अधिकांश नेपाली युवाहरूको सपना हुन्छ, वैदेशिक रोजगार र विदेश अध्ययन । देशभित्र रोजगारका पर्याप्त रोजगारीका अवसर नहुँदा नेपाली युवाहरू विदेश जान बाध्य छन् । रोजगारीको लागि खाडी मुलुक जाने युवाहरू घर फर्कन्छन् तर अमेरिका, अष्ट्रेलिया, जापान र युरोपका देशहरू जहाँ स्थायी बसोबास पीआर कार्ड बन्छ, त्यहाँबाट नेपाल फर्कने सम्भावना न्यून छ । पीआर कार्डको सपनामा आधा जिन्दगी नै विदेशमा बिताएका धेरै उदाहरण छन् ।

पछिल्लो समय विद्यार्थी भिषामा जापान जाने नेपालीहरूको लर्को छ । उनीहरूको पनि एउटै सपना हो, जसोतसो पढाइको समय कटाएर राम्रो आम्दानी गर्ने । धेरैको सपना अडिएको हुन्छ पीआरमै । सकेसम्म छिटो कार्ड बनाउने र आफ्नै परिवार नै उतै व्यवस्थापन गर्ने ।

यस्तै यस्तै सपना बोकेर ठूलो सङ्ख्यामा युवा रोजगारीका लागि विदेश पलायन भइरहेका बेला इटहरी–४ का एक दम्पती भने अष्ट्रेलियाको स्थायी बसाइ अनुमति (पीआर) आफ्नै देशको व्यवसायमा रमाइरहेका छन् । ७ वर्षसम्म अष्ट्रेलिया बसेका इटहरीका देशबन्धु कार्की र कोपिला कार्की आफ्नै देशमा व्यावसायिक लगानीमा होमिएका छन् । देशबन्धुका अनुसार दुवैजनाले पीआर त्यागेर आफ्नै देशमा केही गरौं भनेर फर्किएका हौं । पार्टनरसिपमा कृषिक्षेत्रमा लगानी गरेका छन् ।

सुनसरीमै जीविका कृषि विज्ञान कलेजका सञ्चालकसमेत रहेका देशबन्धु भन्छन् –‘कृषिक्षेत्र भन्नासाथ नपढेकाहरूले मात्र गर्ने भन्ने मानसिकता भएकोले पनि त्यसलाई चुनौती दिन कृषिक्षेत्रमा पनि लगानी गरेका हौं ।’ सामूहिक व्यवसायबाट सफलता पाउन सकिने भन्दै समूहमा लगानी बढाएको उनी बताउँछन् । कार्की दम्पती २०६३ मा विद्यार्थी भिषामा अष्ट्रेलिया गएका थिए ।

देशबन्धुले त्यहाँको युनिभर्सिटी कम्युनिटी वेल्फेयर डेभलोपमेन्टमा स्नातकोत्तर पूरा गरे । २०७० सालमा नेपाल फर्केका उनीहरू व्यवसायमा जमेका छन् । उनी नुप्चे लिकु हाइड्रोपावरका बोर्ड डाइरेक्टरसमेत हुन् । उनले हाइड्रोमा पनि राम्रै लगानी गरेका छन् । त्यस्तै ऐकयाम इन्भेष्टमेण्टका अध्यक्ष रहेका देशबन्धुले यही कम्पनीमार्फत् शेयर कारोबार पनि गर्दै आएका छन् । त्योसँगै सामाजिक क्षेत्रमा पनि उनको लोभलाग्दो योगदान छ ।

कानूनी ढङ्गले विदेश जाने र काम तथा अध्ययन गर्ने विषय त सामान्य र नियमित नै भएको तर, पछिल्लो समय आकर्षक कमाइको लोभले जसरी पनि विदेश जानुपर्छ भन्ने मान्यताको विकास भएको छ । ‘हिजो आजको सामाजिक मनोविज्ञान नै विदेश केन्द्रित बन्दै गएको परिस्थितिमा हामी नेपालमै केही गर्नुपर्छ भनेर लागेका छौं’–उनी भन्छन् । स्वदेश फर्केपछि विदेश जाने मानसिकता त्यागेर यहीँ लगानी गरेको उनको भनाइ छ ।

विदेश त्यागेर आफ्नै देशमा केही गरौं भनेर लागेको बताउने उनी भन्छन्, ‘सुरु सुरुमा त राम्रो कमाइ छोडेर आउँदा पश्चाताप लागेको थियो, अहिले हामी यहाँ अष्ट्रेलियाको भन्दा धेरै कमाइ गर्छौं ।’ बक्लौरीमा सुरु गरेको जीविका कृषि फार्ममा व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादन भइरहेको छ भने करोडौंको भवन निर्माणको काम गरिरहेका छन् । कृषि कलेजको अवधारणा ल्याएर उनीसहितका लगानीकर्ताहरू कम्मर कसेर लागिपरेका छन् । यसमा आफू उत्साहित भएर लागेको कार्की बताउँछन्  ।

गाईवस्तुसँगै कुखुरा, बाख्रा, माछापालन गर्दै आएका छन् । ‘म अष्ट्रेलिया त्यागेर नेपाल फर्किएको छु, नेपालको लागि म ठूलो कुरा होइन, तर यदि म नेपालको वातावरणमा भिजेर नेपालमै बस्न सकेँ भने त्यसले अवश्य पनि विदेशमा विदेशी नागरिकता लिएर बसेका लाखौं युवालाई नेपाल फर्कन उत्प्रेरित गर्नेछ, तर यदि म नेपालमा टिक्न सकिनँ र फेरि विदेश नै हिँड्नु प¥यो भने त मेरो कथा पढेका साथीहरू नेपाल फर्कनेबारे १ सयपटक सोच्न बाध्य हुनेछन् ।’

सामान्यतः विकसित देशमा यसरी स्थापित जीवनलाई तिलाञ्जली दिएर स्वदेश फर्कने निर्णय लिएका यी दम्पती अहिले कुनै पश्चाताप विना आफ्नै ठाउँमा रमाइरहेका छन् । दिनहुँ हजारौंको सङ्ख्यामा विदेशिने बढिरहेका बेला यस्तो समयमा कार्कीको निर्णयले धेरै महत्व राख्छ र धेरै सन्देशहरू दिन्छ पनि ।

‘विदेशमा विदेशी नागरिकता लिएर बसेका लाखौं युवालाई नेपाल फर्कन उत्प्रेरित गर्ने काम सरकारले गरोस्’–उनी भन्छन् । त्यसकारण लाखौं कमाउने ठाउँमा बसेका र पीआर पाएका लाखौंलाई नेपाल फर्कन सक्ने सम्भावित व्यक्तिहरूलाई नेपाल फर्कन उत्प्रेरित र अभिप्रेरित गर्ने वातावरण तयार गर्नबाट चुक्नुहुन्न ।