विराटनगर । एजेन्टका प्रतिनिधिको मिलेमतोमा विराटनगर भन्सार कार्यालयमा राजस्व छली हुने गरेको पाइएको छ ।
विशेष सूचनाका आधारमा भन्सारकै टोलीले भन्सार एजेन्टका मुख्य सहयोगीसहित तीनजना पक्राउ परेपछि भन्सार छलीको रहस्य बाहिर आएको हो ।
भन्सार छली गरेर ल्याइएको कपडा र कपुरजस्ता सामान लोड गरिएको ट्याक्टर र त्यसलाई ओसार–पसारमा प्रयोग गरिएको एम्बुलेन्समा लोड गर्दा तीन जना पक्राउ परेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार, विशेष सूचनाको आधारमा खटिएको टोलीले मङ्गलबार को. १ त ९७१७ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो । उक्त ट्याक्टरमा प्रज्ञापन–पत्रमा उल्लेख गरिएको भन्दा बढी परिमाणमा कपडा, कपुरलगायतका खुद्रा सामानहरू लोड गरिएको थियो । भन्सार छलीको आशङ्कामा ट्याक्टरसहित सामान आयातकर्ता फर्मका सहयोगी कुन्दन मण्डल र अन्य दुई जनालाई तत्काल नियन्त्रणमा लिइएको श्रेष्ठले जानकारी दिए । पक्राउ परेका मण्डल भन्सार एजेन्ट सौगात पोखरेलका मुख्य सहयोगी भए पनि सम्पूर्ण अवैध कामको योजना र कार्यान्वयनमा आफै संलग्न हुने गरेको स्रोतको दाबी छ । उनी पटक–पटक विवादमा आइरहने र राजस्व छलीका लागि अनेकौँ जुक्ति लगाउन माहिर मानिने गर्दछन् । भन्सार क्षेत्रमा उनी राजस्व छलीका लागि विभिन्न तरिका अपनाउन माहिर मानिन्छन् र पटक–पटक विवादमा समेत आइसकेका व्यक्ति हुन् । प्रारम्भिक अनुसन्धानबाट मण्डलले भन्सारका केही कर्मचारीसँगको मिलेमतोमा लामो समयदेखि न्यून विजकीकरण र घोषणा नगरी सामान पास गराउँदै आएको हुनसक्ने भन्दै भन्सारले अनुसन्धान थालेको छ ।
अनुसन्धानमा संलग्न एक भन्सार कर्मचारीका अनुसार, मण्डलले भन्सार छलीका लागि निकै योजनाबद्ध तरिका अपनाएको देखिन्छ । उनले सामान जाँचपासका लागि भन्सारको गोदाममा रहेको सिसिटिभी क्यामेराले नभ्याउने ‘ब्लाइन्ड स्पट’ (अँध्यारो कुनो) प्रयोग गर्ने गरेको पाइएको छ ।
“मण्डलले गोदामको त्यस्तो कुनामा ट्याक्टर लगेर सामान अनलोड गर्थे र जाँच गरेजस्तो गरेर प्रज्ञापन–पत्रमा उल्लेख भएभन्दा धेरै सामान पास गराउँथे” अनुसन्धानमा संलग्न ती कर्मचारीले भने, “त्यसरी छली गरेको सामान बाहिर निकाल्न उनले एम्बुलेन्सभित्र लुकाएको पाइएको छ ।”
यो घटनाको अनुसन्धानको नेतृत्व भन्सार अधिकृत तुलसी रेग्मीको टोलीले गरिरहेको छ । टोलीले पक्राउ परेकाहरूको बयान लिने र उनीहरूको सम्पर्क सञ्जालबारे थप खोजी गरिरहेको जनाएको छ ।
अर्को ट्याक्टर पनि अनुसन्धानको दायरामा
मण्डलले नै आयातमा सहजीकरण गरेको को. १ त २०४१ नम्बरको अर्को ट्याक्टरलाई पनि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर छानबिन सुरु गरेको छ । विराटनगर भन्सारबाट जाँचपास भएर निस्किसकेको उक्त ट्याक्टरमा पनि भन्सार छलीका सामान रहेको आशङ्का मा नियन्त्रणमा लिइएको हो ।
विराटनगर भन्सार नाका भारतसँगको खुला सिमानाका कारण राजस्व छलीका लागि संवेदनशील मानिन्छ । यहाँ व्यापारी, भन्सार एजेन्ट र कर्मचारीको मिलेमतोमा हुने अवैध कारोबारले राज्यलाई वार्षिक लाखौंको राजस्व घाटा हुने गरेको छ । भन्सार कार्यालयले पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी विस्तृत अनुसन्धान गरिरहेको र यो सञ्जालमा जोडिएका अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको जनाएको छ ।
































