सङ्खुवासभा । सङ्खुवासभा लगायतका ग्रामीण क्षेत्रमा लगाइने चौताराको पहिचान हराउन थालेको छ । विशेष गरि सङ्खुवासभाको सिलिचोङ, चिचिला गाउँपालिका लगायतका क्षेत्रमा लगाइने गरेको चौतारा पछिल्लो समय लगाउनेका सङ्ख्या कम हुँदै गएको छ ।
सिलिचोङ गाउँपालिका वडा नं. २ का दुर्गाकिरण मेवाहाङले विगतमा बर्सेनि तीन चार वटा चौतारामा ढुङ्गा कुँद्ने गर्थे तर उनले यसरी शिलालेख नगरेको धेरै वर्ष बितेको छ ।
किराँती आदिवासी जनजाति समुदायले पितृको सम्झना स्वरूप लगाइने चौताराको पहिचान बिस्तारै हराउँदै गएको हो । दोबाटो तथा उकालो ओरालो बाटोमा शिलालेख सहितको आराम गर्ने ठाउँ नै चौतारा हो । सो स्थानमा भित्तोमा पितृको नाममा शिलालेख लेख्ने गरिन्छ ।
सुगम क्षेत्रदेखि गाउँ गाउँसम्म सडक सञ्जाल बनिनुले पहिचान हराउन थालेको हो भने एकातिर युवा पुस्तामा यस प्रति चासो नभएकै कारण पनि चौतारा हराउँदै गएको सिलिचोङ–२ का दुर्गाकिरण मेवाहाङको भनाई छ । उनले भनेस् “पहिले पहिले मृत्यु भएकाको नाममा प्राय सबैले बर्षदिनको अवसरमा चौतारा लगाइदिने चलन थियो तर अहिले प्राय जसो हुन छाडेको छ ।”
मृत्यु भएका परिवारको कुनै सदस्यको नाममा परिवारहरूले लगाइने चौतारा पछिल्लो समय कम प्रचलनमा रहेको हो । चौतारा बनाएर शिलालेखसँगै बर र पिपलको बिरुवा रोपिन्थ्यो तर अहिले बर पिपलको बिरुवा समेत हराउँदै गएको चिचिला–५ का चन्द्र बहादुर राई बताउँछन् ।
युवाहरूले चौताराको पहिचान जोगाउन चासो दिनु पर्ने उनको भनाई छ । भन्छन्स् “अहिलेको पुस्ताले पहिलेभन्दा राम्रा बनाइदिन सक्छन्, नयाँ प्रविधि नि छ, यसरी हराउन दिनु हुँदैन ।” परम्परागत रूपमा पूजा गरि चौतारा लगाउँदा पितृको आत्मा खुसी हुने जन विश्वास रही आएको छ ।
विशेष पुजा आज सहित रोपिने बर पिपलले वातावरणमा समेत सकारात्मक भूमिका खेल्दछ । ग्रामीण क्षेत्रमा सम्भाव्यता अध्ययन नगरी जथाभाबी हुने विकासका नाममा हुने भौतिक निर्माण तथा लापरबाहीले यस्तो समस्या आएको अग्रज स्थानीयको भनाई छ ।
पहिलेभन्दा कम भए पनि यसको संरक्षणमा ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ । परम्परागत चौतारा बिसौनीको रूपमा पनि रहेको छ । पैदल यात्रीहरू विश्राम गर्ने र भारी बिसाउने गरेको चौतारा रमाइलो ठाउँ, दोबाटो लगायतमा बनाउने गरिन्छ ।