत्रमा राज्यले अझ बढी ध्यान दिनु आवश्यक छ ।
डाक्टरको निर्णय, औषधि, शल्यक्रिया सबैभन्दा अघि रोग पत्ता लगाउने वैज्ञानिकहरू र प्रयोगशालाको मुनाफामा होइन, मानवजीवन बचाउने समर्पणमा आधारित योगदानको कदर गर्नु पर्ने चिकित्सहरूको सुझाव छ ।
रगतको एउटा थोपा, ल्यावको एउटा नमुना र माइक्रोस्कोपमुनिको एक नजरले हजारौंको जीवन बचाउन सक्ने भएकाले प्याथोलोजी स्वास्थ्यसेवामा लुकेको आधारस्तम्भ भएको प्रा.डा. कार्की बताउँछिन् ।
उपचार सेवासँगै प्रतिष्ठानमा प्याथोलोजीको एमडीसम्मको अध्ययन अध्यापन हुँदै आएको छ । प्रतिष्ठानले विशेषज्ञ प्याथोलोजिष्टहरू पनि उत्पादन गर्दै आएको छ ।
































