भद्रपुर । झापा महिला गोल्डकप अन्तर्गत तेस्रो क्वार्टर फाइनलमा सङ्कटा फुटबल क्लब काठमाडौँले घरेलु टोली झापा एफसीलाई एकतर्फी खेलमा ६–० को फराकिलो जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
झापाको शिवसताक्षीस्थित दुधे रङ्गशालामा बुधबार भएको खेलमा सुरुवातदेखि नै सङ्कटाले आक्रामक खेल प्रस्तुत गरेको थियो । १३ औँ मिनेटमा राष्ट्रिय यु–२० खेलाडी सुक्रिया मियाँको प्रहारलाई झापाकी गोलकिपर सुजता तामाङले सजिलै कलेक्सन गरिन् । १५ औँ मिनेटमा अनिसा राईको २५ यार्ड दूरीको फ्रिकिक र २३ औँ मिनेटमा समिक्षा मगरको लङ–रेन्ज सट पनि सुजताले रोकिन् ।
तर, निरन्तर दबाव बनाइरहेको सङ्कटाले २३ औँ मिनेटमा अग्रता बनायो । राष्ट्रिय खेलाडी पूर्णिमा राईको सटिक क्रसमा सेनु परियारले उत्कृष्ट फिनिसिङ गर्दै पहिलो गोल गरिन् । ३० औँ मिनेटमा कप्तान यशोदा शाहीले पाएको फ्रिकिक सदुपयोग गर्न नसके पनि पहिलो हाफको इन्जुरी समयमा सुनिता भुलानको असिस्टमा समिक्षा मगरले गोल गर्दै सङ्कटाको अग्रता २–० बनाइन् ।
दोस्रो हाफको सुरुवातमै सङ्कटा अझ आक्रामक बन्यो । ५५ औँ मिनेटमा भुटानबाट अनुबन्धित विदेशी खेलाडी छिरिङ वाङ्देनले पूर्णिमा राईको ब्याकहिल पासमा गोल गर्दै टोलीलाई ३–० को स्थितिमा पु¥याइन् । ६१ औँ मिनेटमा पूर्णिमा राईले यु–२० सहकर्मी सेनु परियारको पासमा गोल गर्दै अन्तर ४–० बनाइन् ।
८३ औँ मिनेटमा रेनिसा शर्माको लङ रन क्रसमा उनले अर्को गोल थपिन् । नियमित समयको अन्तिम मिनेटमा अरुणा स्याङ्तानले मैदान प्रवेश गरेको केही मिनेटमै गोल गर्दै सङ्कटाको जित ६–० मा पक्का गरिन् ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पूर्णिमा राई प्लेयर अफ द म्याच भइन्, जसअन्तर्गत उनले नगद १५ हजार र ट्रफी प्राप्त गरिन् ।
दर्शकका लागि क्वार्टर फाइनलसम्म टिकट दर सामान्यतर्फ १ सय र २ सय रुपैयाँ र भिआइपीतर्फ १ हजार रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।
त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिनेछ ।
नेपालका तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका त्यस्तै सङ्कटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिग्लिङ स्पोर्टिङ क्लबले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
प्रतियोगिताको फाइनल खेल यही कात्तिक २४ गते हुनेछ । आयोजक समितिले यो प्रतियोगितालाई महिला खेलाडीमा प्रेरणा जगाउने र ग्रासरुट स्तरमै महिला फुटबललाई सुदृढ बनाउने अभियानका रूपमा लिएको जनाएको छ ।
































