पाँचथर । प्रदेश १ को गौरवको आयोजना मानिएको भेडेटार–रवि–राँके सडक कालोपत्रे गरिसक्नुपर्ने समयमा आयोजनाको भौतिक प्रगति भने १६ प्रतिशत मात्र देखिएको छ ।
२० पुष २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरको रवि बजारमा उक्त सडक कालोपत्रे गर्ने कामको शिलान्यास गर्दा स्थानीय उत्साहित बनेका थिए । तर, स्थानीयको त्यो उत्साह अहिले निराशामा परिणत भएको छ । ट्रयाक खोलिएको तीन दशकपछि सडक कालोपत्रेका लागि मुलुकका प्रधानमन्त्रीले शिलान्यास गर्दा आफूहरू धेरै हर्षित भएको तर, निर्माणको कामले गति नलिँदा भने त्यो हर्ष अहिले निराशामा परिणत भएको पाँचथरको मिक्लाजुङ–१ खान्द्रुङका कमलकुमार राईले बताए ।
भेडेटार–रवि–राँके सडकले कोसी राजमार्ग र मेची राजमार्गलाई जोड्छ । धनकुटाको भेडेटारबाट सुरु भएर पाँचथरको पाँचथर–इलाम सीमावर्ती राँके बजारमा पुगेर टुङ्गिने यो सडकले धनकुटाको साँगुरीगढी, चौबिसे, मोरङको मिक्लाजुङ, इलामको माङ्सेबुङ, फाकफोकथुम गाउँपालिका त्यस्तै इलामको देउमाई नगरपालिका, पाँचथरको मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिकालाई छुन्छ । चार जिल्लाको आठ पालिकाका बासिन्दाले प्रत्यक्ष लाभ लिने यो सडक कालोपत्रेको काम अति सुस्त हुँदा स्थानीय निराश छन् ।
यो सडक कालोपत्रे गर्ने कामको जिम्मा भारतीय कम्पनी एप्को इन्फ्राटेक प्रा.लि. लखनउले पाएको थियो । उक्त कम्पनीले १९ नोभेम्बर २०१८ मा ३६ महिनामा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । एक्जिम बैङ्क अफ इन्डियाको ८७ प्रतिशत र नेपाल सरकारको १३ प्रतिशत लगानी रहेको आयोजनाको कुल लागत ३ अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५ सय ७२ रुपैयाँ रहेको छ । आयोजनालाई सडक विभाग सडक सुधार तथा विकास आयोजना निर्देशनालय भेडेटार–रवि–राँके सडक योजना इलाम कार्यान्वयन गरिरहेको छ ।
शिलान्यास भएको तीन वर्ष पूरा हुँदा १६–१७ प्रतिशतमात्र प्रगति देखिँदा यो सडकका लाभान्वित स्थानीय निराश हुन बाध्य भएका घुर्बिसे पञ्चमीका स्थानीय तथा सञ्चारकर्मी युद्धबहादुर बोहोरा बताउँछन् । निर्माण कम्पनीले कोरोना महामारीको कारण देखाएर एक वर्ष म्याद थप गरेको छ । तर, निर्माणको यस्तो गति हो भने अझै ६–७ वर्षमा पनि काम नसकिने बोहोरा बताउँछन् । योजनाका कन्सल्टेन्ट इन्जिनियरले निर्माण कम्पनीबाट काम नहुने देखिएकाले समयमै ठेक्का तोड्न सरकारलाई सुझाव दिइसकेको बताए ।
स्थानीयका अनुसार मुख्य निर्माण कम्पनीले अन्य स–साना निर्माण कम्पनीलाई ठेक्का दिएको कामको समयमै रकम भुक्तानी नगर्दा निर्माणले गति नलिएको हो । साना निर्माण कम्पनीहरूले रकम नपाएको भन्दै बीचैमा काम छाड्ने समस्याले निर्माण कार्यले गति नलिएको पाँचथरको मिक्लाजुङ–७ लेकगाउँका सञ्जय राई बताउँछन् । प्रदेश १ को आर्थिक मेरुदण्डको रूपमा लिइएको यो सडक कालोपत्रेका लागि शिलान्यास हुँदा स्थानीयमा देखिएको खुसीको चमक हराउँदै गएको राई बताउँछन् ।
यो सडक व्यापारिक दृष्टिले पनि महŒवपूर्ण मानिन्छ । यो सडक कालोपत्रे भएपछि पहाडका उत्पादन र कृषिजन्य वस्तुहरू तराईका मुख्य बजारसम्म पु¥याउन धेरै सहज हुने पाँचथर उद्योग वाणिज्य सङ्घ रवि शाखाका अध्यक्ष निदेश खनाल बताउँछन् । त्यस्तै तराईका बजारदेखि ल्याइने दैनिक उपभोग्य वस्तुलगायतका सामग्री पहाड ल्याउने सबैभन्दा भरपर्दो सडक यही भएकाले अहिलेकोभन्दा सस्तो मूल्यमा उपभोक्ताले ती सामग्री प्राप्त गर्ने खनालको भनाइ छ । तर, तीन वर्षमा कालोपत्रे भइसक्छ भनिएको सडकको यो अवस्थाले सर्वसाधारण मात्र नभएर व्यवसायी पनि निराश बन्नु परेको उनले बताए