धरान । कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिएसँगै कोरोना विरुद्धको खोप लगाउनेहरूको भीड बढेको छ । पहिले खोप आएका बेला जिल्लाका विभिन्न पालिकाले तोकेको खोप केन्द्रमा खोप लगाउन कमै मात्र आउने गरेका थिए । तर, पछिल्लो एकसातायता ओमिक्रोन भेरियन्ट फैलिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको र यसैबेला सरकारले खोप अभियानलाई पनि तीव्रता दिएको छ ।

खोप अभियान चलाउनु सकारात्मक भए पनि भीड व्यवस्थापन गर्न नसक्दा उक्त भीड नै कोरोना सङ्क्रमणस्थल बन्न सक्ने सङ्क्रामक रोगविज्ञ चिकित्सकहरूले बताएका छन् । सुनसरीको धरान, बर्जु, देवानगञ्ज, कोसी, भोक्राहा, इनरुवा र इटहरीमा खोप अभियान चलिरहेको छ । तर, खोप केन्द्रमा भीड जमेकाले ओमिक्रोन भेरियन्ट र कोरोनाकै अन्य भेरियन्ट फैलिन सक्ने चिकित्सकहरूले बताएका छन् ।

डब्ल्युएचओ र सरकारले भीडभाड नगर्न बारम्बार चेतावनी दिँदै आएको छ । निश्चित मापदण्ड अपनाउन सुझाव दिए पनि न स्थानीय तहले ख्याल गरेको देखिएको छ, न त सर्वसाधारणले नै पालना गरेका छन् । बिहीबार धरान–१५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा खोपका लागि ‘तँछाड मछाड’ को भीडका बीच स्वास्थ्यकर्मीहरूले १८ वर्षमाथिका सर्वसाधारणलाई जोन्सन एण्ड जोन्सनको खोप लगाइदिएका थिए ।

धरान उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवका अनुसार पहिले खोप आउँदा खोप लगाउन डराउने, खोपको विरुद्ध उल्टो लाग्नेहरू खोप कार्ड भने बनाइमाग्न आउने गरेका थिए । उनले भने, ‘खोप नै नलगाएकालाई खोप कार्ड दिने कुरै भएन । अहिले ओमिक्रोनको त्रासले सबै ओइरिँदा भीड भयो ।’ सरकारले पनि खोप कार्ड अनिवार्य गरेकाले खोप लगाउन चाहनेको भीड बढेको उनको भनाइ छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभागका प्रमुख प्रा.डा. सञ्जीव शर्माले पनि पहिले खोप आएको बेला सर्वसाधारण मात्र नभएर स्वास्थ्यकर्मी चिकित्सकहरू नै खोप लगाउन हिच्किचाएको बताए । उनले कोरोनाविरुद्धको खोपबारे केही अराजक समूहले सामाजिक सञ्जाल प्रयोग गरी गलत सूचना प्रवाह गर्दा भ्रमित भएर खोपमाथि शङ्का गर्नेहरूले खोप लगाउन हिच्किचाएका बताए ।

उनले भने, ‘त्यस्ता भ्रमित भएकाले खोप लगाउन अनिच्छुक देखिएको तर, अहिले धेरै सचेत र वास्तविक तथ्यहरू बाहिर आउने क्रम जारी भएकाले अवस्था फेरिँदा खोप लगाउन इच्छुकको भीड बढेको हो । तर, भीडलाई व्यवस्थापन गर्न नसकेकाले सङ्क्रमण फैलिने केन्द्र त्यही भीड नै बन्न सक्ने देखिएको छ ।’

उनले खोप लगाउने ठाउँ नै सङ्क्रमणको केन्द्र बन्ने खतरा बढेको बताए । उनले कोरोनाको अन्य भेरियण्टभन्दा ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिन सक्ने देखिएकाले भीड व्यवस्थापन गरेर मात्र खोप लगाउनु पर्नेमा त्यसो नभएको बताए । 

बीपी प्रतिष्ठानका स्कुल अफ पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिन विभागका एसोसिएट प्रोफेसर डा. विजय कुमार खनालले खोपका लागि केन्द्रले प्रदेशलाई र प्रदेशले पालिकालाई खोप उपलव्ध गराएपछि खोप अभियान चलेको बताए ।

उनले भने, ‘तर, यो महामारीमा पालिकाहरूले भीड व्यवस्थापन गर्न सकेको देखिएन । सरकारले काठमाडौं उपत्यकाका ८ अस्पताललाई खोप लगाउने ठाउँ बनाएको छ । ती अस्पतालले कार्यालय समयमा आएका जो कोहीलाई स्वास्थ्य मापदण्ड अपनाएर खोप लगाइदिइरहेका छन् । त्यस्तैगरी धरानको बीपी प्रतिष्ठान र पूर्वका अन्य अस्पतालमा पनि व्यवस्था गरेको भए पालिका र वडाले गरेजस्तो भीड हुँदैनथ्यो ।’

उनले कोरोनाका लागि भीड नै सङ्क्रमणस्थल हुने भएकाले त्यतातिर कसैले ध्यान नदिएकोमा चिन्ता व्यक्त गरे । उनले बीपी प्रतिष्ठानका ओपिडी सेवास्थलमै पनि कोरोना विरुद्धको खोप लगाउन सकिने पर्याप्त पूर्वाधार र जनशक्ति भएको जानकारी र सुझाव स्वास्थ्य मन्त्रालयलाई पहिल्यै दिएको तर, प्रतिष्ठानलाई नजरअन्दाज गर्दा पालिका र वडाले गरेको खोप अभियानमा भीड बढेको बताए ।

उनले भने, ‘अहिले फैलिएको कोरोनाको ओमिक्रोन भेरियन्टले तीव्र गतिमा फैलिन सक्ने क्षमता राख्छ । जसले गर्दा आत्मबल कमजोर भएका र दीर्घरोगीलाई थप मानसिक तनाव दिने र यस्तो अवस्थामा ज्यान जाने जोखिम पनि उत्तिकै छ ।’

कोरोना खोप सहजीकरणको भूमिकासमेत खेल्दै आएका डा. खनालले सरकारको खोप विकेन्द्रीकरण नीति अनुरूप नदेखिएको बताए । प्रतिष्ठानमा कोभिड अस्पताल भए पनि खोपको सुविधाजनक वितरणलाई बीपी प्रतिष्ठानमा भएको अन्य पूर्वाधार र जनशक्तिलाई त परिचालन गर्न सरकार चुकेको बताए । कोरोनाविरुद्ध यसअघिका खोप अभियानमा प्रतिष्ठानको कम्युनिटी मेडिसिन विभागले पनि समन्वय र सहकार्य गर्दै आएको थियो ।