धरान उपमहानगरपालिकाका स्वतन्त्र नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले लामो समयसम्म निर्माण गरेको दल–विरोधी भाष्य अन्ततः उनकै कदमबाट ध्वस्त भएको छ । दलहरुलाई ‘क्यान्सरजस्तो निको नहुने रोग’ र तिनका समर्थकहरुलाई ‘झोले’ भन्दै जनताको मन जितेका साम्पाङले अहिले आएर ‘श्रम संस्कृति पार्टी’ नामको दल दर्ता गराउनु विरोधाभासको राजनीतिको उत्कृष्ट नमुना हो । स्वतन्त्र रुपमा निर्वाचन जित्नु र आफ्नो अधिकार प्रयोग गरेर दल खोल्नु दुवै लोकतन्त्रमा जायज छन् । तर, उनले दलहरुलाई घृणाको विषय बनाउँदै स्थापित गरेको ‘दल सबै खराब हुन्’ भन्ने मानकमाथि यो कार्यले गम्भीर प्रश्न उठाएको छ । के साम्पाङको नयाँ दल, जुन आफैले ‘रोग’ भनेका थिए, अब अचानक ‘औषधि’ मा परिणत भयो ? या यो केवल एउटा सत्तामुखी राजनीतिक महत्वाकाङ्क्षा पूरा गर्ने हतियार मात्र हो ?
उनको यो कदमलाई राजनीतिक विश्लेषक र आलोचकहरुले तीव्र आलोचना गरेका छन् । नेकपा (एमाले) का नेतादेखि पूर्व–पत्रकार कमन देवान याक्खासम्मले साम्पाङको विगतको ‘घटिया गाली’ सम्झाउँदै ‘नयाँ देशद्रोही’ बनेको कटाक्ष गरेका छन् । वास्तवमा जब एक नेताले आफ्नो सम्पूर्ण राजनीतिक आधार नै कुनै खास व्यवस्था वा समूहको घोर आलोचनामाथि खडा गर्छ, त्यसपछि उसले त्यही बाटो अँगाल्दा विश्वसनीयताको सङ्कट आउँछ । साम्पाङको दल दर्ताको यो हतारो ‘जेन जी आन्दोलन’ पछि केन्द्रमा मन्त्री पदका लागि भएको दौडधुप र सफलता नपाएपछि आएको देखिन्छ । यसले साम्पाङको राजनीति सिद्धान्तमा होइन, अवसरमा आधारित छ भन्ने सन्देश दिन्छ ।
स्वतन्त्रताको वकालत गर्ने नेता जब सङ्गठित राजनीतिको मैदानमा प्रवेश गर्छन्, उनीहरुले आफ्नो दलको स्पष्ट विचार, दर्शन, वर्ग पक्षधरता र उद्देश्य जनतासामु राख्नुपर्छ । तर ‘श्रम संस्कृति पार्टी’ को सैद्धान्तिक जग कस्तो छ, त्यो प्रष्ट छैन । उसले अपनाएको सिद्धान्त, जनताप्रतिको आशक्ति के हो भन्ने प्रष्ट छैन । उनी कुन मार्गमा हिँड्न चाहेका हुन् भन्ने पनि प्रष्ट छैन । साम्पाङको यो कदमले एउटा महत्वपूर्ण पाठ सिकाएको छः राजनीतिमा स्थायी घृणा वा प्रेम हुँदैन, तर स्वार्थपरक विरोधाभासले नेताको वैचारिक जगलाई कमजोर बनाउँछ । अब साम्पाङले विगतमा आफूले लगाएका सबै आरोपहरु आफ्नै दल र कार्यकर्ताहरुमाथि कसरी लागू गर्छन्, त्यो हेर्न बाँकी नै छ ।
































